दुर्घटना न्युनिकरणका चुनौति

 सम्पादकीय

मोरङको बेलबारी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट शुक्रबार विहान तीन जनाको मृत्यु भयो । तीब्र गतिमा रहेको टिपरले यात्रुबस ठक्कर दिएपछि पुनः बोलेरोलाई ठक्कर दिँदा विभत्स दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेहरुको अझै अस्पतालमा उपचार भइहरेको छ । गत माघ १४ गते विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । ढकालको मृत्युपछि आक्रोशित स्थानीयले सोही सडकमा कुद्ने ७ वटा टिपरमा आगजनी नै गरेका थिए । गएको मंसिरमा पनि सोही सडक खण्डमा टिपरको ठक्करबाट उदयपुर रौतामाई नगरपालिका–२ की ३५ वर्षीया गीता कटुवालको मृत्यु भएको थियो । पछिल्लो तीन वर्षमा कोशी प्रदेशमा टिपरकै कारण भएको दुर्घटनामा ५८ जनाको मृत्यु भएको तथ्यांक छ ।

टिपरबाट भएका दुर्घटना चालकको असावधानी नै प्रमुख कारणको रुपमा देखिने गरेको छ । अस्वस्थ प्रतिस्वर्धा, तीब्र गतिमा ओभरटेक गर्ने प्रयास तथा साना सवारी साधन र यात्रुप्रतिको हेपाहा व्यवहारको कारण टिपर दुर्घटना भएको छ । टिपर आफैं धेरै भार भएको सवारी साधन भएको र उसले ठूलो परिमाणमा मालबस्तु बोक्ने गरेकोले टिपर दुर्घटनाले ठूलो क्षति गर्ने गरेको छ । कच्चा उमेरका टिपर चालकले धेरै टिप सामान ढुवानी गर्ने प्रयासमा तीब्र गतिमा टिपर चलाउने गरेको बताइन्छ । जुन दुर्घटनाको कारण बन्ने गरेको छ । तीन वर्षबीच भएका २७९ वटा टिपर दुर्घटनामा ५८ जनाको मृत्यु भएको छ भने ३५२ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । साँघुरा र जीर्ण सडकमा तीब्र गतिमा हुइँकिने टिपरबाट बढी दुर्घटना हुने गरेको छ । अस्वस्थ प्रतिस्पर्धाका कारण पनि दुर्घटनाको जोखिम बढी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

साँघुरो सडक, ओभर स्पिड र ओभरट्याकको कारणले दुर्घटना हुने गरेको छ । दुर्घटनामा चालकको पनि लापरवाही देखिने छ । ट्राफिक संकेतको पालना नगर्ने, पैदलयात्री जथाभावी हिँड्ने, जुनसुकै साइडबाट पैदलयात्रा गर्ने र सवारी साधन चलाउने, लेन अनुशासन पालना नगर्ने, जेब्राक्रसको प्रयोग नगर्ने, सवारी साधनको कन्डिसन चेक नगरी कुदाउने, मद्यपान गरेर सवारी साधान नचलाउने, लामो दूरीमा एकै चालकले सवारी साधन चलाउने जस्ता कारणले दुर्घटना बढाएको छ । यसबाट बच्न चालक र यात्रुलाई पनि सचेतनाको खाँचो छ । मानबीय गतिबिधि धेरै हुने समयमा टिपरजस्ता ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनुपर्छ । जसले दुर्घटना न्युनिकरणमा मद्दत गर्दछ । माथि उल्लेख गरिएका नियम पालना नगरेकै कारण दुर्घटना बढ्ने गरेको छ । यसप्रति सबै सचेत हुनुपर्छ । लापर्वाही गरेर दुर्घटनामा मानिसको ज्यान लिनेलाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ ।

सोमबार, २१ फागुन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर