पुण्य पी अधिकारी
चलचित्रले समाजको दृश्य देखाउँछ अथवा चलचित्र समाजको दर्पण पनि हो । उत्कृष्ट कला चेत भएकाहरूले कलाको माध्यमबाट देशको परिस्थिती वा समाजको यथार्थता विभिन्न माध्यमबाट देखाइरहेका छन् । हालका दिनमा गायक भूपू पाण्डेको पीरैपीर गीतले अधिकांश नेपालीको जीवनशैलीका बारेमा बोलेको छ । “चट्ट हेर्दा जिन्दगी दामी छ, सबै ठीक छ हजुर पैसाकै कमी छ” अहिले सामाजिक सञ्जालमा यत्रतत्र छाएको छ ।
पसिना बगाएर जीवन धान्छु भन्ने युवा पुस्ताका निम्ति देशमा श्रमजीवि वातावरण नहुँदा अधिकांश युवा अभावमा बाँच्न बाध्य हुनु अवस्थालाई गायक भूपू पाण्डेले शब्द र दृश्यमा उतारेका छन् । गायक पाण्डेको गीतले अहिलेको हाम्रो वर्तमान समाजको चित्रण सजीव ढङ्गले गरीदिएको छ । गीत, सङ्गीत वाचल चित्र आदिले समाजको चित्रण मात्रै गर्दैनन्, परिचयको दायरालाई अझ फराकिलोसमेत बनाउँछ । सोही मेसोमा केही समय अघि नेपाली चलचित्र रङ्गेलीको चर्चा पूर्वी मोरङमा उद्युम नै चल्यो, चलचित्र सार्वजनिक प्रर्दशनीमा आउनुअघि सेन्सर बोर्डले चलचित्र छायाङ्कन भएको स्थानीय तह, रङ्गेली नगरपालिकाको स्वीकृतिलगायतका कागजात माग गरेपछि त्यसको फिल्मकर्मीले जमेर विरोध गरे । चलचित्रको कथालाई महत्व नदिने तर कसरी हुन्छ, हैरानीमात्र दिने सरकारी परिपाटी र सेन्सर बोर्डमा रहेका कर्मचारीको विरोध सार्वजनिक ढङ्गले सामाजिक सञ्जाल हुँदै फिल्म निर्माताले गरेपछि सेन्सर बोर्डले पिजी सर्टिफिकेट दियो । फिल्म प्रर्दशनमा आएपछि सबै भन्दा चासोको विषय चलचित्र रङ्गेलीका विषयमा रङ्गेली नगरपालिकाका मेयर दिलिप अग्रवालको प्रतिक्रिया के रहन्छ भन्ने नै थियो ।
मोरङ्गको पुरानो शहर, अझ सदरमुकाम ! विगतमा रङ्गेलीको शहरको चर्चा बेग्लै ढङ्गले हुने गरेको थियो । चलचित्र निर्माण पक्षले सुरूमा “रङ्गेली ग्याङ्गस्टर” नामकरण गरेपछि भाइचारा र सद्भावको सन्देश बोकेको रङ्गेलीको गरीमा क्षय हुने भन्दै आलोचना भएपछि रङ्गेलीमात्र कायम गरियो ।सार्वजनिक प्रर्दशनीमा आउनुअघि काठमाडौँमा गरिएको प्रिमियर शो मा चलचिलत्रले सकारात्मक प्रतिक्रिया पाए पनि चलचित्र हेरेपछि रङ्गेली नगरपालिकाका मेयरले दिएको प्रतिक्रियाका कारण फिल्म निर्माण पक्षको पक्कै मनको दुखेको हुनुपर्छ ।
रङ्गेलीको कला, संस्कृति, सद्भाव र वैभवलाई चलचिलले देखाउन नसकेको पस्थितिमा सुधारका निम्ति सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा व्यापारमा आँखाले मात्र नगरप्रमुखले हेर्नुलाई सुखद् मान्न सकिन्न । चलचित्रले स्थानीयताको परिचय र प्रवद्र्धनका लागि खेलेको भूमिकालाई नगर प्रमुखले सकारात्मक अर्थमा बुझ्न सकेको भए आगामी दिनमा सुधारका सङ्केतहरू पक्कै पाइने आशालाई जीवन्त राख्न जरूरी छ ।
विराटनगर प्रदेशको राजधानी भए पनि फिल्म संस्कृतिको विकास अझै हुन सकेको छैन् । हालका दिनमा विराटनगरमा मल्टिप्लेक्सहरू प्रशस्त भए पनि तिनले क्षमता अनुुसार दर्शक पाउन सकेका छैनन् । चलचित्र निर्माताले चलचित्रको प्रचारप्रसारका लागि विराटनगरलाई खास रूचाएको पाइन्न । भर्खरै मात्र महाजात्राको टिमले विराटनगरमा प्रेसमिट सम्पन्न गरेको छ । अन्यथा देशका अन्य शहरमा चलचित्र रिलिजैपिच्छे प्रेस मिट हुने गरेका छन् । त्यसो नहुनुमा राजधानी शहर भए पनि चलचित्र संस्कृतिको विकास नभएका कारण पनि हो ।
अन्त्यमा रङ्गेलीमा काली मन्दिर निर्माणका लागि भारतीय कलाकार मुकेश खन्नाले दिएको आर्थिक सहयोग प्रशंसनीय भए पनि चलचित्रको नाम रङ्गेली नामकरण गरी दक्षिणी मोरङको रङ्गेलीलाई एक हदसम्म बहसमा ल्याउन सकारात्मक प्रयास गर्ने निर्माण समूहको मेहनतलाई सम्मान छ ।