एम्बुलेन्सबाट गाँजाको तस्करी, एक जना पक्राउ

विराटनगर । पछिल्लो समयमा सुनसरी र धनकुटाबाट ठूलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गर्दै आएको प्रहरीले एम्बुलेन्समार्फत पनि गाँजा तस्करी भएको फेला पारेको छ ।

यसअघि सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटारबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लुकाएर तस्करी भएको गाँजा बरामद गरेको प्रहरीले एम्बुलेन्सबाट पनि तस्करी भएको गाँजा बरामद गरेको हो ।

प्रहरीले शनिवार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट एम्बुलेन्सामा तस्करी भएको गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेल रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

एम्बुलेन्समा गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा एम्बुलेन्सभित्र ५२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसअघि भेडेटारबाट इन्धन बोक्ने टयाङ्करको चेम्बरमा लुकाएर ल्याउँदै गरेको करिब ६ क्विन्टल गाँजा प्रहरीले बरामद गरेको थियो ।

आइतबार, १३ फागुन, २०८०, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर