गोकुल पराजुली
कोशी अस्पताल परिसरमा नयाँ भवनहरु निर्माण भइरहेका छन् । केही वर्षअघि निर्माण सुरु भएको भवल अलपत्र झैं अवस्थाबाट भर्खर केही गति लिएको जस्तो देखिएको छ । त्यसपछि ठेक्का लागेको अर्को भवनको जग बसाउन जमिन खन्ने काम सुरु गरिएको छ । निर्माण कार्य सुरु हुनु राम्रो कुरा हो । सार्वजनिक क्षेत्रको विकास हुँदा आम सर्वसाधारणले त्यसबाट लाभ पाउँछन् । त्यसैले छिटोभन्दा छिटो त्यस्तो संरचनाहरु निर्माण सम्पन्न गरिनुपर्छ ।
आज निर्माण कार्यमा भएको ढिलाइ वा त्यसको समस्याको बारेमा कुरा गर्न खोजिएको होइन । सार्वजनिक सम्पत्तिको सुरक्षासँग जोडेर चर्चा गर्न मन लागेको छ । कोशी अस्पतालको नयाँ भवन निर्माण हुँदैछ त्यो पनि पाँच÷सात तले आधुनिक भवन । यो राम्रो कुरा हो । तर पुरानो भवन पनि सार्वजनिक सम्पत्ति नै हो । नयाँ भवन बनाउँदै गर्दा पुरानो भवनको सम्पत्ति कता पुग्यो ? त्यस विषयमा हाम्रा सरकारी निकाय र आम नागरिक समाजले कहिल्यै प्रश्न गरेको हामीले पाएनौं । पुरानो भवन कति रुपैयाँमा बिक्री गरियो ? त्यसबाट अस्पताललाई कति आम्दानी भयो पक्कै पनि आवश्यक जवाफ अस्पताल प्रशासनले देला । त्यसको हिसाब किताब जिल्ला प्रशासन कार्यालयले राखेकै होला । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व लिएको स्थानीय तह विराटनगर महानगरपालिकाले पनि त्यो पुरानो भवन भत्काउँदा त्यसको कवाडीको बारेमा जानकारी राखेको होला भन्ने अनुमान गरौं ।
हुन त सार्वजनिक सम्पत्तिमा राजगर्न खोज्नेहरुको हाम्रो समाजमा कमी छैन । मौका नपाएर मात्र मानिसहरु इमान्दार देखिइरहेका छन् । जब मौका पर्छ सार्वजनिक सम्पत्ति चोर्न, हिनामिना गर्न, शक्तिको दुरुपयोग गरी अनुचित लाग लिन कोही कुनै व्यक्तिहरु पनि पछि पर्लान् भनेर अनुमानसम्म गर्न नसकिने अवस्था छ ।
कोशी अस्पतालको पुरानो भवनको इँटा कतापुग्यो थाहा भएन तर चोरेर लैजाँदै गरेको पुरानो डण्डी लगायतका स्क्राब सरोकारवालालाई नियन्त्रणमा लिएको घटना बाहिरिएको थियो । त्यो पुरानो घटना हो । तर अहिले नयाँ चोरीको विषय सार्वजनिक भएको छ । इँटा, छड मात्र होइन कोशी अस्पतालबाट अहिले हजारौं घनमिटर माटो चोरी भइसकेको छ । दैनिक दर्जनौं टिपर माटो अस्पताल परिसरबाट बाहिरिँदै छ तर त्यो कहाँ गइरहेको छ कसैलाई चासो छैन । सार्वजनिक सम्पत्ति कसले चप्काइरहेको छ भन्ने विषमा जवाफदेहि बन्नु पर्ने निकायहरु चुपचाप छन् ।
जब रात छिप्पिदै जान्छ तब कोशी अस्पताल परिसरको कन्स्ट्रक्सन एरिया झलमल हुन्छ र सुरुहुन्छ माटोको खुलेआम चोरी । रातभर बाहिरिएको माटो विराटनगरका विभिन्न भागमा मात्र होइन सुनसरी जिल्लासम्म पुग्ने गरेको पाइएको छ । तर, त्यसलाई कसैले रोक्ने पहल गरेको छैन । कसले, कहाँ, कुन उद्देश्यले कति माटो लगिरहेको छ कुनै हिसाब कसैसँग छैन । मानौं यो ब्रम्हलुट गर्ने सुवर्ण अवसर हो । बरु चोरीको माटोले पूरै सहरका सडकहरु धूलाम्मे बनेका छन् । सडक प्रदुषित भएको छ । तर त्यसप्रति न महानगरले चासो दिएको छ, न अस्पताल प्रशासनले चिन्ता गरेको छ न त जिल्ला प्रशासन कार्यालयकै कान ठडिएका छन् । सबै यति मस्त निन्द्रमा छन् कि सार्वजनिक सम्पत्तिको दोहन सक्नेले गर्ने हो भन्ने मान्यता स्थापित गरिदैछ ।
आफ्नो हक नपुग्ने कुनै पनि सामान उसको इजाजत बिना नदेख्ने गरी वा देखाएरै लैजाने कार्यलाई चोरी भनिन्छ । त्यसैले कोशी अस्पतालबाट लाखौं मूल्यको माटो खुलेआम चोरी भइरहेको छ तर सम्बन्धित निकायहरु बेखर छन् ।अस्पताल विकास समितिले निर्माणका क्रममा त्यहाँबाट निस्किने माटो सार्वजनिक पर्ती जग्गा पुर्नका लागि दिन सकिने निर्णय गरेको छ । तर अस्पतालबाट निस्किएको माटो सार्वजनिक जग्गामा अत्यन्तै न्यून मात्र प्रयोग भएको छ । बरु यो मौकालाई धेरै जमिन भएका जमिन्दारदेखि शक्ति र पाखुरी देखाउन सक्नेहरुले बढी सदुपयोग गरेका छन् ।
विराटनगर महानगरपालिकाले आफ्नै टिपरमा केही दिन हाटखोला खेलमैदानमा माटो ओसार्यो । त्यसपछि जिल्ला प्रशासन कार्यालयको पछाडिको भाग पुर्न कोशी परिसरको माटो प्रयोग भयो । बालिका स्कुलमा पनि माटो पुर्ने सहमति दिइएको थियो । अहिले माटोको खोजी हुँदा तीन ठाउँमा बाहेक अन्यत्र कसैले देखाउँदैन । तर सयौं टिपर माटो दुहवी र खनार पुगेको छ । विराटनगर १२ का निजी पोखरी र जमिनहरु पनि अस्पतालकै माटोले पुरिएका छन् । हाटखोलाकै केही ठाउँमा पनि माटो डम्प गरिएका छन् । तर, त्यसको हिसाब कसैसँग छैन । विराटनगर महानगरपालिकाका प्रमुख स्वयं अस्पताल विकास समितिका सदस्य छन् । सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने, संरक्षण गर्ने सबैभन्दा बढी जिम्मेवारी महानगर प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरुको काँधमा छ । तर, बजारमा हल्ला छ माटो दुरुपयोग गर्ने सवालमा महानगरका जनप्रतिनिधिहरु बेखबर झैं छन् । तैं चुप मैं चुप किन छन् ? कतै मिलेमतो त छैन भनेर चियापसलहरुमा आशंकायुक्त गफ चलिरहेको छ । नेपाली काँग्रेसका केही कार्यकर्ताहरु जो पाखुरी देखाएर पहिल्यैदेखि सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने बानी लागेका थिए यो माटो चोरीमा उनीहरुको पनि संलग्नता रहेको चर्चा बजारमा चलिरहेको छ ।
नेपालीमा उखानै छ ‘हावा नचली पात हल्लिदैन’ । पक्कै हावा चलेकै छ र पात हल्लिएको हो । रातभर अस्पताल परिसरबाट निस्किएको माटो बोकेको टिपर कुन रुट भएर कहाँ गयो भन्ने कुरा बिहान मर्निङवाक गर्नेहरुले प्रष्ट देखिरहेकै छन् । खाल्डोबाट निस्किदा हिलो माटो लागेको कुनै टिपरको टायर हाटखोला पुगेका छन्, कुनै बरगाछी हुँदै दुहवीतिर लागेका छन् भने कुनै पाञ्चालीतिर पुग्नुले पनि कसले के गरिरहेको छ भनेर अनुमान गर्न सकिने अवस्था छ । त्यसले माटो चोरको अनुमान गर्न मानिसलाई सहज पनि भएको छ । त्यसैले विश्वास गरौं पक्कै पनि अस्पतालको माटो चोरको बारेमा छिट्टै तथ्यहरु सार्वजनिक होला ।