अन्तरवार्ता

राज्यले बजारीकरणको नीति बनाइदिए मात्रै साना उद्योग टिक्ने थियोे : चेतनाथ निरौला

खुला सीमानाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अवैध भन्सार छलीजस्ता कार्य रोक्न राज्य सक्रिय हुनुपर्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ्गमा हालसम्म लघु, घरेलु, साना, कृषि र अन्य उद्योगहरु करिव ३० हजार भन्दा बढि सञ्चालित छन् । जसमा ४५ अर्बको लगानी रहेको छ । तीन लाख भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यिनै उद्योगहरुबाट यस महासंघमा ४ हजार भन्दा बढि सदस्य, ५ वस्तुगत संघ, ८ पालिका महासंघ, २९ आजीवन सदस्य छन् । यसरी संगठित भएको उक्त महासंघको अध्यक्ष विराटनगर–५ निवासी चेतनाथ निरौला छन् । अध्यक्ष निरौलासँग घरेलु तथा साना उद्योगको समस्या र सावधनको विषयमा केन्द्रीत रहेर हाम्रोमतले गरेको संक्षिप्त कुराकानी ।

तपाईँले तीन वर्षे कार्यकाल सकिदैछ । के–के काम गर्नुभयो ?

– ११ औं  जिल्ला अधिवेशनबाट २०७७ साल मंसिर २९ गते अध्यक्षमा निर्विरोध निर्वाचित भएँ । त्यसपछि पहिलो बैठकबाटै घरेलु तथा साना उद्योगको संरक्षण र उत्पादित वस्तुहरुको प्रबद्र्धन र बजारीकरणका लागि योजना बनाएर काम गरेको छु । हालसम्म ३२औं पटक कार्य समितिको पूर्ण बैठक बसेर धेरै महत्वपूर्ण निर्णाय गरी कार्यान्वयन गरिएको छ ।

महासंघले उद्यामीहरुको व्यापार व्यवसायमा सहजताको लागि सरकारले लागू गरेको भिसिटिएस प्रणालीको बारेमा विज्ञ टोली बोलाएर क्यूआर सिस्टमबाट ढुवानी गर्न तालिम दिएको छ । घरेलु र साना उद्यमीहरुको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन गुणस्तर चिन्ह्र आइएसओ सम्बन्धित तालिम, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरे बमोजिम ११ प्रकारका सहुलियत पूर्ण कर्जा सम्बन्धी कार्यक्रम आदि कामहरु हामीले गरेका छौं ।

घरेलु तथा साना उद्योगले उत्पादन गरेको वस्तुको प्रबद्र्धन गर्न सिएनआई कोशी एक्स्पोमा महासंघ मोरङ तर्फबाट ४६ वटा स्टल लघु घरेलु र कृषि उद्यमीलाई निःशुल्क उपलब्ध गराएको थियो । हरेक वर्ष महासंघसँग समन्वय र सहकार्य गरी स्तरोन्नतिका लागि सिपमूलक, बजारीकरण तालिम, प्रविधि हस्तान्तरण आदि कार्यक्रमहरु भइरहेका छन् ।

महासंघको विरगन्जमा भएको २५औँ राष्ट्रिय महाअधिवेशनमा मोरङ जिल्ला शाखा उत्कृष्ट भई सम्मानित पनि भएको छ भने २२ औँ महाधिवेशनबाट महिला उद्यम समिति पनि उत्कृष्ट बनेको छ ।
घरेलु तथा साना उद्योगले उत्पादन गरेको वस्तुको बजारीकरणमा सहज पुर्याउन डिजिटल मार्केटिङ्ग मार्फत सजिलै ग्राहकको हातमा पु¥याउने उदेश्यले ठूलो डटकम, दराज र रोलिङ्ग वजार जस्ता अनलाइन बजारसँग सहकार्य गरिरहेका छौं ।

मोरङमा घरेलु तथा साना उद्योगको अवस्था कस्तो छ ?

– नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङमा हालसम्म लघु, घरेलु, साना, कृषि र अन्य गरी ३० हजार भन्दा बढि उद्यमहरु सञ्चालनमा छन् । जसमा ४५ अर्बको लगानी छ । तीन लाख भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् । यिनै उद्योगहरुबाट यस महासंघमा ४ हजार भन्दा बढी सदस्य, ५ वस्तुगत संघ, ८ पालिका महासंघ, २९ आजीवन सदस्य छन् । हामीले मोरङमा रहेको १६ वटै पालिकामा पुगेर घरेलु तथा साना उद्योगको निरीक्षण गरी यहाँका उद्योगहरुको सूक्ष्म अध्ययन गरी समस्याहरु पहिचान गरेका छौं र समाधानका लागि सरकारसँग समन्वय बढाएका छौं ।

घरेलु तथा साना उद्योगको समस्या के–के छ ?

–सरकारले सहयोग पनि गरेको छ । तालिम पनि दिएको छ । अनुदानमा उपकरण र मेसिनहरू पनि दिएको छ । तर, मुख्य समस्या भनेको घरेलु तथा साना उद्योगले उत्पादन गरेको वस्तुको बजारीकरणको मुख्य समस्या हो । बजारको सुनिश्चतता छैन । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको वस्तुले घरेलु तथा साना उद्योगले उत्पादन गरेको वस्तुलाई आक्रमण गरेको अवस्था छ । मल्टिनेश्नल कम्पनीले यहाँको बजार कब्जा गरेको छ । उनीहरुसँग घरेलु तथा साना उद्योगले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । खुला सीमानाको कारणले चोरी तस्करी मौलाउँदा यहाँको बजार प्रभावित भएको छ । त्यसलाई राज्यले रोक्न जरुरी छ ।

साना उद्योगको समस्या निरूपणको लागि राज्यले के गर्नुपर्छ ?

– मल्टिनेशनल कम्पनीलाई यहाँ भित्रिनु दिनु भएन । चिउरा, चिया, अगरवत्ती र अन्य खाद्यान्यको सामग्रीहरु आइरहेका छन् । जसले यहाँका घरेलु तथा साना उद्योगले उत्पादन गर्दै आएकोले स्वदेशी उत्पादन प्रयोग गरी यस्ता उद्योगहरुलाई स्थायित्व दिने तर्फ राज्यले भूमिका दिन जरुरी छ । आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्न त्यस्ता वस्ताुको आयात निरुत्साहित गर्ने गरी राज्यले नीित बनाउनु पर्छ भनेर हामीले पहल गरिरहेका छौं ।

नेपालमा उत्पादन हुने वस्तुको सहज आयत रोकिने हो भने पनि धेरै हदसम्म यहाँका साना उद्योगहरु दीगोरुपमा सञ्चालन हुने अवस्था बनाउन सकिन्छ ।
अर्को भनेको यहाँका ठूला सपिङ मलहरुले भ्याटमा दर्ता भएका ठूला उद्योगहरुको मात्र उत्पादन खरिद बिक्री गर्ने गरेका छन् । सामान्य व्यवसायीहरुले जसले पानमा कारोबार गर्छन् उनीहरुसँग पनि कारोबार गर्ने व्यवस्था मिलाउनु पर्छ भनेर हामीले भनेका छौं । सरकारले सहजीकरण गरिदिनुपर्छ त्यस्ता विषयमा ।

साना उद्योगका उत्पादनहरुको लेबलिङ र प्याकेजिङ्ग आकर्षक नहुँदा पनि बजारीकरणमा प्रभाव परेको भनिन्छ नि ?

–स्वदेशमा केही गरौं भनेर युवाहरुले घरेलु तथा साना उद्योगहरुमा लगानी गरेको अवस्था छ । उनीहरूलाई निगरानी गर्ने र प्रोत्साहन गर्ने काम सरकारको हो । गुणस्तर, प्याकेजिङ र लेबलिङको विषयमा ध्यान दिन हामीले निरन्तर पहल गरिरहेका छौं, जानकारी दिइराखेका छौं । त्यसैले राष्ट्र तथा अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने गरी ट्रेड मार्क र आइएसओसम्मका लागि जानकारीमूलक तालिमहरु हामीले चलाएका छौं ।

तपाईँको कार्यकालको अन्त्य हुँदै गर्दा प्रर्दशनीको तयारी पनि थाल्नुभएको छ, त्यसमा कस्ता वस्तुहरु समावेश हुन्छन् ?

– चैत ३ गते महासंघको १२आंै अधिवेशन, महिला उद्यम समितिको १०औं अधिवेशनको अवसर पारेर एक दिने प्रर्दशनी गर्र्दैछौं । उक्त प्रर्दशनीमा जिल्लाभरका उद्यमीहरुले उत्पादन गरेको वस्तु यहाँ प्रर्दशनीमा राखिन्छ । घरेलु तथा साना उद्योगले उत्पादन गरेको वस्तुको बजारीकरण र उत्पादनको प्रर्बद्धन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको हो । मूल उद्देश्य भनेकै बजारको खोजी हो । ६० वटा स्टल राख्ने लक्ष्य रहेको थियो तर बढेर ८० वटा पुग्ने भएको छ । प्रर्दशनीमा कृषिजन्य, हस्तकला, उत्पादनमूलक उद्योगका उत्पादनहरु, पराम्परागत सीपमा आधारित वस्तुहरु राखिनेछ ।

आगामी योजनाहरु पनि छन् कि ?

–महासंघलाई अझ बढि सशक्त र क्रियाशील बनाएर लैजाने योजना छ । यस्तै महासंघका जिल्ला भरका उद्यमी मध्ये उत्कृष्ट उद्यमी पहिचान गरी कम्तिमा पाँच जनालाई सम्मान गर्ने, उद्यमीमैत्री तालिम, सेमिनार र गोष्ीठहरुमा विशेष जोड दिने, आजीवन सदस्यता बढाउने, आउँदो ३ वर्षभित्र १५१ जना आजीवन सदस्य पु¥याइने आदि विषयमा हामीले छलफल गरिरहेका छौं । त्यसबाहेक अरु थुप्रै विषयमा पनि छलफल भइरहेको छ र आगामी दिनमा यी विषयहरुलाई क्रमश अघि बढाउँछौं ।

शुक्रबार, ०२ चैत, २०८०, बिहानको ०९:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर