अध्यक्ष ओलीले भने, ‘एमाले सरकार फेर्ने खेलमा छैन’

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले सरकार फेर्ने र बदल्ने खेलमा नलागेको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै ओलीले एमाले मिसन ८४ मा लागेको बताएका हुन ।

‘राष्ट्रियता कमजोर भयो । सुशासन र विकास कमजोर भयो जनतामा निराशा पलायो । काम राम्रो गरेर निराशालाई आशामा बद्लनका लागि पनि हामीले मिसन ८४ भनेका हौ,’ उनले भने ।

अध्यक्ष ओलीले काँग्रेस प्रति आक्रोश व्यक्त गर्दै काँग्रेसले सरकार सत्तामा पुग्ने र टिकाउने खेलमा मात्रै लागेको आरोप लगाए । ‘तपाइहरूले खोजे जस्तो छैन । पहिलाको जस्तो काँग्रेस तपाइहरूले खोजेर भेटिँदैन । काँग्रेसमा त्यो प्रकारको सोच विचार पनि छैन’ उनले भने ।

उनले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिएका छन् । ‘यो खरानीको डल्लो हो उनले भने सुको भने पनि फुट्छ भिजो भने पनि फुट्छ,’ उनले भने । काँग्रेसले विधान संशोधन गर्ने भनेर महासमितिबाट पास गरेको छ नि भन्ने अर्को प्रश्नमा अध्यक्ष ओलीले यतिकै काँग्रेसले ब्याक फायर गरेको बताए । ‘संविधान संशोधन गर्नका लागि कुन कुन विषयमा केमा, केका लागि भन्ने कुरा चाहिने,’ उनले भने, ‘उसको ८७ सिटले संविधान संशोधन हुन्छ ?’

प्रतिगमनका लागि काँग्रेसलाई साथ दिन नसकिने उनको भनाइ छ । काँग्रेस प्रतिगामी सोचमा अगाडी बढीरहेको उनको आरोप छ । उनले भ्रष्टाचार र विभिन्न मुद्दामा जोडिएका मन्त्रीहरूले राजीनामा दिनु पर्ने बताए । अदालतमा झन्डा हल्लाएर मन्त्रीहरू बयान दिन जाने अनि आएर धाक लगाउने गरेको ओलीको भनाइ छ । शेरबहादुर तामाङ, गोकुल बास्कोटा, हरि पराजुलीलगायतले सामान्य मुद्दामा कुरा उठेपछि राजीनामा दिएको भन्दै उनले अहिलेका मन्त्रीहरूले पनि राजीनामा दिनु पर्ने बताए ।

बुधबार, १६ फागुन, २०८०, दिउँसोको १२:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर