सम्पादकीय
विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा हरेक वर्ष लाखौं खर्च गर्ने गरेको छ । नगरवासीले पनि फोहोर व्यवस्थापनमा महानगरको साझेदारलाई मासिक रकम बुझाउँछन् । तर, पनि महानगरको अवस्था सफाचट छैन । घरहरुबाट दैनिक फोहोर संकलन नै हुँदैन । महानगरको साझेदार रकम लिन महिना लाग्नसाथ आएपनि फोहोर लिन भने सातामा एक पटक मात्र आउँछ । जबकि हरेक दिन फोहोर संकलन गर्नुपर्ने हो । विराटनगर महानगरपालिकाबाट दैनिक सरदर ७० मेट्रिक टन फोहोर उत्सर्जन हुने गरेको छ । विराटनगरमा उत्सर्जन भएको फोहोर एक ठाउँमा डम्पिङ गर्ने बाहेक बाँकी काम नहुँदा फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ । फोहोर फालिएको क्षेत्रमा दुर्घन्धसहितका चुनौति छन् । जसले विभिन्न रोगको जोखिम बढाइरहेको छ । योबेला निःशुल्क फोहोर संकलन र व्यवस्थापन गरिदिने प्रस्ताव भने महानगरले थन्क्याएर राखेको छ । फोहोरबाट प्राकृतिक ग्यास उत्पादन गरी सवारी साधनमा सफल प्रयोग गर्दै आइरहेको एक कम्पनीले महानगरपालिकामा उत्पादन हुने फोहोर निःशुल्क संकलन र व्यवस्थापन गरिदिने प्रस्ताव गरेको छ । महानगरको लगानी बचत हुने र उल्टै रोयल्टीसमेत प्राप्त गर्नसक्ने गरी भेन्चर वेस्ट टु इनर्जीले गरेको प्रस्ताव अगाडि बढ्न नसकेको हो ।
विराटनगरमा तीन कम्पनीहरुमार्फत फोहोर संकलन गरी अव्यवस्थित रुपमा केशलिया नदी किनारमा डम्पिङ गर्ने गरिएको छ । फोहोर प्रशोधन गरि व्यवस्थापनि गर्ने २ दशक अघिदेखिको महानगरको प्रयास अझै सफल भएको छैन । सुनसरीको धरान उपमहानगरले पनि फोहोर व्यवस्थापनलाई उत्कृष्ट रुपमा अगाढि बढाएको छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर प्रशोधनको नयाँ परियोजना पर्खिएको महानगरले धरानमा सफल भएको कम्पनीको प्रस्तावलाई थन्क्याएर बसेको छ । एडिबीबाट परियोजनाको अध्ययन भइरहेको बहानामा वेस्ट टु इनर्जीसँग महानगरले छलफलसमेत गरेको छैन । वेस्ट टु इनर्जीले विराटनगर महानगरबाट उत्सर्जन हुने सबै फोहोर संकलन गरी प्रशोधन गरी ग्यास तथा कम्पोष्ट मल उत्पादन गर्ने र बढीमा २० प्रतिशत मात्र ल्याण्डफिल्डमा लैजाने प्रस्ताव गरेको छ । महानगरले आर्थिक दायित्व लिन नपर्ने र फोहोरबाट उत्पादन हुने ग्यास र मलबाट प्राप्त हुने आम्दानीबाट रोयल्टीसमेत दिने उसको प्रस्ताव छ ।
अहिले फोहोर संकलनमा कार्यरत जनशक्ति, सवारी साधन सञ्चालन खर्च, व्यवस्थापनका लागि अहिले निजी कम्पनीलाई उपलब्ध गराउँदै आएको खर्च बेर महानगरलाई नियमित आम्दानीको स्रोत थपिने प्रस्ताव अगाडि नबढाउनु अनौठो देखिएको छ । महानगरले भने विराटनगर १६ मा रहेको जग्गामा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न एसियाली विकास बैंकसमक्ष प्रस्ताव गरेको भन्दै बसिरहेको छ । महानगरले अन्तर्राष्ट्रिय दातृ निकायसँगको साझेदारी र सहयोगमा अरबौंको परियोजना बन्नसक्ने संभावना रहेकोले अन्य प्रस्ताव नरहेको बताएको छ । उता धरानमा भने भेन्चर वेस्ट टु इनर्जीको प्रशोधन प्लान्टले दैनिक उत्पादन हुने २२ टन फोहोर प्रशोधन गर्दै सिएनजी (कम्प्याक्ट नेचुरल ग्यास) र कम्पोष्ट मल उत्पादन गरेर आम्दानीको ५ प्रतिशत रोयल्टीसमेत धरान उपमहानगरलाई बुझाउँदै आएको छ ।
कम्पनीले उत्पादन गरेको ग्यास धरानका २५ वटा अटोले नियमित प्रयोग गर्दै आइरहेका छन् । कम्पनीले प्रतिकेजी १३० रुपैयाँका दरले बिक्री गर्ने ग्यासबाट अटोमा ४० किलोमिटर तय गर्न सकिने बताइन्छ । अब छिट्टै ४०० वटा सवारी साधन सिएनजीबाट सञ्चालन गर्ने तयारी कम्पनीले अगाडि बढाएको छ । यो अवस्थमा एसियाली विकास बैंकसँगको प्रस्ताव अगाडि नबढ्ने अवस्था हो भने महानगरले विकल्प खोज्नुपर्छ । तीन वर्षदेखिको अलमललाई किनारा लगाएर महानगर महानगरवासीको दुःख समाधान गर्नुपर्छ ।