सम्पादकीय
कोशी पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेश हो । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथादेखि ८ हजार मिटरभन्दा अग्ला हिमालहरु, हिमश्रृङ्खलाहरु यसै प्रदेशमा छन् । प्राकृतिक र जैविक विविधताको दृष्टिले धनी यो प्रदेश तुलनात्मक रुपमा पर्यटन क्षेत्रको समुचित विकास भने हुन सकेको छैन ।
पर्यटनको मुख्यआधारको रुपमा कोशीमा विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु छन् । ती पर्यटकीय गन्तव्यहरुप्रति आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित भइरहेका छन् । सगरमाथा, कञ्चनजंघा क्षेत्रमा विदेशी पर्यटकहरुको आकर्षण भएपनि बाँकी गन्तव्यहरुले आन्तरिक पर्यटकहरु तान्ने क्रम बढाउँदै लगेको छ ।पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकहरु चहलपहल बढेपछि कतिपय गन्तव्यहरुमा पर्यटन पूर्वाधारहरु थप्नु पर्ने अवस्था देखापरेको छ । होटल, लजजस्ता आधारभूत पूर्वाधारको विकासले आगन्तुकहरुको यात्रालाई सहज बनाउने भएकोले सरकारले त्यस तर्फ ध्यान दिन जरुरी छ ।
पछिल्लो समय आन्तरिक पर्यटकहरु होमस्टेप्रति आकर्षित भइरहेका छन् । स्थानीय संस्कृति, खाना र रहनसहनले मानिसलाई लोभ्याउने गरेको छ । होमस्टेहरुले स्थानीय संस्कार संस्कृतिको प्रचारप्रसाह हुने र त्यसकै माध्यमबाट थप पर्यटकहरुलाई निम्त्याउन सकिने भएकोले आन्तरिक पर्यटनमा यसको महत्व छ । सरकारले होमस्टेहरुको प्रवद्र्धन गर्ने, त्यसको विकासका लागि सहयोग गर्ने र पर्यटन विकासका लागि आवश्यक पूर्वाधारहरुको विकास गर्दै जाने नीति लिएको छ । त्यसै अनुसार पछिल्ला दिनहरुमा होमस्टेहरु दर्ता हुने र सञ्चालन गर्ने क्रम सकारात्मकरुपमा बढेको छ ।
यसैक्रममा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशस्तरीय होमस्टे प्रवद्र्धनगर्ने उद्देश्यले होमस्टे सम्मेलन आयोजना गरेको छ । फागुन २९ र ३० गते उदयपुर जिल्लामा प्रदेशस्तरीय होमस्टे सम्मेलन हुँदैछ । यो पर्यटन प्रवद्र्धन र विकासमा एउटा महत्वपूर्ण परिघटना हुनसक्छ । प्रदेशमा सञ्चालित १०५ वटा होमस्टेहरुले उक्त सम्मेलनमा सहभागिता जनाउँदैछन् । यो सम्मेलनले होमस्टे सञ्चालनमा देखिएका समस्या, समस्या समाधानका लागि प्रदेश सरकारले गर्नुपर्ने नीतिगत व्यवस्था र पूर्वाधार क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको प्राथमिकता निर्धारण गर्न सक्नु पर्छ । त्यसो हुन सकेको खण्डमा होमस्टेहरुको सञ्चालनलाई थप व्यवस्थित गर्न महत्वपूर्ण हुनेछ ।
सरकारले प्रोत्साहन गरेर स्थापना गरेका कतिपय होमस्टेहरु संकटमा परिरहेका छन् । होमस्टेहरु समितिका नेताहरुबाट हुने व्यवहारबाट प्रभावित हुने, विभेदमा पर्ने र यथोचित विकास गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेका छन् । उनीहरुको समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिने र समाधान गर्ने तत्परता देखाउन जरुरी छ । जीर्ण बनेका होमस्टेहरुलाई अनुदान सहयोग गरेर प्रवद्र्धन गर्ने र गन्तव्यसम्मको पहुँचलाई सहज बनाउने, विद्युत, सञ्चार र यातायातको सहज व्यवस्थामा सरकारले ध्यान दिने हो भने ठाउँ ठाउँमा खुलेका होमस्टेहरु पर्यटन विकासका लागि दीगो आधार बन्न सक्नेछन् ।