स्थानीय तहमा बेथिति : कतै मायाको चिनोमा अल्लोको कोट, कतै हस्ताक्षर किर्ते

विराटनगर । स्थानीय तहहरुका जनप्रतिनिधिहरुले कानुन र प्रक्रिया मिचेर मनपरी गर्ने गरेका गुनासो बेलाबखत आउने गरेको छ । कतै खेलकुदका नाममा त कतै विभिन्न तालिम तथा गोष्ठीका नाममा यस्ता मनपरी बजेट खर्च गर्ने र अनियमितता गर्ने गरेको गुनासो बेलाबखत आउँछ । स्थानीय तहरुले गर्ने अधिकांश कार्यक्रमका नाममा आफू अनुकूल खर्च गर्ने रोग पनि बढ्दै गएको पाइएको छ ।वराहक्षेत्र नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको मेयर कप फुटबल प्रतियोगितामा वडाध्यक्षहरुलाई मायाको चिनो बाँडियो । मायो चिनो थियो संखुवासभाबाट किनेर ल्याइएको अल्लोको कोट ।

उक्त प्रतियोगिता माघ १६ गतेदेखि सुरु भएको थियो । नगर खेलकुद विकास समितिको संयोजकमा वडा नम्बर ७ का वडाध्यक्ष कपिल आचार्य छन् । स्थानीय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर नगरपालिकाले प्रत्येक वर्ष मेयर कप फुटबल प्रतियोगिता गर्दै आएको छ । मेयर कपका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

वडाध्यक्षहरूलाई कोट बाँडिएपछि अहिले सामाजिक संजालमा खेलकुद विकास समिति र नगरपालिकाको चर्को विरोध भइरहेको छ । यता खेलकुद समितिका संयोजक समेत रहेका वडा अध्यक्ष आचार्यले भने मायाको चिनो दिँदा विरोध गर्न नहुने तर्क गर्छन् । ‘कार्यपालिका बैठकमा पनि सजिलो होस् भनेर नेपालमा उत्पादन भएको अल्लोको कोट ल्याएर मायाको चिनो स्वरूप दिएको हो,’ वडाध्यक्ष कार्कीले भने ‘भत्ताबाट सिलाएर लाउनुहोस् भनेर भनेको छु ।’ उनले मेयर उपमेयरलाई भने मायाको चिनो स्वरूप खुकुरी दिएको बताएका छन् । ३÷३ हजार रुपैयाँ खर्च दिएको उनले बताएका छन् । ‘सिसाको फ्रेममा पशुपति लगायतका अन्य क्षेत्रका मठ मन्दिरको तस्बिर दिनुभन्दा संखुवासभाका महिला दिदी बहिनीहरूले दुःखले बुनेको अल्लोको कपडा दिएका हांै,’ उनले भने खेलकुद विकास समितिका पदाधिकारीहरूले ब्रान्ड ट्र्याक सुट लगाऊ भन्दा पनि मैले मानिन । ’

राम्रो कामको चर्चा नभएको भन्दै उनले गुनासो गरेका छन् । धरानले बाहेक कसैले लिग फुटबल गर्न नसकिरहेको बेला आफूले गर्दा चर्चा नभएको उनको दुःखेसो छ । उनी सप्तकोशी युवा क्लबका अध्यक्ष पनि हुन् । ‘हामीले वसन्त ऋतु माविको खेल मैदानमा त्यत्रो लिग गरायौं । युवा कल्बबाट खेल्न ५÷६ जना आर्मीमा प्रवेश गरेका छन् । यस्ता कुरा चाहिँ कसैले बुझिदिँदैनन् । मायाको चिनोको विषयमा स्वदेशी उत्पादन दिँदा हाइलाइट गरेर चर्चा गरेको देख्दा अचम्म लागेर आउँछ’ उनले भने ।

उनले चाँडै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन् । प्रतियोगिता सकिनासाथ काठमाडौँ आउनु परेकाले सार्वजनिक गर्न नसकिएको उनले बताए । उनले केही दाताहरूबाट पनि सहयोग आएको बताए । कोट पाउने वडाध्यक्षहरूले पनि खुसी व्यक्त गरेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष रोहित काफ्लेले मायाको चिनो पाउँदा खुसी लागेको बताए । यस्तै ११ का वडाध्यक्ष कृष्णकुमार महतोले पनि मायाको चिनो दिँदा अनावश्यक हल्ला गर्नु गलत भएको बताए ।

यस्तै मोरङको बेलबारी नगरपालिकामा रहेको श्रमिक महिला समाजले बेलबारी नगरपालिकामा प्रशिक्षार्थीको किर्ते हस्ताक्षर गरेर रकम भुक्तानी माग गरेको पाइएको छ । श्रमिक महिला समूहले बेलबारी नगरपालिकामा पौष १६ गते महिला हिंसाविरुद्धको तालिममा सहभागीहरूको किर्ते हस्ताक्षर गरेको खुलेको हो । यो संस्थाको बेलबारी नगरपालिकाका १, ३, ८, ९, १० र ११ नं वडामा कार्यालयमा कार्यक्रम गरेको थियो ।

एक दिने उक्त तालिममा प्रशिक्षार्थीलाई यातायात तथा खाजा खर्च २०० रुपैयाँ दिएको किर्ते कागज र किर्ते हस्ताक्षर गरेर श्रमिक महिला समूहले बेलबारी नगरपालिकामा ११ हजार ४०० रुपैयाँ रकम भुक्तानी गर्न कागज पेस गरेको पाइएको हो । श्रमिक महिला समूहले किर्ते कागज पेस गरेको भन्दै पुस १६ गते भएको महिला हिंसा समबन्धिको कार्यक्रम गरेको थियो । बिजुली मालपोत टोल विकास संस्थाका ५७ जना प्रशिक्षार्थीहरूले बेलबारी नगरपालिकाका गत आइतबार मेयर दिलप्रसाद राइर्, उपमेयर नीतु थापा कोइराला र प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । भत्ता पनि नपाएको र हाम्रो हस्ताक्षर पनि नभएको भन्दै स्थानीय महिलाले विरोध गरेका हुन् ।

वडाले सहभागी पठाइदिनु भन्ने पत्र पठाएपछि सहभागी पठाइएको मालपोत टोल विकास संस्थाका अध्यक्ष चुणामणि अधिकारीले बताए । म वडामा व्यक्तिगत काम लिएर गएको थिए । त्यही कार्यक्रमको विल भरपाई प्रमाणित गरेर वडा सचिवले नगरपालिकामा पठाउन लाग्नु भएको रहेछ । मैले उपस्थिति र भत्ता बुझेको हस्ताक्षर हेरौँ भनेर हेर्दा हस्ताक्षर फरक देखिएपछि रोक्न लगाए उनले भने । अध्यक्ष अधिकारीले भत्ता दुई सय मात्रै भए पनि बेतिथि भएकाले खबरदारी गरेको बताए । यता बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले घटनाको छानबिन गर्ने बताए ।

बुधबार, ०९ फागुन, २०८०, दिउँसोको ०१:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर