चार महिनापछि सरकारलाई पूर्णता दिँदै मुख्यमन्त्री, यी हुन् मन्त्री बन्नेहरु

विराटनगर । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारलाई विस्तार गर्ने भएका छन् । आज ४ बजे मन्त्रिपरिषद् विस्तार गरि मन्त्रीहरुको सपथ राखिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री केदार कार्कीका अनुसार आजबाट सरकारले पूर्णता पाउनेछ । मुख्यमन्त्री कार्कीले आफूसँगै रहेका पाँच मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्री र अन्य चार मन्त्रालयमा मन्त्रि नियुक्त गर्न लागेका हुन् ।

माओवादी केन्द्रको भागमा परेको खानेपानी सिचाई तथा उर्जा मन्त्रालयमा नारायणबहादुर बुर्जा मगर मन्त्री बन्दैछन् । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचन सांसद मगर यसअघि पनि मन्त्री बन्ने चर्चा भएर पनि मन्त्री हुन पाएका थिएनन् ।

माओवादीको भागमा परेको सामाजिक विकास मन्त्रालयमा संखुवासभाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद राजेन्द्रकुमार कार्की मन्त्री बन्ने भएका छन् । कार्की यसअघि उद्धब थापा पहिलो पटक मुख्यमन्त्री बन्दा विनाविभागीय मन्त्री भएपनि अदालतको आदेशबाट सरकार ढलेपछि स्वतः पदमुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थय मन्त्रालयमा ओखलढुंगा क्षेत्र नं. १ का काँग्रेस सांसद प्रदिपकुमार सुनुवारलाई नियुक्त गर्ने भएका छन् । सुनुवार एक वर्षको अबधिमा तेस्रो पटक मन्त्री बन्न लागेका हुन् । उनी यसअघि उद्धब थापा मुख्यमन्त्री हुँदा दुबै पटक मन्त्री भएपनि अदालतको आदेशबाट मुख्यमन्त्रीसँगै पदमुक्त भएका थिए ।

प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयमा उदयपुरको २(२) का काँग्रेस सांसद रामकुमार खत्री नियुक्त हुनेछन् । उनी पनि यसअघि थापा नेतृत्वको सरकारमा केहि समय विनाविभागीय मन्त्री भएका थिए ।

मुख्यमन्त्री कार्कीले धनकुटाकी प्रदेश सांसद इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रालय आफैंसँग राखेर मुख्यमन्त्रीले काँग्रेसकी समानुपातिक सांसद थापालाई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।

हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् । आज प्रदेश सरकार विस्तार भएसँगै मन्त्रिपरिषद ९ सदस्यीय हुनेछ ।

नेकपा एमालेको सहयोगमा काँग्रेसका ८ सांसदको हस्ताक्षरबाट असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २८ गते सपथ लिएका थिए । सो दिन एमालेका रामबहादुर मगर र काँग्रेसका शमशेर राईलाई मन्त्री बनाएका थिए ।

कार्कीले मंसिर १७ गते सरकारमा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जबेगूलाई मन्त्री नियुक्त गरेपछि एमालेका मगरले राजिनामा दिएर बाहिरिएका थिए । त्यसयता मुख्यमन्त्रीले पटक–पटक सरकार विस्तारको मिति तोक्दै सार्दै आएका थिए ।

सरकारमा काँग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन, एकीकृत समाजवादीले एक र जसपाले एक मन्त्रालय लिने गठबन्धनबीच सहमति छ । त्यसअनुसार सरकारलाई पूर्णता दिन लागेका मुख्यमन्त्री कार्कीले जसपाले तत्काल सरकारमा नआउने बताएकोले सो मन्त्रालयमा पनि काँग्रेसबाटै मन्त्री नियुक्त गर्न लागेका हुन् ।

मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन साथ दिने काँग्रेसका तीन सांसदलाई मन्त्री बनाउँदा काँग्रेसको संस्थापन खेमाबाट भने सुनुवार मात्र मन्त्री बन्नेछन् । जसले गर्दा काँग्रेसभित्र चर्को असन्तुष्टि रहेको छ ।

शुक्रबार, २६ माघ, २०८०, दिउँसोको ०२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर