विराटनगर । धरानका प्रमुख हर्क साम्पाङले स्वतन्त्र उम्मेद्वारको रुपमा आए इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पत्रकार मिलन लिम्बूलाई सघाउने आश्वासन दिएका छन् ।
प्रमुख साम्पाङसँग भेट गर्न धरान आइपुगेका पत्रकार लिम्बूले साम्पाङले आफूलाई सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए । ‘स्वतन्त्र रुपमा चुनावमा उठेको खण्डमा मेरो सहयोग रहन्छ,’ साम्पाङले भनेको कुरा उधृत गर्दै लिम्बूले भने ।
प्रमुख साम्पाङसँग सामान्य कुरा भएको बताउँदै लिम्बूले औपचारिक निर्णय भने नभएको बताए । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेद्वारको खोजी गर्दै स्टाटस लेखिरहेका छन् । आम जनताले स्वतन्त्र उम्मेद्वारलाई जिताउनु पर्ने उनको जिकिर छ । ‘यसपालि इलामेली जनताले स्वतन्त्र उम्मेद्वारलाई चुन्नु होला ! उहिलेका र अहिलेका पार्टीहरुले केही गर्दैनन् । उल्टो केही गर्न चाहनेहरुलाई समेत सिध्याउन खोज्छन्, खुट्टा तान्छन्न् । चेतनाको परिचय दिनु होला,’ उनले लेखेको स्टाटसमा उल्लेख छ ।
उता आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय महासचिव रहेका लिम्बूले पनि आफू स्वतन्त्र रुपमा चुनावमा उठ्ने घोषणा गरिसकेका छन् । इलाम माङ्सेबुङका स्थायी बासिन्दा लिम्बू हाल काठमाडौंबाट प्रकाशित दृष्टि अनलाइनको सम्पादक छन् ।
एमालेले सो क्षेत्रबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने बढी सम्भावना छ । काँग्रेसबाट डम्बरबहादुर खड्काले पनि आफू उम्मेद्वार बन्ने बताइसकेका छन् । खड्का गत वर्ष भएको निर्वाचनमा नेम्वाङसँग ११४ मतले पराजित बनेका थिए । एमाले नेता नेम्वाङ भने २०५६ सालयताका हरेक निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए । उपनिर्वाचनमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी शक्तिहरुले पनि छुट्टाछुट्टै उम्मेद्वारी दिने जनाएका छन् ।