सम्पादकीय
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएको चार महिना पुरा हुन लागेको छ । असोज २७ गते मुख्यमन्त्री भएका कार्कीले चार महिना विताउन लाग्दा पनि अझै सरकारलाई पूर्णता दिएका छैनन् । कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय छन् । तर, कार्कीले अहिले पनि मुख्यमन्त्री कार्यालयसहित ६ मन्त्रालय आफैंसँग राखेका छन् । विभागीय मन्त्रीहरु नियुक्त नभएकोले मन्त्रालयका कामले गति लिएको छैन । मन्त्रालयका सचिवहरु कुनै निर्णय गर्नुपर्दा फाइल बोकेर मुख्यमन्त्री कार्यालय दौडनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर विभागीय मन्त्री नहुँदा मन्त्रालयको कामबारे गम्भीर छलफल पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरुबीच हुन सकेको छैन । मन्त्री नभएर मन्त्रालयको काममा असर नपरेको अभिव्यक्ति मुख्यमन्त्रीले दिँदै आएको भएपनि मन्त्रालयको काममा असर परिरहेको सचिवहरु नै बताउँछन् । मुख्यमन्त्रीले आफ्नो चासो रहेका बाहेक अन्य काम अगाडि बढाउन चासो नदिएको मन्त्रिबिहन मन्त्रालयका कर्मचारीहरुले नै बताइरहेका छन् ।
मुख्यमन्त्री कार्कीले यसअघि पटक–पटक सरकार विस्तार गर्ने मिति तोक्दै सार्दै आएका छन् । दर्जनौं पटक सरकार विस्तारको तयारी गरेको सूचना मिडियालाई दिएर उनले काम भने गरेका छैनन् । सरकारमा सहभागी दलहरुबीच सरकार विस्तारको सहमति भएर मन्त्री बन्नेहरुको नाम फाइनल भएको पनि धेरै भएको छ । मन्त्रीका आकांक्षीहरुले मन्त्रीको बधाई थापेको पनि धेरै भइसक्यो । तर, अझै नियुक्ति हुन पाएका छैनन् । मुख्यमन्त्रीको कार्यशैलीको कारण सरकारमा सहभागी दलहरु नै हैरान भइसकेका छन् । सरकार विस्तारमा ढिलाइ गर्नुमा उनको नियत के हो भन्ने प्रश्न उठ्न थालेको छ । सत्तारुढ गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेर काँग्रेसका ८ सांसद र एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले सबैको विश्वास गुमाउँदै गएका छन् । उनलाई मुख्यमन्त्री बनाउने एमाले गठबन्धनलाई सरकारमा सामेल गराएपछि उनीसँग रुष्ट छ । उनले आफ्नै दल नेपाली काँग्रेसमा पनि आफ्नो पोजिसन बलियो बनाउन सकेका छैनन् । सत्ता साझेदार दलहरु पनि उनीमाथि रुष्ट बन्दै गएका छन् । अरु त अरु उनलाई मुख्यमन्त्री बनाउन साथ दिएका काँग्रेसका ८ सांसद पनि उनीसँग असन्तुष्ट बन्दै गएका छन् ।
कार्कीले मुख्यमन्त्री भएपछि केही सकारात्मक काम सुरु गरेका छन् । प्रदेशका १० वर्षमुनीका बालबालिकको निःशुल्क उपचार, मुटुरोग उपचार केन्द्रको स्थापना, बजेटमा टुक्रे योजना कटौती उनका सकारात्मक सुरुवात हुन् । यद्यपी ती पनि विवादमुक्त र पूर्ण छैनन् । त्यसबाहेक प्रदेश सरकारबाट उल्लेखनीय काम हुन सकेको छैन । मन्त्री नियुक्त नभएकोले उद्घाटन, शिलान्यास र समापन जस्ता खुद्रे कार्यक्रममा उनको दौडधुप देखिन्छ । वडाको स्वास्थ्य शिविर समापनदेखि वडाले गर्ने सार्वजनिक सुनुवाइमा पुगेर चर्को भाषण उनको दिनचर्या बनेको छ । मुख्यमन्त्रीका एकपछि अर्को कार्यशैली र अभिव्यक्ति विवादमा पर्दै गएका छन् । सार्वजनिक मञ्चबाट उनले सबैलाई गाली बर्षाउने गरेका छन् । आफ्नो सामान्य आलोचना पनि नसहने उनको शैली नेतृत्व अभिभाबक बन्ने खालको नभएको भन्दै आलोचना भइरहेको छ । मुख्यमन्त्री भनेको नेतृत्व हो, अभिभावक हो । तर, त्यसअनुसार कार्कीले भूमिका निर्वाह गरेका छैनन् ।
केही दिन अगाडि मोरङको सुन्दरहरैँचास्थित एक विद्यालयको कार्यक्रममा त मुख्यमन्त्री कार्कीले आफ्नो मर्यादा र गरिमा नै विर्सिर जथाभावी बोलेका छन् । स्कुलका ट्यालेन्ट विद्यार्थी (फस्ट बेन्चर)हरू खरदार भएको तर आफू लास्ट बेञ्चर भएपनि मुख्यमन्त्री बनेको उनको दावीले मेहनतपूर्वक अध्ययन गर्ने विद्यार्थीको अपमान गरेको छ । ‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ । म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो’ भन्ने मुख्यमन्त्रीको अभिव्यक्तिले कर्मचारी (खरदार) को पनि अपमान गरेको छ । त्यति मात्र नभएर लाष्ट बेञ्चर मुख्यमन्त्री बन्छ भनेर उनले राजनीतिकर्मीको पनि अपमान गरेका छन् । आफू मुख्यमन्त्री भएकोमा दम्भसहित दिएको उनको अभिव्यक्तिले उनकै पनि अपमान भएको छ । यस्ता अभिव्यक्तिमा सुधार हुन आवश्यक छ । असल र कुशल नेतृत्वको विषेशता ‘कम बोल्ने र धेरै काम गर्ने’ हुुन्छ । कामभन्दा धेरै बोल्ने व्यक्तिले नेतृत्व गर्न सक्दैन भन्ने उदाहरण खोज्न पर्दैन । आमा बाबुकी श्रीमति हुन्, तर उनलाई आमा भनेर सम्बोधन गरिन्छ । बाबुकी श्रीमति भनिदैन । त्यसैले के बोल्ने र के नबोल्ने भन्नेमा सचेत हुनुपर्छ । कार्यशैलीमा सुधार गर्नुपर्छ ।