विराटनगर । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । काठमाडौंमा जारी पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो ।
माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।
सम्मेलनको अन्त्यमा निर्णय सुनाउँदै अध्यक्ष प्रचण्डले १९९ जनाको केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट चुन्ने बताएका छन् । यस्तै पदाधिकारी भने केन्द्रीय समितिबाट चुनिने छ । केन्द्रीय समितिको एक तिहाई पोलिटब्युरो र ११ जनाको कार्यालय बनाउने निर्णय पनि अधिवेशनले गरेको छ ।
अब स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन हुनेछ । प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने भन्नेमा सबै एक ठाउँमा भएपनि पदाधिकारी पनि प्रत्यक्ष ढंगले सिधै चयन गर्ने भन्नेमा भने थप छलफल गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताएका थिए ।
बिधान अधिवेशनले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने बताएका हुन् ।
आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ । त्यहाँबाट संठन निर्माण गर्ने पहल गर्ने भन्दै प्रचण्डले साथमा केन्द्रीय नेताहरु र सांस्कृतिक टीमसमेत रहनेछ ।
त्यसैगरी हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने छ । उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुनेछ ।
अधिवेशनमा तत्काल पार्टीको नाम र चुनाव चिह्न फेर्ने सुझाब आएको भएपनि तत्काल नफेरिने भएको छ । विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने बताएका हुन् ।
मङ्गलबारदेखि काठमाडाौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ र बिहीबार ७ समूहले बाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत गरेका थिए ।