विराटनगरमा १३ करोड कर बक्यौता : कर नतिर्नेमाथि एक्सनपछि असुली बढ्यो

विराटनगर । विराटनगर महानगरपालिकामा ठूला व्यापारिक घरनाले नै करडौं रुपैयाँ कर नुबझाएको पाइएको छ । महानगरलाई विभिन्न करदाताले एक लाखदेखि एक करोडभन्दा बढी रकम बुझाउनुपर्ने देखिएपछि महानगर पनि एक्सनमा जान थालेको छ ।

महानगरपालिकाका अनुसार लाखदेखि एक करोडसम्म कर तिनुपर्नेमा चारतारे होटल, सिटी सेन्टर, पार्टी प्यालेस र विभिन्न संघसंस्था रहेका छन् । पवन राठीले विराटनगर–९ मा सञ्चालन गरेको सिटी प्यालेसले १ करोड रुपैयाँ बढी घरवहाल कर र सम्पती कर बुझाउनुपर्ने देखिएको छ । प्यालेसले स्थापना भएदेखिको महानगरपालिकालाई कर बुझाएको छैन ।

विराटनगर बसपार्कमा रहेको रत्ना होटलले पनि महानगरलाई तिर्नुपर्ने कर १७ लाख ५३ हजार २७३ रुपैयाँ बक्यौता रहेको छ । रत्ना होटलले व्यवसायिक कर ६ लाख र सम्पत्ती कर ११ लाख ५३ हजार २७३ रुपैयाँ महानगरपालिकालाई तिनुपर्ने देखिएको छ ।

यसैगरी हिमालय टाकिज प्रालिले ४१ लाख रुपैयाँ कर महानरपालिकालाई तिर्नुपर्नेमा बक्यौता रहेको छ । उसले महानगरको ताकेतापछि माघ २३ गते ५ लाख रुपैयाँ कर तिरेको छ ।

समयमै कर नतिर्नेमा विराटनगरको ठूलो होटलमध्येको बिग होटल पनि रहेको छ । बिगले ६ लाख ८८ हजार ९७ रुपैयाँ सम्पत्ती कर र ३ लाख ८० हजार रुपैयाँ व्यवसायिक कर तिर्नुपर्नेमा बक्यौता छ ।

समयमै कर नबुझाउनेविरुद्ध एक्सनमा उत्रने निर्णय महानगरले गरेपछि बिगले १० लाख रुपैयाँ कर तिरेको छ । विगको अझै १० लाख ६८ हजार ९७ रुपैयाँ कर बक्यौता छ ।

ठूला करदाताहरुले समयमै कर नबुझाएपछि विराटनगर महागनरपालिकाले उनीहरुको फोहर संकलन नगर्ने निर्णय गरेको छ । माघ २१ गते महानगरपालिकाले ९ वटा ठूला करदाताको फोहर नउठाउने निर्णाय गरेको थियो । उनीहरूबाट मात्रै २ करोड बढी कर उठ्नुपर्ने देखिएको छ ।

विराटनगर ११ मा रहेको होटल रत्ना र क्यासिनो, विराटनगर ९ को हिमालय टाकिज प्रालि, सिटी पार्टी प्यालेस, विग होटल, सप्तकोशी नर्सिङ होम, विराटनगर ७ मा रहेको होटल शोभा इन, सञ्जीवनी हस्पिटल, मोरङ व्यापार संघ र जैन भवनको फोहोर नउठाउने महानगरको निर्णय छ ।

फोहर नउठाउने निर्णाय भएपछि विग होटल, हिमालय हल, होटल शोभा, सप्तकोशी नर्सिङ होमले कर बुझाएका छन् । महानगरको यस्तो निर्णयपछि १ करोडभन्दा बढी कर संकलन भएको छ ।
विराटनगर महानगरपालिकाभित्र ६६ हजार २३२ जना करदाता रहेका छन् । जसमध्ये ४८ हजार ६ सय ७५ जना करदाताहरुले १३ करोड ४५ लाख ९५ हजार ३७७ रुपैयाँ ५० पैसाँ कर बुझाउनुपर्ने बक्यौता देखिएको महानगर राजस्व प्रमुख सरोजकुमार गौतमले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा ३८ हजार ९ सय ३८ जना करदाताहरुले २२ करोड १२ लाख १३ हजार ८० रुपैयाँ कर महानगरलाई तिरेका थिए । ‘ठूला र सचेत करदाताहरूले नै कर नतिर्ने विडम्बनापूर्ण अवस्था महानगरले व्यहोरिरहेको छ’ उनले भने, ‘पटक–पटक ताकेता गरेका छौँ । तर, पनि उहाँहरू कर तिर्न चासो देखाउनुहुन्न ।’

चालु आर्थिक वर्षको फागुन ८ गतेसम्म महानगरपालिकाले २७ करोड बढी कर संकलन गरेको छ । ८९ करोड कर उठाउने लक्ष्य लिएको महानगरपालिकाले अहिलेसम्म २७ करोड ४० लाख ७० हजार १९५ रुपैयाँ कर संकलन गरेको हो ।

महानगरले सबैभन्दा बढी एकीकृत सम्पत्ती कर ८ करोड ८ लाख ८८ हजार ६६३, व्यवसायिक कर ३ करोड ६६ लाख ५९ हजार १८४, बहाल कर ५ करोड २ लाख ८४ हजार ९६ रुपैयाँ संकलन गरेको छ । यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर १ करोड १५ लाख ५ हजार ४१० रुपैयाँ, नक्सापास दस्तुरबाट १ करोड २१ लाख १८ हजार ७५८ र अन्य दस्तुरबाट १ रकरोड ३३ लाख ३ हजार ३९० रुपैयाँ संकलन भएको अभिलेखमा देखिन्छ ।

ठूला करदातालाई अनुगमनको दायरामा ल्याउन समन्वय, छलफल र पत्राचार गरेर कर संकलन गरिएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बताए । ‘कतिपय सम्पर्कमा आएका छन् भने केहीले अझै आलटाल गरिरहेका छन्’ उनले भने, ‘करको दायारमा आउन सबैलाई हामीले पत्राचार गरेका छौँ । कर नतिरे पछि अप्ठ्यारो पर्नेछ ।’

बुधबार, ०९ फागुन, २०८०, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर