माओवादी र नेसपाबीच एकता हुने, फेरि एक्लिए बाबुराम

विराटनगर । जनता समाजवादी पार्टीबाट छुट्टिएर डा.बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको छ ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादवको नेतृत्वमा नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति भएको छ भने अर्का अध्यक्षा भट्टराईले त्यसलाई अस्वीकार गरेका छन् ।

भट्टराईलाई पनि एकतामा सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र राय नेतृत्वमा एकताको सहमति भएको हो । माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा शनिबार बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ । पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

भट्टराईले माओवादी केन्द्रसँग एकता नगर्ने मूड देखाएपछि अर्का अध्यक्ष महेन्द्रराय यादवको नेतृत्वमा एकताको निर्णय भएको हो । पार्टी एकताको सहमति गरेर कार्यदल गठन भइसकेको अवस्थामा डा.भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि अर्को पक्षले एकताको सहमति गरेको हो । नेसपाबाट प्रतिनिधिसभामा यादवसहित २ सांसद छन् भने वागमती र गण्डकी प्रदेशसभामा पनि १–१ सांसद छन् । उनीहरु सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रसँग एकता गर्ने सहमति पत्र सार्वजनिक हुँदा भट्टराईले भने राजनीतिक ठगी भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीकै उपस्थितिमा पार्टी एकता भन्नुलाई राजनीतिक ठगी र नैतिकताको खडेरीको रुपमा लिएको उनको टिप्पणी छ ।

यसअघि डा. भट्टराईले ४ र ५ चैतमा केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलाएको यादव पक्षले कुनै बैठक नबोलाएको प्रतिक्रिया दिएको थियो । २०७९ को मंसिरमा भएको आमचुनावमा गोरखा–२ प्रचण्डलाई छोडेर पार्टी एकताकै तयारी गर्ने भट्टराईले बताएका थिए ।

तर, अहिले उनी त्यसबाट पर जान थालेपछि आजीवन उनलाई साथ दिएका नेता गंगानारायण श्रेष्ठले पनि उनको साथ छाडेका छन् । माओवादीभित्र वैचारिक द्वन्द्व हुँदा सधैं बाबुरामको पक्षमै उभिएका र नयाँ शक्ति गठनदेखि अहिलेसम्म निरन्तर साथ दिएका नेता श्रेष्ठ बागमती प्रदेश सरकारमा मन्त्री छन् ।

नेसपाका सहअध्यक्ष श्रेष्ठले आफ्नो पार्टी फुटेको नभइ नेकपा माओवादी केन्द्रसँग एकतामा गएको बताएका छन् । गत मंसिर ६ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाइएको भन्दै उनले सोही समितिको बैठक बसेर एकताको निर्णय भएको दावी गरे ।

सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बीचमा एकता गर्ने भनेर चुनाव अगाडि सहमति भएको र एकताको शर्तसहित आफूहरूले माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको बताएका छन् । ‘कानुनी रूपमा आफूहरु माओवादीकै संसदीय दलका सदस्य रहेकोले सत्ताको स्वार्थ भन्ने भट्टराईको आरोप अर्थहिन भएको उनको भनाइ छ ।

२०७२ मा माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरेका बाबुरामलाई देवेन्द्र पौडेल नेतृत्वको समूहले लगत्तै साथ छोडेको थियो । पछि नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच २३ वैशाख २०७६ मा एकता भएर जनता समाजवादी पार्टी, नेपाल बनेकोे थियो । यो पार्टी पनि फुटेपछि जसपाका महिन्द्रराय यादव बाबुरामको पक्षमा उभिएका थिए । गत साल साउनमा नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टी पनि फुटेपछि बाबुराम फेरि एक्लिएका छन् ।

शनिबार, ०३ चैत, २०८०, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर