विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । सरकारले केही गरेन भन्नेहरुलाई आउँदा दिनमा काम गरेर जवाफ दिने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रमाणित गर्न सकिन भने प्रधानमन्त्री पद मेरो लागि औचित्यहिन हुनेछ ।’
आफूलाई विश्वासघात गरेको आरोप लगाएको भन्दै कांग्रेसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले काम गर्नका लागि सहयोग नगरेको र आफ्नो अवमूल्यन गरेको बताए । प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले बरु केपी केपीले धोका दिएको भन्नमिल्ने बताए ।
‘मैले धोका दिएको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैन’ उनले भने, ‘मैले राष्ट्रपति जिताउन कांग्रेसलाई सहयोग गरेँ, मैले विश्वास गरेको हो । बरु माननीय केपी ओलीले धोका दिएको आरोप लागाउन मिल्छ, किनभने मलाई प्रधानमन्त्री बनाउन उहाँले सहयोग गरेको हो । कांग्रेसले मिल्दैन ।’
कांग्रेसको मुख्यमन्त्री बनाउन माओवादीले पहल गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसको हेक्का राख्न आग्रह गरे । कांग्रेसको उम्मेदवार जित्ने तर माओवादीको उम्मेदवार राष्ट्रिय चुनावमा हार्ने घटनाले अविश्वास सिर्जना भएको भन्दै उनले काँग्रेसभित्रको गुटगत झगडाले काम गर्न असहज भएको बताए ।
‘जसरी काम गर्न खोजेको थिएँ, त्यसरी यो टिमले काम गर्न सक्दैन भन्ने भएपछि गठबन्धन फेरेको हुँ’ उनले भने । पछिल्लो एक वर्ष कांग्रेसभित्रको द्वन्द्वले सरकार र गठबन्धनमा आफू आजित भएको भन्दै उनले कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा समस्या परेको उल्लेख गरे ।
संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा विश्वासघाती र धोकेबाज नहुने भन्दै उनले गठबन्धन बदलिएपछि कांग्रेसका दुई समूहबीच एकता भएकोले खुसी लागेको बताए । ‘मेरो कारणले कांग्रेसभित्र एकता पैदा हुँदैछ,ु उनले भने, ुयो युद्धविराम तपाईंहरूमा भएको छ, प्रचण्डका कारणले । यसलाई स्थायी बनाउनुहोला । यसलाई शान्तिमा बदल्नुहोला ।ु
कांग्रेसको एकताले मुलुकको लोकतन्त्रलाई बलियो बनाउने भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एकताबद्ध भएर चुनावमा जान पनि शुभकामना दिए । संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने भन्दै उनले निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ नभएको बताए ।