तस्करमाथि गम्भीर अनुसन्धानको खाँचो

 सम्पादकीय

सरकारी निकाय, वन समिति र तस्करको मिलेमतोमा काठ तस्करी हुने क्रम रोकिएको छैन । पछिल्लो समयमा कोशी प्रदेशको जंगल क्षेत्रबाट तस्करीको प्रयासभ एको ठूलो परिमाणको काठ बरामद भएको छ । तर, तस्करको मुल समूह नियन्त्रणबाहिर छ । एकपछि अर्को तस्करीका घटना बाहिर आएपनि तस्करीको नाइके कहिल्यै पक्राउ पर्दैन । त्यसैले पनि यसमा मिलेमतो रहेको आशंका छ । पछिल्लो पटक कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्तीमैत्री यात्रा गरेको समयमा ठूलो परिणाममा काठको चोरी भएको खुलेको छ । फागुन २२ गते ठूलो परिणाममा सुनसरीको ब्रह्मपुर सामुदायिक वनबाट काठाका गोलीया बरामद भएको थियो । फागुन ९ गतेबाट मुख्यमन्त्री कार्कीले हात्तीमैत्री पदयात्रा गरेका थिए । त्यही मौका छोपेर काठको तस्करी भएको पाइएको छ । हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको १२ फिट गोलाइ भएको ढलेको सालको रुख चोरी भएपछि काठको खोजी गर्ने क्रममा छिमेकी सामुदायिक वनमा काठ फेला परेको थियो ।

डिभिजन वन कार्यालयले ढलेको रुख भनेपनि स्थानीयले भने त्यो सामुदायिक वनमा रहेको सबैभन्दा पुरानो ठाडो रुख भएको दाबी गरेका छन् । घाँस दाउरामा जानेले जंगलकै पुरानो भनेर चिनिएको रुख नदेखेपछि स्थानीयले उपभोक्ता समितिलाई खबर गरेका थिए । तर, वन कार्यालयले ढलेको रुख भनेर मुद्दा कमजोर बनाउने प्रयास गरेको पाइएको छ । जसले गर्दा तस्करीमा बन कर्मचारीकै मिलेमतो रहेको आशांकालाई बल दिएको छ । सामुदायिक वन समूहका पदाधिकारीहरू मुख्यमन्त्रीको यात्रामा अल्मलिएको बेला तस्करी भएको थियो । अर्कोतिर जंगलमा हात्तीको बिगबिगी रहेको बेला उपभोक्ताहरु जंगलमा छिर्न डराएको अवस्थामा तस्करी भएको थियो । ब्रह्मपुर सामुदायिक वन क्षेत्रमा काठ लुकाएर राखिएको अवस्थामा भेटिएपछि ब्रह्मपुरका अध्यक्ष मनोज तामाङ पक्राउ परेका छन् । जाँचबुझ गर्ने क्रममा अध्यक्ष उनले चोरी स्वीकार गरिसकेको बताइएको छ । अध्यक्ष तामाङले काठ चोरी गर्नका लागि तीन जना सुराकीसमेत राख्ने गरेको अनुसन्धानमा देखिएको छ ।

राष्ट्रिय तथा सामुदायिक वनको क्षेत्रबाट काठ काटिएको र त्यसमा सामुदायिक वनका अध्यक्ष नै संलग्न हुनुले तस्करी कसरी भइरहेको छ भन्ने संकेत गरेको छ । पक्राउ परेका तामाङले १० लाख रुपैयाँ खर्च गरेर वन समूहको अध्यक्षको चुनाव जितेको बताइएको छ । त्यही खर्च असुल्नका लागि अध्यक्षले आफैंले काठ चोरी गरेको बन कार्यालयले बताएको छ । वन समूहको अध्यक्ष हुन दशौं लाख खर्च गर्नुले तस्करीको नियत लुकेको स्पष्ट देखिन्छ । १५ देखि २० लाख मूल्य बराबरको काठ चोरी तस्करी भएको थियो । एकै पटकमा यति ठूलो परिणामको काठ चोरी तस्करी हुनुले जंगलमा तस्करहरुको राज चलिरहेको देखिन्छ । काठ तस्करीमा वन कर्मचारीको पनि संलग्नता रहेको सामुदायिक वनका उपभोक्ताहरुले दावी गर्दै आएका छन् । उनीहरुले त्यसमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालय इटहरीमा उजुरीसमेत दिएका छन् ।

तस्करी प्रकरणको गम्भीर अनुसन्धान हुनुपर्ने देखिन्छ । मुलुककै सम्पत्तीको रुपमा रहेको वन तस्करी गर्नेलाई सजाय गर्न तस्करीको जरासम्म अनुसन्धान पुग्नुपर्छ । तस्कर, वन समूहका पदाधिकारी र कर्मचारीमाथि समेत गम्भीरताको साथ अनुसन्धान गरिनुपर्छ ।

बुधबार, ३० फागुन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर