विराटनगर । भूपेन्द्र कोइराला विसं २०४४ सालमा धनकुटाको धनकुटा बहुमुखी क्याम्पसमा बीएड दोस्रो वर्षमा पढ्दै थिए । ताप्लेजुङका शिक्षा क्षेत्रका अगुवा हरि घिमिरे शिक्षक खोज्दै क्याम्पसमै आइपुगे । हाल मोरङ सुन्दरहरैँचाको मृगौलिया निवासी घिमिरे ४–५ जनाको दलबलसहित तत्कालीन साँघुगाउँ पञ्चायतको नारायणी माध्यमिक विद्यालयका लागि शिक्षक खोज्न आएका थिए । घिमिरे आफैं पनि मोरङको डाँगीहाट (हाल बेलबारी–८) मा रहेको धीरनाथ सम्फुल माध्यमिक विद्यालयमा पढाउँथे । क्याम्पसमा कोइरालालाई भेटेर घिमिरेले जागिरको प्रस्ताव राखे । कोइराला राजी भएपछि फागुन ७ गते आएका कोइराला घिमिरेसँगै जागिर खान धनुकटाबाट ताप्लेजुङ हिँडे ।
तेह्रथुमको वसन्तपुरमा पुगेपछि ठूलो हावाहुरी आयो । हिउँसमेत पर्यो । उनीहरू छोटो बाटो हुँदै जान सकेनन् र घुमाउरो बाटो हुँदै ११ गते ताप्लेजुङको साँघुगाउँस्थित नारायणी मावि पुगेका थिए । कोइरालाको पहिलो जागिरको सिलसिला त्यहीँबाट शुरू भयो ।
निजी स्रोतबाट तलबभत्ता खानेगरी कोइराला अंग्रेजी शिक्षक नियुक्त भएका थिए । केही महिनापछि नै उनलाई प्रधानाध्यापकको जिम्मेवारी दिइयो । कक्षा–९ पढाइ भइरहेको विद्यालयमा १० कक्षा सञ्चालनका लागि प्रस्ताव गरिएको थियो । कोइरालाले त्यहाँ आफूभन्दा जेठो उमेरका विद्यार्थी पढाउँथे ।
भर्खर २२ वर्षका कोइरालाले आफ्नै उमेरका र आफूभन्दा जेठा विद्यार्थीलाई पढाउन सजिलो थिएन । एसएलसीमा पाँच पटकसम्म फेल भएर बसेका विद्यार्थीको समूह पनि पढ्न आउने गरेको थियो । विद्यार्थीले कतिपय समयमा प्रअ कोइरालामाथि अभद्र व्यवहार नै गरे । त्यसपछि व्यवस्थापन समितिले उनको लागि अंगरक्षक (बडीगार्ड)को व्यवस्था गरिदियो ।
बडिगार्ड राखेपछि विद्यालयको कमाण्ड राम्रोसँग गरेको कोइराला सम्झन्छन् । पहिलो पटक २८ विद्यार्थीमध्ये २४ जनाले एकैपटकमा एसएससी उत्तीर्ण गरे । ‘हेडमास्टर भनेको भूपेन्द्र कोइरालाजस्तो हो’ भन्ने छाप जिल्लाभरी फैलियो ।
साँघुगाँउ छोडेर सुटुक्क पाख्रिबास
पढाउँदै गरेको विद्यालय (नारायणी मावि)मा कसैलाई नभनी कोइराला सुटुक्क धनकुटाको पाख्रिबासको जाल्पादेवी माविमा पढाउन थाले । त्यसपछि नारायणी माविमा एसएलसी दिन लागेका सबै विद्यार्थी पढ्नलाई जाल्पादेवीमै आए । पछिल्लो वर्ष नारायणी माविमा एलएलसी दिने २४ जना विद्यार्थी थिए ।
ताप्लेजुङमा पनि धनकुटाकै अवस्था दोहोरिएको थियो । योबेला पनि कोइरालालाई अभिभावककै टोली लिन आएको थियो । ‘अभिभावक नै आएपछि नाइँ भन्न सकिनँ र पाख्रिबास गएँ,’ उनी भन्छन् ।
पाख्रिबासमा कोइरालाले एक वर्ष पढाए । त्यसपछि उनी पुनः पुरानै ठाउँ साँघुगाउँको नारायणी माविमा फर्किए । योबेला उनले विभिन्न पारिवारिक समस्या झेल्नुपर्याे । जागिर नै छोडे । आमा विरामी र बुवा राजनीतिक कारणले जेल परेपछि घरको जेठो सन्तान उनले घर सम्हाल्न फर्कनुपरो ।
त्यतिबेला कोइरालाको तलब १ हजार ६९३ रुपैयाँ थियो । विद्यालय छोड्दा १६ हजार तलब बाँकी रहेको उनले सुनाए । विद्यालय व्यवस्थापन समितिले सबै तलब दिन सकेको थिएन । पछि ८ हजार रुपैयाँ हजार भने उनको घरमै पठाइदिएको थियो ।
विशेषज्ञ परिक्षमा ५ औं
ताप्लेजुङमा जागिर छोडेपछि कोइराला मोरङको साविक भलुवा गाविस (हाल केराबारी)मा रहेको लक्ष्मी माविमा निजी स्रोतबाट नै तलब खानेगरी पढाउन थाले । उनले १० कक्षामा पढ्ने उछृंखल एक विद्यार्थीलाई चड्कन लगाए । त्यसपछि ती विद्यार्थीले आफूलाई कुट्ने योजना बनाइरहेको कोइरालाले थाहा पाए ।
तर, उनले त्यसलाई टारे । ‘ती केटाहरूले बाटामा मलाई कुट्ने भनेर ढुकेर बसेका रहेछन्, एकजना विद्यार्थीले नै जानकारी दिए’ उनी सम्झिन्छन्, ‘मैले पनि उसलाई १५ जना जति भेला गरेर बस, नत्र ८–१० जना त एकैपटकमा ढाल्छ भनेर भनिदिन खबर पठाएँ । त्यो खबर सुनेपछि उनीहरू डरले भागेछन् ।’
सो विद्यालयमा दुई वर्ष जति पढाएपछि उनले विद्यालय निरीक्षकमा नाम निकालेर भोजपुर गए । एक वर्ष जति काम गरेपछि उनको फेरि मोरङमा सरुवा भयो । सिंहदेवी स्रोत केन्द्रको विद्यालय निरीक्षक भएर उनले केही समय काम गरे । कोइरालाले त्यसपछि अंग्रेजी विषयको विशेषज्ञमा नाम निकालेका थिए । अंग्रेजी विषयको विशेषज्ञ भनेर लोकसेवाले १० जना मागेको थियो । १२–१३ हजार भिडेकोमा ५ औं नम्बरमा उनको नाम निस्केको थियो । उनको शैक्षिक तालिम केन्द्र, सुनसरीमा पोस्टिङ भयो ।
त्यहाँ उनले १६ वर्षसम्म काम गरेका थिए । यस्तै उनले उदयपुरमा पनि सहायक जिल्ला शिक्षा अधिकारी भएर तीन वर्षभन्दा बढी समय बिताएका थिए । समायोजन ऐन आएपछि धेरै कर्मचारी स्थानीय तहमा नजाने भनेर बसेका थिए । उनी भने इटहरी उपमहानगरपालिकामा सरुवा भएर आए । १८ महिना इटहरी उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख भएर काम गरेका उनको जागिरे जीवनको उत्तरार्धमा बेलबारी नगरपालिकामा सरुवा भएको थियो ।
निजी विद्यालयलाई ट्रयाकमा ल्याउने कसरत
निजी विद्यालयहरू ‘सिस्टम’मा नचलेको अनुभव कोइरालासँग छ । भोलि राज्य बलियो हुँदा ठूलो श्रम र सम्पत्तिको लगानी भएका विद्यालयलाई अफ्ठयारो पर्ने उनको ठम्याइ छ ।
सिस्टममा नचलेका दुर्गुण हुनका बाबजुद निजी विद्यालयले धेरै मानिसलाई विदेशिनबाट रोकेकोमा भने उनी सकारात्मक छन् । शुल्कमा भने निजी विद्यालयले मनपरी गरेको उनी बताउँछन् । ‘राज्य कमजोर भएका बेला जे गरे पनि हुन्छ भन्ने छ’ उनले भने, ‘भोलि राज्य सबल भएको बेलामा सम्पत्ति छानबिन गर्ला । यसर्थ कानूनी प्रक्रिया अपनाउनुपर्छ ।’
निजी विद्यालयले विद्यार्थीलाई आफ्नो वजनभन्दा पनि बढी किताब बोकाइरहेको पनि उनले बताए । सार्वजनिक कार्यक्रममा उनीप्रति लाग्ने आरोपप्रति पनि कोइरालाको चित्तदुखाइ छ । तर, विस्तारै मानिसले कुरा बुझ्न थालेको उनको भनाइ छ । उनीमाथि निजी विद्यालय सक्न आएको मान्छेको आरोप लागेको थियो । अहिले भने त्यस्तो आरोप नरहेको उनले सुनाए ।
बाल्यकालको रमाइलो स्मरण
कोइरालाको जन्म मोरङको बेलबारीमा वि.सं. २०२२ सालमा भएको थियो । उनले बाल्यकाल भने भोजपुरमा बिताए । शिक्षा क्षेत्रमा यत्रो प्रगति गरेका कोइराला ७ वर्षको हुँदा मात्र कक्षा १ मा भर्ना भएका थिए । भोजपुरको तत्कालीन च्याग्रे गाविस (हाल पौवादुम्बा गाउँपालिका) मा रहेको जाल्पादेवी प्राविमा त्यसबेला एकजना मात्रै शिक्षक थिए । चन्द्रमणि भुजेल नामका ती शिक्षकले कक्षा १ र ५ कक्षाका विद्यार्थीलाई मात्रै पढाउँथे । उनका अनुसार स्कूलमा कक्षा २ का विद्यार्थीले १ लाई, ३ ले २ लाई, ४ ले ३ लाई र ५ ले ४ लाई पढाउनु पथ्र्याे ।
कोइरालालाई नेपाली र गणित विषय हजुरबाले सिकाएका थिए । यीमध्ये नेपालीमा भने उनी पोख्त थिए । हजुरबाले अंग्रेजी नजान्ने भएकाले उनको त्यो विषय भने घरमा सिक्न पाएनन् । कक्षा ४ मा पुगेपछि अंग्रेजी पढे ।सरले एबीसीडी पढ्न दिँदा आफूले एउटा मात्र जानेको अनुभव पनि कोइरालासँग छ । ‘चन्द्रमणि सरले भोलि एबीसीडी सबै जानेर आउनु भन्नुभयो । मैले जम्मा ‘ए’ मात्रै जाने’ उनी सम्झना गर्छन्, ‘आज चन्द्रमनि सरले सोध्नुहुन्छ भनेर स्कूल नगइ लुकेर बसेको थिए । उहाँले देख्नु भएछ । मैले पिसाब फेर्न गएको भनेर टारेँ ।’ चन्द्रमणि सरकै हौसलाले अँग्रेजी सिकेको उनको भनाइ छ ।
कोइरालाले कक्षा ६ र ७ भने पञ्चकन्या माविमा पढेका थिए । उनको घरबाट यो विद्यालय पुग्न एक घण्टा हिँड्नु पथ्र्याे । कक्षा ८ देखि भने उनले बेलबारी आएर पढे । त्यहाँको जनता नमुना माविबाट एसएलसी पास गरेका हुन् । दोस्रो डिभिजनमा एसएलसी पास गरेका उनले विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट आइकम गरेका थिए । जागिर खानका लागि एजुकेसन (शिक्षा संकाय) पढ्नुपर्छ भन्ने भएपछि उनले धनकुटामा गएर एमएड गरे ।
तलब नलिइ क्याम्पस प्रमुख
२०६६ सालमा स्थापना भएको बेलबारी बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख खगेन्द्र लुइँटेलले राजीनामा दिएपछि क्याम्पस प्रमुखको खोजी भएको थियो । चरम आर्थिक अभावसँग जुधिरहेको क्याम्पसका शिक्षक र कर्मचारीको तलब दिन मात्रै ६१ लाख रुपैयाँ बाँकी थियो ।
क्याम्पस प्रमुख नभेटाएपछि तत्कालीन बेलबारीका प्रमुख (मेयर)समेत रहेका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले कोइरालालाई नगरपालिकाबाट राजीनामा दिएर क्याम्पस प्रमुख बन्न आग्रह गरे । त्योबेला कोइराला नगरपालिकाको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत थिए । यसैले उनले मानेनन् । नगर प्रमुखलाई राजीनामा नदिइ क्याम्पस प्रमुख हुने उनको प्रस्ताव थियो ।
राजीनामा नदिइ काम गर्छु भनेपछि मेयर सुवेदीले मन्त्रालयमा बुझेर कार्यपालिकाको बैठकबाट जिम्मेवारी दिए । क्याम्पस प्रमुखको रुपमा कोइरालाको तलब मासिक ६० हजार रुपैयाँ तोकिएको थियो । तर, घाटा भएको क्याम्पसमा नगरपालिकामा काम गरेसम्म सुविधा नलिने भन्दै २ वर्ष उनले निःशुल्क काम गरे ।
विद्यार्थी संख्या बढेकाले गत साउनमा क्याम्पसको ऋण शून्यमा झरेको छ । अहिले क्याम्पसमा ५० जना क्षमताको कम्प्युटर ल्याबसमेत बनेको छ । कोइरालाको व्यवस्थापनपछि अहिले बेलबारी क्याम्पस राम्ररी चलिरहेको छ । ५८ वर्ष पुगेका कोइरालाले उमेर हदका कारण उपसचिवबाट अवकाश पाएपछि सबै ध्यान बेलबारी क्याम्पसमा लगाएका छन् ।

