सहकारीमाथि छानविन आवश्यक

 सम्पादकीय

विराटनगरसँग सिमाना जोडिएको मोरङको कटहरी गाउँपालिकामा सरकारले करोडौं खर्चेर तरकारी बजार निर्माण गरेको छ । तरकारीको थोक तथा खुद्रा बजार सञ्चालन गर्ने उद्देश्यले तरकारी बजारको संरचना निर्माण भएको भएपनि तरकारी बजार भने सञ्चालन हुने अझै सकेको छैन । त्यो संरचनामा तरकारी बजार सञ्चालन गर्न प्रदेश सरका र स्थानीय सरकार असफल भएका छन् । तरकारी बजार सञ्चालन हुन नसकेको त्यहि संरचनालाई आधार बनाएर सहकारी संस्थाहरुको एक करोडभन्दा बढि रकम भने हिनामिना भएको आशंका बढेको छ । तरकारी बजार सञ्चालन गर्ने भन्दै गठन भएको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघले सहकारी संस्थाहरुको रकम संकलन गरेर अलपत्र पारेको छ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका रमेश पोखरेलको अगुवाइमा खुलेको संघमा ३३ वटा सहकारी संस्थाहरुले गरेको १ करोड ३ लाख ८४ हजारभन्दा धेरै रकम अलपत्र बनेको हो ।

अध्यक्ष देबेन्द्र पौडेल र सचिव राकेश दाहाल रहेको सहकारी संघले तरकारी बजार त सञ्चालन गर्न सकेन नै शेयर पुँजी पनि ‘बाढीले डुबाएको’ जवाफ शेयरधनीहरुलाई दिने गरेको छ । २०७७ असारमा स्थापना भएको सो सहकारीले तरकारी बजार जिम्मा लिएको केहि महिनापछि २०७८ कार्तिक ३ र ४ गते विराटनगर र आसपासमा बेमौसमी वर्षापछि बाढी आएको थियो । सो बाढीको पानी गोदाममा पसेको र त्यहाँ राखेको लाखौं मूल्यको प्याज डुबेर कुहिएको दावी सहकारीका सञ्चालकहरुले गर्दै आएका छन् । गोदाममा बाढी पसेको सत्य भएपनि गोदाममा ९० हजार किलो प्याज रहेको र ३ दिनमै त्यो प्याज कुहिएर काम नलाग्ने भएको सहकारी संघ सञ्चालकको दावी पत्याउने आधार देखिएको छैन । सहकारीका अध्यक्ष र सचिवसहित पदाधिकारीले शेयर पुँजीको रकम हिनामिना गरेको आशंका सदस्यहरुले गर्दै आएका छन् । सहकारीको समस्याबारे अध्ययन गर्न गठन भएको लेखा सुपरिवेक्षण समितिले पनि गोदाममा ९० हजार किलो प्याज भएको र तीन दिनमा सबै कुहिएको दावी पत्याउने आधार नभएको प्रतिवेदन दिइसकेको छ । तर, सहकारीका सञ्चालकमाथि नियमाक निकायले कुनै कार्वाही चलाएका छैनन् ।
सर्वसाधारणले बचत गरेको रकमबाट सहकारीहरुले विशिष्टिकृत संघको शेयर खरिद गरेका थिए ।

संघबाट छोटो समयमा नाफा दावी सञ्चालकहरुले गरेका थिए । तर, आज न सहकारीको हिसाबकिताव सञ्चालकले देखाएका छन् न त साधारणसभा नै भएको छ । उल्टै शेयर पुँजी नै बेपत्ता भएको छ । सहकारीको ‘प्याज डुबेर’ नभइ अध्यक्ष र सचिवले मनपरी गरेको खुलासा भएको सहकारीका शेयर सदस्यहरुले बताएका छन् । प्याज डुबेर लाखौंको क्षति हुँदा शेयर सदस्यहरुलाई तत्काल जानकारी नदिनु र २ महिनापछि मात्र प्रहरीमा क्षतिको यकिन गर्न निवेदन दिनुले सहकारीको रकम हिनामिना भएको आशंकालाई बल दिएको छ । तीन दिन विद्युत आपूर्ति बन्द हुँदा भण्डारणमा रहेको सबै प्याज कुहिएर क्षति हुने संभावना नभएको विषय सुपरीवेक्षण समितिले पनि औल्याएको छ । वर्षाका कारण आएको बाढीबाट भएको क्षतिको यकिन गर्न ६७ दिनपछि मात्रै वडा प्रहरी कार्यालयमा सहकारी संघको निवेदन जानु र त्यसैका आधारमा प्रहरीले मुचुल्का बनाउनु पनि रहश्यमय देखिएको छ ।

सहकारीले यत्रो कारोबार गर्दा पनि सहकारी ऐन र नियमावली, मापदण्ड र प्रचलित लेखा प्रणाली अनुसार अभिलेखीकरण नगरेको पाइएको छ । सहकारीले बाढीले त्यति ठूलोमात्रामा क्षति गर्दा पनि सञ्चालक समितिको बैठक नबोलाएको, विशेष सधारणसभा नगरेको तथा बजारमा रहेको असुल गर्नुपर्ने उधारो रकमसमेत नउठाएको देखिएको छ । अझ सञ्चालक समितिको निर्णयबिना नै ४ लाख रुपैयाँ लगेको पाइएको छ भने सहकारी संघ र को–मार्टको बीचमा भएको भाडा सम्झौता अनुसार भाडा उठाउनुको साटो हचुवाको भरमा उल्दै ५ लाख ६८ हजार रुपैयाँ दिएको देखिएको छ । त्यसैले संघका जिम्मेवार पदाधिकारीले हदैसम्मको गैरजिम्मेवार कार्य गरि लापरवाही गरेको सुरपरीवेक्षण समितिले ठहर गरेको छ । अध्यक्ष र सचिवले अख्तियार दुरुपयोग गरि रकम अपचन गरेको लेखा सुपरिवेक्षण समितिको निश्कर्ष छ । १ करोड २३ लाख ७५ हजार रुपैयाँ शेयरपूँजीमध्ये सहकारीको नाममा अहिले राष्ट्रिय सहकारी बैंकमा १९ लाख ९० हजार १५५ रुपैयाँ मात्रै रहेकोले बाँकी रकम असुल गर्न सञ्चालकमाथि अनुसन्धान र कार्वाही हुनुपर्छ ।

बुधबार, १६ फागुन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर