यो सरकारलाई हामीले बोक्न सक्ने अवस्था रहेन : उद्धब थापा

‘कोशी प्रदेशको राजनीति अस्तव्यस्त भयो नि । गठबन्धनले पनि थाम्न नसक्ने अवस्था भयो यहाँको राजनीति ।'

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेको विषयमा काँग्रेसमै तीब्र असन्तुष्टि चुलिएको छ । काँग्रेस संसदीय दलका नेता उद्धब थापाले दलले मुख्यमन्त्री कार्कीलाई लिएर हिंड्न नसक्ने बताएका छन् ।

उनले संक्षिप्त कुराकानीका क्रममा भने, ‘उहाँलाई हाम्रो दल तथा गठबन्धनले बोकेर जाने अवस्था भएन ।’ थापा मन्त्रीमण्डल विस्तारमा पूर्व मुख्यमन्त्रीको हैसियतमा सहभागी समेत भएनन् । यस्तै पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पनि सरकार विस्तारको विषयमा असन्तुष्टि जनाइसकेका छन् ।

थापाले मुख्यमन्त्रीले सरकार विस्तारबारे दलमा कुनै छलफल नगरेको बताए । ‘सल्लाह नगरिकन आफूखुसी मुख्यमन्त्रीले काम गर्नुभयो । त्यहाँ सहभागी हुन पनि मुख्यमन्त्रीबाट जानकारी भएन । त्यसले गर्दा खेरि म सहभागी हुन सकिँन,’ उनले भने, ‘कोशी प्रदेशको राजनीति अस्तव्यस्त भयो नि । गठबन्धनले पनि थाम्न नसक्ने अवस्था भयो यहाँको राजनीति । अस्ति राष्ट्रियसभा चुनावले पनि त्यो देखाएको हो । गठबन्धन पनि रहेन । सांसद आफ्नो मर्यादामा रहेनन् । स्थानीय तहका पनि इमान्दार भएनन् । त्यसले गर्दा यो गठबन्धनको कुरा चाहिं अन्यौल नै छ ।’

थापाले गठबन्धन नै भताभुंग भएको कारण सरकार अर्को बन्नसक्ने संकेत पनि गरे । ‘सरकार त के हुन्छ थाहा छैन । अब कुरा हुन्छ नेताहरुसँग । नेताहरुबाट के कुरा आउँछ । यसरी यस्तो तरिकाले मुख्यमन्त्रीले काम गर्नुभएको छ । त्यो काम गराई अनुसार अब दलले पनि गठबन्धनले पनि सहयोग, समर्थन गरेर जाने अवस्था भएन नि त । आफ्नो हिसावले काम गरिरहेका छन् । के के गर्नुपर्ने हो ? गठबन्धन दलसँग बस्नुपर्ने, सल्लाह गर्नुपर्ने कुनै पनि काम भएन नि त । अन्धाधुन्द अध्यादेश ल्याएको छ । मन्त्रीमण्डल विस्तार हुन्छ दलमा सल्लाह हुँदैन । सरकारले के गर्दैछ दललाई जानकारी छैन । गठबन्धनलाई जानकारी हुँदैन । त्यस्तो हिसावले त गठबन्धन आफ्नो ठाउँमा रहे पनि दलले सरकारलाई हेर्ने दृष्टिकोणमा फरक रहने अवस्था बन्यो अब,’ थापाले भने ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार दलले बनाएकै होइन स्वतन्त्र हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो नि । अनि दललाई किन सोध्नु पर्यो ? भन्ने प्रश्नमा थापाले भने, ‘त्यो ठिकै छ त । विद्रोह गरेरै उहाँ मुख्यमन्त्री बन्नुभएको हो । अरु पनि भोली कोही विद्रोह गरेर बन्न सक्छन् नि त । तर, सम्हालेर लानु पर्ने हो । उहाँ मुख्यमन्त्री हुनुभएको छ । उहाँले नै दललाई, गठबन्धनलाई सम्हालेर जानुपथ्र्यो । आफू सम्हालिएर काम जानुपर्छ । एकदमै बायुपंखी घोडाजस्तो दौडेको छ दौडेको छ । कसैसँग सल्लाह छैन । भनेको पनि मान्नेवाला छैन । मै हुँ भन्ने हिसावले काम गरेको देखियो । यसले उहाँलाई कति दिनसम्म सफल बनाउला हामी हेर्दैछौं ।’

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार (आज) ४ जना मन्त्री तथा दुई जना मन्त्री थप गर्दै मन्त्रीमण्डलको संख्या १० पुर्याएका छन् । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले सरकार विस्तार गरेका हुन् । जसमा स्वास्थ्य मन्त्रालयमा प्रदिपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ (राम) रहेका छन् ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयको पूर्ण जिम्मेवारी भने आफैंले राखेका छन् । नवनियुक्त मन्त्रीहरु सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम काँग्रेसका हुन् । उनीहरुमध्ये सुनुवार मात्रै काँग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीन जना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येकै हुन् । यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् । बरियतामा मुख्यमन्त्रीपछि प्रदिपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगू, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन् । गुरुङ दलित कोटाबाट समानुपातिक सांसद बनेकी हुन् ।

शुक्रबार, २६ माघ, २०८०, रातीको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर