प्रचण्डको २० सदस्यीय नयाँ मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरु समेटेर प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेका हुन् । आज थपिएका १६ सहित सरकार २० सदस्यीय भएको छ । प्रधानमन्त्रीले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् ।

एमालेका सचिव रघुविर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भएका छन् भने माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री भएका छन् । महासेठ एक वर्ष अगाडि प्रचण्ड सरकारमै भौतिक पूर्वाधारमन्त्री थिए भने श्रेष्ठ निवर्तमान गृहमन्त्री हुन् । रास्वपाका अध्यक्ष रवि लामिछाने उपप्रधानतथा गृहमन्त्री भएका छन् । उनी एक वर्ष अगाडि प्रचण्डकै सरकारमा गृहमन्त्री रहेको बेला नागरिकता प्रकरणमा पदमुक्त भएका थिए ।

सरकारमा एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र एकीकृत समाजवादीका २ जनालाई समेटिएको छ । एमालेका पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् । त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् ।

एमालेबाट मन्त्री बन्नेहरु गत वर्ष पुस १० गते प्रचण्ड प्रधानमन्त्री भएपछि सरकारमा सहभागी भएकाहरु नै छन् । उनीहरुले मन्त्रालयउ पनि अधिकांश त्यहि बेलाका लिएका छन् । राष्ट्रपतिको विषयमा माओवादी र एमालेको कुरो नमिलेपछि उनीहरु २०८० फागुन १४ गते प्रचण्ड सरकारबाट अलग भएका थिए । उक्त सरकारमा रहेका विष्णु पौडेल मन्त्री नबन्दा बलराम अधिकारीले यस पटक अवसर पाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन अर्थमन्त्री बनेका छन् । यस्तै शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । माओवादीमा तामाङ र पुनबाहेक अघिल्लो सरकारकै मन्त्रीहरुले निरन्तरता पाएका छन् । श्रेष्ठ गृहबाट परराष्ट्रमा पुग्दा बस्नेत र शर्माले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । गत वर्षको पुस १० गते बनेको सरकारमा लामिछाने र अर्यालले सोही मन्त्रालय सम्हालेका थिए भने श्रेष्ठद्वयले नयाँ अवसर पाएका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री बनेका छन् । सो पार्टीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा शहरी विकासमन्त्री बनेका हुन् । सो पार्टीबाट अघिल्लो सरकारमा प्रकाश ज्वाला र बेदुराम भुषाल मन्त्री थिए ।

सबै मन्त्रीहरुको नाम शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । उनीहरुको सपथ आजै हुनेछ ।

बुधबार, २३ फागुन, २०८०, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर