विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्र र कांग्रेसको सत्ता गठबन्धन टुटेपछि राजनीतिमा अपमानित गर्ने बोली बन्द भएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा बोल्दै शर्माले राजनीतिमा सभ्य भाषाको प्रयोग हुनुपर्ने धारणा राखे ।
‘गठबन्धन टुटिसकेपछि गालीको कुटीर उद्योग बन्द भयो, राजनीतिमा तिक्त आलोचना गर्ने र गालीको कुटिर उद्योग चलाउने जुन चलन थियो, यो गठबन्धन टुटिसकेपछि त्यो गालीको कुटिर उद्योग बन्द भएको अवस्था छ’ उनले भने । ‘लोडसेडिङमा परेको अवस्था छ, तत्कालका लागि ।’
राजनीतिमा होच्याउने र मानमर्दन गरेर बोल्न नहुने भन्दै शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै कांग्रेसको ३२ सिटेको पछि लागेको भन्दै होच्याउने गरिएको बताए । माओवादी पनि ३२ सिट जनताबाट निर्वाचित भएर आएको हेक्का राख्नुपर्ने भन्दै उनले राजनीतिमा त्यस्तो भाषा बोल्दा ख्याल गर्नुपर्ने पनि शर्माको भनाइ थियो ।
नयाँ राजनीतिक दलहरू कल्पनाको आकाशबाट वास्तविकताको धरातलमा ल्याउन प्रधानमन्त्री प्रचण्डले भूमिका खेलेको भन्दै शर्माले चुनावअघि ुनो नट अगेनु, अहिले ुअगेन एन्ड अगेनु भएको बताए । नयाँ राजनीतिक दलहरू परिपक्व हुँदै गएको भन्दै उनले व्यवहारिक जमिनमा आउनु सकारात्मक भएको बताए ।
मुलुकमा विश्वासको खडेरी रहेको भन्दै उनले विश्वासको खडेरी परेका बेला वर्षमा तीन पटक प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा उभिँदा अचम्म लागेको बताए । ‘वर्षमा तीन पटक विश्वासको मत पाउनुहुन्छ, जबकि यो देशमा सबैभन्दा बढी खडेरी विश्वासको परेको छ,’ उनले भने ।
शर्माले काँग्रेस र एमालेबीच संवाद सुरु भएका प्रधानमन्त्रीको यात्रा कहाँ पुग्ला भन्ने प्रश्न गर्दै कांग्रेसले स्थिति बदलौं भन्दा प्रधानमन्त्री प्रचण्डले गठबन्धन नै बदलेको आरोप लगाए । प्रधानमन्त्रीले धोका दिएकोले उनलाई विश्वासको मत दिन नसक्ने उनको भनाइ थियो ।