शान्ति गुरुङ पाख्रिन
सर्वप्रथम नमस्कार ।
हुन त तपाईं र मेरो प्रत्यक्ष अहिलेसम्म भेट भएको छैन । अहिलेसम्म दुईपटक फोनमा सम्वाद चाहिँ भएको हो । एकपटक तपाईंको गाउँमा, अर्को पटक चुनाव जित्दा । हुन त तपाईं र मेरो राजनीतिक आस्था पनि फरक छ । तर, हाम्रो लक्ष्य भने एउटै हो । देशको विकाश गर्ने, जनतलाई नेपाली हौं भनेर गर्वको साथ भन्ने वातावरण बनाउने । आजभन्दा दुई वर्ष अगाडि पहिलोपटक तपाईंको गृह जिल्लामा म जाँदै थिए, भोजपुर मेरो लागि अत्यन्तै नौलो ठाउँ थियो । तत्कालीन प्रदेश नम्बर १ को मुख्यमन्त्रीज्युहरु कमरेड शेरधन राई र कमरेड राजेन्द्र राई दुबै जना मेरो आदरणीय अग्रज दाईहरुको जिल्ला भएको कारण पनि मलाई जान मन लागेको ठाउँ थियो । त्योबेला तपाईं र शेरधन दाईको चुनावको लागि टिकट कसले पाउने हो भनेर दौडधुप थियो । एक प्रकारले तपाईंको चाहिँ टिकट फिक्स भएको भन्नेकुरा बजारमा आइसकेको थियो । तपाईंभन्दा म शेरधन दाईसँग निक्कै नजिक थिएँ । उहाँसँग धेरै कामहरु गरिसकेको थिएँ । उहाँकै पालामा म मुख्यमन्त्री कपको कोषाध्यक्ष भएर पनि काम गरिसकेकोले मलाई उहाँको बारेमा प्रायः सबै थाहा थियो । म तपाईंको बारेमा जान्न अत्यन्तै उत्साहित थिएँ ।
जब म धरानबाट ट्याक्सी चढेर उकालो लाग्दैथिएँ, मसँग अन्य ९÷१० जना यात्रीहरु पनि थिए । तर, म कोहीसँग पनि परिचित थिइनँ । मेरो छेउमा एक युवा अन्दाजी २५÷२६ को हुनुपर्छ झट्ट हेर्दा विदेशबाट आएको जस्तो देखिन्थ्यो, मैले मुख फुटाएर सोधे– ‘भाइ कहाँसम्म जानुहुन्छ ?’ उसले भन्यो, ‘भोजपुर बजार जाने हो दिदी ।’ काठमाडौंबाट आउनुभएको हो भन्ने प्रश्नमा उसको जवाफ थियो, ‘हैन, मलेसियाबाट ६ वर्षपछि गाउँ फर्केको हो ।’ ओहो ! ६ वर्षपछि ? भन्ने मेरो प्रश्नमा उसले भन्यो, ‘हो, दिदी म सुदन दाईलाई भोट हाल्नको लागि नै मलेसियाबाट आको । भोट हालेर जान्छु ।’ त्यो सुन्नेवित्तिकै मैले जान्न र बुझ्न खोजिरहेको कुरा निकाल्न मलाई गा¥हो भएन । मैले पुनः सोधे, ‘भाई सेरधन दाई पनि उठ्नुभएको छ नि । सुदन दाईलाई नै भोट किन ? उसले भन्यो, ‘सुदन दाई भनेको जतिसुकै बेला जनताको साथमा हुन्छन्, उनले धेरै सहयोग गर्नुहुन्छ हामीलाई । विराम लाग्दा होस्, मर्दापर्दा सघाउनु हुन्छ । बाटोमा हिँड्दा पनि के कस्तो छ कान्छा भनेर सोधखोज गर्नुहुन्छ । बुढापाकालाई माया गर्नु हुन्छ । हामी सबैलाई माया गर्नुहुन्छ । जोसँग नि मज्जाले बोल्नुहुन्छ । त्यसैले उनैलाई भोट दिने ।’
यत्तिकैमा छेउमा बसेका एक जना बाजेले भन्नुभयो, ‘म चाहिँ एमाले हो । सुर्यलाई भोट हालेको । तर, शेरधनलाई भेट्न मुस्किल पर्छ । यो पटक चाहिँ सुदनलाई भोट दिन्छु ।’ अर्को साथीले थपे, ‘सुदन त गाउँघरमा काम पनि सघाउनुहुन्छ, केही गर्ने पनि लाज मान्दैनन् ।’ यो सबै वार्ता सुनिरहेको चालकले फेरि थप्यो, ‘म सत्य बोल्छु, गाडी चलाईरहेको छु । झुट बोलेको भए मरिजाम । सुदन भनेको सिट पुगेन भने पनि लास्ट सिटमा कोचिएर मेरो ट्याक्सीमा रमाइलो गर्दै भोजपुर जाने मान्छे हो । कहिल्यै ठूलो हुदैन, शेरधनले कहिल्यै बोलाएनन् र चिनेनन् । यो पटक भोट सुदनलाई नै दिन्छु ।’
गाडीका सबै भोजपुरका यात्रु सुदन दाईकै गुणगान गाउँदै थिए । मलाई पनि सुदन कस्तो होला भनेर बुझ्न मन लाग्यो । उहाँहरुसँग नै नम्बर लिएर भोजपुर बजारमा झरेपछि फोन गरें । फोन उठेन । पछि कलव्याक आयो । परिचय भयाो । उहाँ बजारबाट धेरै टाढा गाउँमा भएको कारण भेट हुन सकेन । शेरधन दाईलाई पनि फोन गरेँ । उहाँ टिकटको लागि काठमाडौंमा भएको जानकारी पाएँ । यो विगतको स्मरण हो ।
हिजोआज मन्त्री सुदन किराँतीले मन्त्रालयमा पोचा लाएको, चियाचमेना पसलहरुमा रिवन काटेको भिडियो सार्वजनिक भएपछि आलोचना गर्नेहरु धेरै देखिन्छन् । विभिन्न टिकाटिपणी बजारमा आउन थालेको छ । के मन्त्रीले पोचा लाउनु हुदैन र ? जनताको चिया चमेना पसल समुद्घाटन गर्न जान नहुने हो र ? हिजो पनि आफ्नो काम आफैं गर्ने मान्छे, आज मन्त्री भएपछि काम नै गर्नु हुन्न ? हामी जनता नै उस्तै छौं । जनताको काममा र बोलाएको ठाउँमा गएनौं भने पनि हामीले भोट हालेर जिताएको अहिले आएन, ठुलो मान्छे भयो, त्यसलाई पखोस्, अर्को चुनवमा देखाउनुपर्छ भन्छौं । आउँदा पनि चिया चमेना पसलको रिवन काट्न पनि आउँछ, सस्तो मन्त्री भन्छौं ।
मलाई लाग्छ, तपाईंमा काम गर्ने इच्छाशक्ति मन्त्री भएर आएको होइन । तपाईं काम गर्ने जोसजाँगर तथा जनताको सेवा गर्ने उत्प्रेरित हृदयबाट भएको मान्छे हो । कसैलाई देखाउन भाइरल हुनुभन्दा पनि हामीले काम गर्दा अरुले पनि आफ्नो काम आफैं गर्नुपर्छ भनेर सिकाउनु भएको हो । तपाई सकारात्मक सोच र उर्जा भएको उर्जावान नेता हो । तपाईं पैसाको लोभमा लाग्ने मान्छे भएको भए, यतिबेला तपाईं युकेमा हुनुहुन्थ्यो । यसैले म भन्छु, तपाईं हिजो जे हुनुहुन्थ्यो, त्यहि हुनुहोस् । जनताको काममा सदैव लाग्नुहोस् । बहालवाला मन्त्री हुँदैगर्दा त्यो तपाईं दाईभाइले चलाइरहेको ट्याक्सीको पछिल्लो सिटमा बसेर भोजपुर जानुहोस् । मन्त्री हुँदैगर्दा नै जनताको घरमा सुखदुःख बाढ्नुहोस् । ६ वर्षपछि तपाईंलाई नै भोट हाल्न आएको युवालाई भोजपुरमा आफ्नो परिवारसँग बसेर काम गर्ने वातावरण बनाउनुहोस् । किनभने तपाईं पहिलो सिँढी भनेको नै उहाँहरु हुन् । जसरी तपाईं माथि चढ्दा सिँढीको साथ लिनुभएको थियो, तपाईंलाई ओर्लदा पनि त्यो सिँढीको साथ चाहिन्छ । तपालाई मेरो शुभकामना !