विराटनगर । झापाको मेचिनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठूलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भवगती लेमिनेट्स प्लाइउड कारखानामा आव बिहान ५ बजेदेखि आगलागी भएको हो । आगलागी भएको ६ घण्टा वितिसक्दा पनि नियन्त्रणमा आउन नसकेको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । उद्योगको दक्षिणपट्टिको भागमा आगलागी नियन्त्रण गर्न नसकेको उनले बताए । ‘७० प्रतिशत आगलागी नियन्त्रणमा आइसकेको छ । दक्षिणपट्टि भने पानी हान्न समस्या भएको कारण नियन्त्रणमा लिन सकिएको छैन,’ उनले भने ।
आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको कच्चा पदार्थमा बढि क्षति पुगेको छ । तयारी माल भने जोगिएको एसपी केसीले बताए ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय प्रयासरत छन् । आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कती क्षति भयो भन्ने विषय अहिले नै एकिन नभएको उनले बतनए । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने करोडौं रूपैयाँ लगानी भएको उद्योगीको भनाइ छ ।