विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै वाग्लेले गृहमन्त्रीको विरोधप्रति आपत्ती जनाए ।
बुधबार प्रतिनिधिसभा बैठकमा नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए । उनले गत चुनावका बेला माओवादी अध्यक्ष प्रचण्डलाई नो नट अगेन भन्नेहरुले किन समर्थन गरेको भन्दै प्रश्न उठाएका थिए ।
जवाफमा वाग्लेले रास्वपा सरकारमा गएको भनेर र विरोध गर्ने र रविलाई गृहमन्त्री बनाएकोमा विरोध गर्नेहरुले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागेर हिँड्नुपरेको भन्दै कांग्रेसप्रति ब्यंग्य गरे । ‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भागीभागी हिँड्नुपर्या छ’,उनले भने ।
गृहमन्त्री बन्दा रविसँग खोजेको नैतिकता खोज्नेहरुले प्रधानमन्त्री प्रस्ताव गर्दा किन नखोजेको भन्दै वाग्लेले प्रश्न गरे । ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि’ उनले भने ।
कांग्रेस नेताहरुलाई आफू प्रमाणबिना बोल्दिन भन्ने थाहा रहेको भन्दै वाग्लेले प्रधानमन्त्रीको प्रस्ताव आएको कुरा सत्य भएको जिकिर गरे । प्रधानमन्त्रीको प्रस्ताव नगरेको दावी काँग्रेसले गरेमा को सक्कली कांग्रेस र को नक्कली कांग्रेस खोज्नै हिँड्ने कुरा नभएको उनको भनाइ छ ।
नयाँपन र अनुभवको सन्तुलन मिलाउनका लागि आफूहरू सरकारमा गएको भन्दै वाग्लेले चेस खेल्न बसेपछि गोटी चाल्नै पर्ने बताए । ‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ’ उनले भने, ‘चेकमेट गर्ने दिन पनि आउला ।’ केही गरेर देखाउने प्रधानमन्त्रीको प्रतिबद्धतालाई सहयोग गर्न सरकारमा गएको भन्दै उनले गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताए ।