लोड हुँदैछ...

मेनु

साहित्यमार्फत जिल्ला चिनाउँदै केशु विरही

साहित्यमार्फत जिल्ला चिनाउँदै केशु विरही

विराटनगर। मानिस कसरी पैसा कमाउने र आफ्नो जीवन सुखमय बनाउने भन्ने ध्यानमा रहन्छन् । अहिलेका अधिकांश मानिसको एउटै मात्र ध्याउन्न भनेको जसरी पनि पैसा कमाउने र सुखमय जीवन जिउने देखिन्छ । लामो इतिहास बोकेका भनिएका राजनीति पार्टी र तिनका नेता तथा कार्यकर्ताबाट पैसाकै लागि गरिएका कालाकर्तुतले पनि ती कुरालाई पुष्टि गरिदिएको छ । तर, समाजमा यस्ता मानिस पनि भेटिन्छन् जसले आफ्नै बलबुताले भ्याएसम्म समाज वा राष्ट्र चिनाउन लागिरहेका हुन्छन् । माध्यम भने फरक फरक हुन सक्छन् । त्यस्तै मध्ये साहित्यका माध्यमबाट आफ्नो ठाउँलाई चिनाउन लागिपरेका व्यक्ति हुन् – केशु विरही ।

केशु विरहीको जन्म २०३२ सालमा तेह्रथुमको आठराई –२, खाम्लालुङ, दोरपमा माता मदनदेवी र पिता घनश्याम ज्योतिषीका साहिँला सुपुत्रका रूपमा भएको हो । सानैदेखि अध्ययनशील तथा जिज्ञासु स्वभावका यिनले बाल्यकालदेखि नै कलम समाते । सायरी र मुक्तक हुँदै साहित्यमा प्रवेश गरेका यिनी कलमबाटै जीवन गुजारा गर्दै आएका छन् । कलमजीविको परिचय बनाएका यिनी झन्डै तीन दशकदेखि पत्रकार पेसामा आबद्ध रहँदै आएका छन् । मोरङको बेलबारीमा रहेर शिक्षण तथा पत्रकारिता गरिरहेका यिनी पछिल्लो समय भने शिक्षण पेसा नै छाडेर खोज तथा अनुसन्धानका काममा लागिरहेका छन् ।

साहित्यका माध्यमबाट आफ्नो ठाउँलाई चिनाउने काममा लागिरहेका लेखक तथा अनुसन्धााता विरहीले पछिल्लो समय तेह्रथुमको साहित्यिक इतिहास प्रकाशनमा ल्याएका छन् । लामो समय लगाएर तेह्रथुम जिल्लाको समग्र साहित्यको अनुसन्धान गरेर प्रकाशन गरेको उक्त पुस्तकले निकै चर्चा पाएको छ ।पुस्तकको भूमिकामा प्रा.डा. अभि सुवेदी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती र त्रिभुवन विश्विद्यालय, नेपाली विभाग, कीर्तिपुरका पूर्व विभागीय प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले विरहीको कार्यलाई खुलेर प्रशंसा गरेका छन् । विरहीको यस कार्यले तेह्रथुमको साहित्यिक इतिहासमा एउटा नयाँ आयाम थपिदिएको उनीहरूको ठहर रहेको छ । अझ प्रा.डा. अभि सुवेदीले त यसमार्फत् विरहीले इतिहास लेखनमा आफ्नो नयाँ शैलीको सुरुवात गरेको उल्लेख गरेका छन् ।

नेपाली साहित्यका कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहालीलाग्दा गोरेटाहरू’ (उपन्यास–सह लेखन) २०५६, ‘आमाको माया’ (उपन्यास) २०५७, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजल सङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१, ‘रेस्माको सेन्डल’ बालकथा संग्रह (२०७७) र ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९) जस्ता आधादर्जनभन्दा बढी कृति बजारमा ल्याइसकेका छन् । लामो समय पत्रकारको रूपमामात्र चिनिदैँ आएका यिनले गरेको कार्यले परिचय नै बदलिदिएको छ । उनी अब पत्रकारका रूपमामात्र नभएर एक जना अनुसन्धाताको रूपमा चिनिन थालेका छन् । अबका दिनमा पनि पूर्णकालीन रूपमा अनुसन्धानका कार्य नै गर्ने विरहीको योजना रहेको छ ।
साहित्यका माध्यमबाट तेह्रथुमलाई चिनाउन कम्मर कसेर लागेका विरहीले ‘जुझारु’ साहित्यिक, ‘अन्तर्दृष्टि’ साप्ताहिकको सम्पादक तथा तेह्रथुमकै ऐतिहासिक संस्था ‘साहित्य सङ्गम’ को पुनस्र्थापनामा सक्रिय भूमिका निभाएका थिए । तत्कालीन शासकको वक्रदृष्टिमा परेर बन्दभएको ‘साहित्य संगम’ नामक संस्थालाई जुझारु साहित्यिक पत्रिकाको माध्यमबाट पुनस्थापना गर्नमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

बेलबारीलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका विरहीले २०७९ मा ‘बेलबारीको साहित्यिक इतिहास’ प्रकाशन गरेर साहित्यका माध्यमबाट बेलबारीलाई चिनाउने काम गरेका थिए । उक्त कृति प्रकाशनपश्चात् तेह्रथुमवासीले ‘तपाईँले पछि गएर बसेको स्थानलाई चिनाउने काम गर्नु भयो तर आफू जन्मेको हुर्केको ठाउँलाई चाहिँ भुल्नु भएको जस्तो छ’ भन्ने गुनासो आएपछि आफू तेह्रथुमको साहित्यिक इतिहास लेख्न थालेको बताउँछन् ।

उनी भन्छन्–बेलबारीमा बस्दै गर्दा मैले त्यहाँको लिखित साहित्यको अध्ययन तथा अनुसन्धान गर्ने अवसर पाएँ । त्यहीक्रममा १ वर्षजति लगाएर बेलबारीको विगत ६६÷६७ वर्षको लिखित साहित्यको इतिहास लेख्न सफल भएँ । तेह्रथुम मेरो जन्मस्थल हो । जहाँ बसे पनि आफू जन्मिएको र हुर्किएको ठाउँको मायाले कहिल्यै नछाड्ने रहेछ । त्यसो त मलाई केशु विरही भनेर चिनाएको पनि तेह्रथुमले नै हो । मानिसले चाहेको बखतमा आफ्नो बसाइँको ठेगाना परिवर्तन गरे पनि जन्मको ठेगाना भने परिवर्तन गर्न सक्दैनन् । तसर्थ जन्मको ठेगाना नै मानिसको वास्तविक ठेगाना रहेछ । हो, म त्यही ठेगानालाई अझ स्थायी र वास्तविक बनाउने काममा लागिरहेको थिएँ, आज सफल भएको छु ।’

उनको साहित्य र अनुसन्धानको क्रेज पनि बिछट्टको देखिन्छ । तेह्रथुमको साहित्यिक इतिहासको लेखन सम्पन्न गर्न उनले आफ्नो पेसा व्यवसाय नै छाडे । रातदिन नभनी यो काम फत्ते गरेरै छाडे । उनी भन्छन् ‘ठूलो क्षेत्र भएकाले एकछिन एकछिन गरेर पूरा गर्न नसकिने रहेछ । त्यहीभएर अरू सबै छाडेर यो काम गर्नु पर्यो ।’ उनी पत्रकार महासङ्घ मोरङका सदस्य हुन् । अनुसन्धानका कामले गर्दा कार्यरत मिडियालाई पनि उनले समय दिन सकेका छैनन् ।

यसरी आफ्नो पूरै पेसा व्यवसाय नै छाडेर जिल्लाको खोज अनुसन्धानमा लागिपरेका उनको कामलाई लिएर राम्रो प्रतिक्रिया पाएपछि उनी हौसिएका छन् । गाउँगाउँमा पुगेर स्थानीय लेखक तथा स्रष्टाको विवरण संकलन र साहित्यिक गतिविधिका बारेको जानकारी माग्दा सबैबाट सकारात्मक प्रतिक्रिया पाएको उनको अनुभव छ । कृति प्रकाशित भइसकेपछिको प्रतिक्रियाबाट उनी झन् उत्साहित भेटिन्छन् ।

तेह्रथुमको साहित्यिकइतिहासको फागुन ६ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा लोकापर्ण गरिए पश्चात् आठराईमा गृह जिल्ला लोकापर्ण तथा छथरमा यसको चर्चापरिचर्चा कार्यक्रम सम्मपन्न भइसकेको छ । अन्य स्थानमा पनि परिचर्चाका कार्यक्रम तय भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।