मुख्यमन्त्रीको अभिव्यक्ति ‘निच’ रहेको भन्दै फिर्ता लिएर माफी माग्न कर्मचारीको माग

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कर्मचारीको मानमर्दन हुनेगरि अभिव्यक्ति दिएको भन्दै त्यसलाई फिर्ता लिन कर्मचारी संगठनले माग गरेको छ ।

मुख्यमन्त्री कार्कीले केही दिनअघि कक्षाकोठामा पहिलो बेन्चमा बस्ने (फर्स्ट बेन्चर) साथी खरदार भएर भुँडी भर्न मात्र जाने भएपनि अन्तिम बेन्चमा बस्ने (लास्ट बेन्चर) आफू भने मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्रीको सो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको बेला नेपाल निजामती कर्मचारीको संगठन मोरङले त्यसलाई फिर्ता लिन माग गरेको हो ।

मुख्यमन्त्रीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको भन्दै संगठनले त्यसले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको बताएको छ । कलिला स्कुले बालबालिकालाई अगाडि राखेर मुख्यमन्त्रीले अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरू खरदार मात्रै हुन्छन् र पछिल्ला बेन्चमा बसेर लखुवागिरी गर्नेहरू मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्ति दिँदा बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ भन्ने प्रश्नसमेत विज्ञप्तिमा गरिएको छ ।

राजनीति गर्ने सबै व्यक्ति ब्याकबेन्च भएर लखुवा भै हिड्नेहरु मात्रै हुन् भन्ने प्रश्न गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि खरदार र सुब्बा मेहनत साथ लागेमा मन्त्री र मुख्यमन्त्री बन्नसक्ने भन्दै सक्छन्, तर तपाईँहरू यो जुनीमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक बन्न सक्नुहुन्न ।’

मोरङको सुन्दरहरैचामा रहेको साजिलाल माविको वार्षिकोत्सव कार्यक्रममा गत सोमबार दिएको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ती जनाएको हो । ‘म पनि क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हो, फर्स्टमा बस्नेले त केबल लेख्न पढ्न मात्रै जान्यो, कसरी लोकसेवा पास गर्ने र भुँडी भर्न मात्रै जान्यो’, मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘ऊ अहिले खरदार छ, म अहिले मुख्यमन्त्री छु ।’

नेपाल निजामती कर्मचारी संगठन मोरङले विज्ञप्ति निकालेर मुख्यमन्त्रीको अभिव्यक्ति योग्यता प्रणालीमा विश्वास गर्नेहरुप्रतिको कोरा, अपरिपक्क र हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरुको शीर निहुरिएको जनाएको छ । मुख्यमन्त्रीज्यूले व्यक्त गर्नुभएको विचार आफैंमा अपरिपक्व र उन्मादपूर्ण अभिव्यक्ति भएको विज्ञप्तिमा जनाइएको छ ।

मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ भन्दै संगठनले भनेको छ, ‘सबै तहका राष्ट्रसेवकहरु कुनै न कुनै तहको प्रतिस्पर्धापूर्ण परीक्षामा आफूलाई उत्कृष्ट सावित गरेर आएका हुन् ।’ भावावेशमा आएर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै त्यसलाई फिर्ता लिएर राष्ट्रसेवकहरुको आत्मसम्मानमा पुगेको चोटप्रति क्षमायाचना गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

बिहिबार, २५ माघ, २०८०, दिउँसोको ०३:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर