सम्पादकीय
कोशी प्रदेशका तराईमा पर्ने चार जिल्लामा वर्षौदेखि हात्तीले जनजीवन प्रभावित गर्दै आएको छ । यहाँको चारकोशे जंगलमा रहेका रैथाने हात्ती मात्र नभएर पूर्वी सिमाना मेची नदि पार गरेर भारतबाट नेपाल छिर्ने हात्तीहरुको समूहले हरेक वर्ष मानवीय र भौतिक क्षति गर्दै आएको छ । हात्तीबाट हुने मानवीय र भौतिक क्षति कम गर्न राखिने धराप र अबरोधबाट हात्तीको पनि मृत्यु हुँदै आएको छ । एक ढंगलले यस क्षेत्रका जंगल आसपासको बस्तीमा मानब र हात्तीको निरन्तरको द्वन्द्व छ । हात्तीको प्रभाब रोक्न विभिन्न प्रयोगहरु भएका छन् । तारबारदेखि करेन्ट प्रबाह गर्नेसम्मका कार्यले केहि समय हात्तीको असर कम भएपनि हात्तीले विस्तारै त्यसलाई सामना गरेर अगाडि बढ्दा सर्वसाधारको घरगाड, अन्नबाली मात्र नभएर मानबीय क्षति पनि हुने गरेको छ । हात्तीको असर र यसको प्रभाब कम गर्न सरकारले लगानी पनि गरिरहेको छ । तर, समस्या समाधान भएको छ । कोशी प्रदेश सरकारले यहि समस्याबारे अध्ययन गर्न ५ दिनसम्म हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रा गरेको छ । मुख्यमन्त्री केदार कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती, मन्त्रालयका सचिव विशाल घिमिरेसहितको टोलीले झापादेखि उदयपुरसम्म २४३ किलोमिटरसको दूरी पैदलै हिँडेर समस्यालाई नजिकबाट अध्ययन गरेको छ ।
नागरिकले भोगिरहेका समस्यालाई प्रत्यक्ष सुन्न यो यात्राले सरकारलाई ठूलो सहयोग पुगेको छ । हात्ती प्रभावित क्षेत्रमा पुगेर सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले हात्तीले गरेको असर मात्र बुझेका छैनन्, हात्तीले असर गर्नुको कारणबारे पनि अन्तरसंवाद गरेका छन् । यसले हात्तीपीडितहरूको समस्या कसरी समाधान गर्ने भन्ने बहस पनि छेडेको छ । यात्रामा नागरिकबाट प्राप्त भएका सुझाब, मुख्यमन्त्री, मन्त्री तथा सरकारी अधिकारीहरुले देखेभोगेका विषय तथा विज्ञहरुले दिएको सुझाबको आधारमा एकीकृत योजना निर्माणको लागि सरकारलाई पक्कै पनि सहयोग पुग्नेछ । हात्ती पनि जोगाउने, मान्छे तथा अन्नबाली र घरगोठको पनि संरक्षण गर्ने उपाय खोजी गर्ने सरकारको योजना सकारात्मक छ । त्यसको कार्यान्वयनको लागि आवश्यक योजना निर्माण र लगानीको खाँचो छ ।
भारतको आसामदेखि नेपालको कोशी टप्पुसम्म हात्ती हजारौं वर्षदेखि आवतजावत गर्दै आएको विज्ञहरु बताउँछन् । हात्तीले आफूले विगतमा प्रयोग गर्दै आएको परम्परागत बाटो नै प्रयोग गर्ने बताइन्छ । हात्ती हिँड्ने त्यो परम्परागत बाटो क्षेत्रमा अहिले मानब बस्ती छ । हात्ती आफ्नो परम्परागत बाटोमा हिँड्दा बस्ती बिचमा पर्ने भएपछि मानिससँग द्वन्द्व हुने गरेको छ । अर्कोतिर जंगलमा हात्तीले खाने कुनैपनि आहाराजन्य वनस्पती नभएको कारण भोकाएको हात्ती बस्तीमा अन्नवाली खोज्दै आउने गरेको बताइन्छ । त्यसैले मानब हात्ती द्वन्द्व समाधान गर्न एकातिर जंगललाई हात्ती बाँच्ने आधारको रुपमा विकास गर्नुपर्ने खाँचो छ भने अर्कोतिर मानब बस्तीमा पसेका हात्तीलाई नखेदाउने र नजिस्काउने चेतना फैलाउन जरुरी छ । हात्तीलाई नखेदाउने र नजिस्काउने हो भने मानिसमाथि आक्रमण नगर्ने विज्ञहरु बताउँछन् । हात्तीले गरेको घरगोठ र अन्नबालीको क्षतिमा भने सरकारले सतप्रतिशत क्षतिपूर्ती दिनुपर्छ । त्यसो हुनसक्यो भने मानिस र हात्ती दुबैको सुरक्षा हुनसक्छ ।
हात्तीलाई लखेटेर नियन्त्रण गर्न सकिन्न भन्ने तथ्य वितगदेखि अहिलेसम्मका अनुभवबाट स्थापित भइसकेको छ । त्यसैले अब हात्तीसँग मिलेर बस्ने वातावरण तयार गर्नुपर्छ भन्ने सरकारको दृष्टिकोण सहि छ । तर, हात्तीसँग मिलेर नागरिक बस्ने वातावरण बनाउने जिम्मा भने सरकारकै हो । जंगलमा हात्तीको आहाराजन्य वनस्पती लगाउने हो भने हात्तीले बस्तीमा पसेर अन्नबाली नष्ट गर्ने क्रम कम हुनेछ । अर्कोतिर हात्तीले गरेको क्षतिमा तत्काल नागरिकले क्षतिपूर्ती पाउने ज्ञारेन्टी सरकारले गरेमा मानिस हात्ती लखेट्न नजाने अवस्था बन्नेछ । जसले मानब–हात्ती द्वन्द्व न्युनिकरण भएर दुबै पक्षको क्षति हुने अवस्था आउनेछैन । नागरिकको माग पनि क्षतिपूर्ती पाउनुपर्ने, जंगल जनावरमैत्री हुनुपर्ने, बालीको सुरक्षा र घरसहित मानवीय जीवनको सुरक्षा हुनुपर्ने नै छ ।
कोशी प्रदेशमा हात्तीबाट पीडित भएका ३ सयभन्दा धेरैले एक करोड २२ लाख रुपैयाँ भन्दा बढी क्षतिपूर्ति अझै पाउन सकेका छैनन् । वन्यजन्तुले गरेको क्षतिमा संघीय सरकारले क्षतिपूर्ती दिने गरेको छ । अर्कोतिर आफ्नो नाममा जग्गाजमिन नभएका सुकुमबासी परिवारले त क्षतिपूर्तीको निवेदन नै दिन नपाउने अवस्था छ । अब यो अवस्था अन्त्य हुनुपर्छ । जंगली जनावरको आश्रयस्थल र आहारामाथि मानवीय आक्रमण भएको निश्कर्षमा पुगेको सरकारले त्यसको समाधानको लागि काम गर्नुपर्छ । यात्रा एक साताको प्रचारमा सीमित हुनुहुँदैन । सरकारको आगामी योजना र बजेटमा त्यसलाई सम्बोधन गर्नुपर्छ । अनि मात्र सरकारले लाखौं खर्चेर गर्ने यस्ता यात्रा, अध्ययन, अनुसन्धान र प्रतिवेदनको अर्थ हुनेछ । अध्ययन, अबलोकन, सस्तो लोकप्रियता र अनुभवमा यो यात्राको गन्तब्य टुंगिनु हुँदैन ।