विराटनगर । विराटनगर भन्सार कार्यालयले बेरुजुको रकम अंक बढ्दै गएपछि फर्छ्यौट अभियान चलाएको छ । अभियानअन्तर्गत पुराना कारोबारका प्रज्ञापनपत्रबाट थप राजस्व असुल भन्सारले असुल गर्न थालेपछि उद्योगी व्यवसायी भने अनावश्यक दुःख पाएको गुनासो गर्न थालेका छन् ।
भन्सारले महालेखाले बेरुजु ठहर्याएका पुराना कारोबारबाट राजस्व असुली गरिरहेको छ । त्यस्तै आन्तरिक लेखा परीक्षणबाट बेरुजु देखिएका कारोबारबाट पनि राजस्व असुल गरेको जनाएको छ ।
कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार बेरुजु फर्छ्यौट अभियानबाट ३ करोड ५० लाख रुपैयाँ राजस्व असुली भएको छ । महालेखाको प्रतिवेदनमा कार्यालयले ४५ करोड रुपैयाँ बेरुजु फर्छ्यौट गर्नुपर्ने देखाएको ढकालले जानकारी दिए । यो रकम आर्थिक वर्ष २०६९–७० देखि हालसम्मको हो ।
अहिलेसम्म भन्सार कार्यालयले विभिन्न उद्योग र प्रतिष्ठानका ५११ वटा निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) बन्द गरिदिएको छ । बेरुजु भएका फर्मका एक्जिम कोड बन्द गरि तिनलाई आयात निर्यात कारोबारमा रोक लगाइएको हो ।
विराटनगर भन्सार कार्यालयमा २ हजार ४०० एक्जिम कोड दर्ता छन् । तीमध्ये १ हजार २०० एक्जिम कोडबाट आयात र निर्यात भइरहेको छ । संवैधानिक निकाय महालेखाको प्रतिवेदन कार्यान्वयनमा गर्नैपर्ने भएकोले बेरुजु फर्छ्यौटमा सक्रिय भएको भन्सार प्रमुख ढकालको भनाइ छ । महालेखाले लेखेको बेरुजु सम्बन्धित सरकारी निकायले जुनसुकै समयमा पनि असुलउपर गर्नसक्ने उनको भनाइ छ ।
व्यवसायीहरूले भने ५ वर्षपहिलेका फाइल खोलेर सरकारी निकायले राजस्व असुल गर्न नपाइने जिकिर गरिरहेका छन् । भन्सार प्रमुख ढकाल भने महालेखाले बेरुजु देखाएको रकम सम्बन्धित व्यक्ति, फर्म र औद्योगिक प्रतिष्ठानका सञ्चालकका सन्तानसित पनि असुलउपर हुने दावी गर्छन् ।
भन्सार कार्यालयले बेरुजु फर्छ्यौट गर्न नसके एक्जिम कोडका आधारमा आन्तरिक राजस्व कार्यालयबाट असुल गर्ने जनाएको छ । भन्सार कार्यालयले बेरुजु फर्छ्यौटको अभियान चलाएर व्यवसायीलाई नै सजिलो बनाएको उनले बताए
बेरुजुको रकम व्यवसायीका नाममा सरकारी बाँकी सरह रहिरहेको हुनाले सरकारले खोजेका बेला तिर्नैपर्ने भन्सार कार्यालयको भनाइ छ ।
व्यवसायीले छुट सुविधाको दुरुपयोग, वर्गीकरणमा चलाखी, मूल्यांकनमा चलखेल र भाडा तथा बिमाको रकम कम उल्लेख गरि राजश्व छलेको भेटिएकोमा महालेखाले बेरुजु देखाएको हो । आर्थिक ऐनले कम्प्युटरको २३ इन्च सम्मको मोनिटरमा भन्सार महसुल ५ प्रतिशत छ र २३ इन्चभन्दा बढीमा २० प्रतिशत तोकेको छ । कतिपय आयातकर्ताले २३ इन्चभन्दा बढीका मोनिटरको आयातान प्रज्ञापनपत्र २३ इन्चका मोनिटरको भरेर छली गर्ने गरेको भन्सारको भनाइ छ ।
यसरी आयातकर्ताले एक प्रकारको मालवस्तुको आयात गरेर त्यही वर्गको तर अर्को आकारप्रकारको मालवस्तुको एचएस कोड प्रज्ञापनपत्रमा उल्लेख गरेको देखिएको भन्सार प्रमुख ढकाल बताउँछन् । आयातकर्ताले जानीजानी न्यून बीजकीकरण गरेर पनि भन्सार राजस्व छलेको देखिएको उनले बताए ।
भन्सार कार्यालयले बेरुजु फर्छ्यौटका लागि व्यवसायीलाई सुरुमा १५ दिनको म्याद दिएर पत्राचार गरेको सुरुमा छ । सो अवधिमा राजस्व नबुझाउनेलाई दोस्रो पटक ७ दिने पत्र पठाइने र त्यति गर्दा पनि राजस्व नबुझाए एक्जिम कोड नै बन्द गर्ने गरेको छ । एक्जिम कोड बन्द गरिएका उद्योग वा प्रतिष्ठानले आयात तथा निर्यात गर्न पाउँदैनन् ।
हालसम्म ५११ वटा एक्जिम कोड बन्द भइसकेकोमा ८–१० वटाले राजस्व तिरेर फुकुवा गरेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले एक व्यवसायीसित ३७ लाख र अर्कासित २८ लाख बेरुजु राजश्व असुल गरेको छ ।
भन्सार कार्यालयको बेरुजु फर्छ्यौटसम्बन्धी पत्रमा चित्त नबुझे व्यवसायीले निर्धारित राजस्वको २५ प्रतिशत धरौटी राखेर राजस्व न्यायाधिकरणमा जानसक्ने कानुनी व्यवस्था । यसअनुसार ४ व्यवसायी राजस्व न्यायाधिकरणकोमा गएका छन् ।
उद्योगी व्यवसायीले भने भन्सारको बेरुजु फर्छ्यौट अभियानलाई ‘जंगे कानुनको प्रयोग’ भन्दै आलोचना गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडाले भन्सार कार्यालयमा लक्ष्य अनुसारको राजस्व नउठेपछि जबर्जस्तीको शैली अपनाएको बताएका छन् । कानुनअनुसार ५ वर्षभन्दा पुरानो फाइल पल्टाएर राजस्व असुल गर्न नमिल्ने उनको जिकिर छ ।

