बिपीको कांग्रेस र हिन्दुराष्ट्र

  अनन्तराज न्यौपाने

नेपाली काङ्ग्रेसको महासमितिको बैठक नजिकिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको मुड बिग्रिएन भने फागुनको पहिलो हप्तामा महासमितिको बैठक सम्पन्न हुने निश्चित देखिन्छ । नेपाली काङ्ग्रेस बहुधा विधानतः भन्दा पनि नेतृत्वको मुड र सनकअनुसार चल्ने पार्टी हो । त्यसो त, धेरै वर्ष यस पार्टीले प्रतिबन्धित अवस्थामा र कठिन सङ्घर्षका पृष्ठभूमिमा आफूलाई गुजार्नुप¥यो । त्यस कालखण्डमा विधानको कुनै काम थिएन किनकि विधानका कुनै धारा र उपधारामा जेल जानुपर्ने, निर्वासनमा बस्नुपर्ने, सर्वस्वहरण हुने वा सहिद हुनुपर्ने लेखिएका थिएनन् । पार्टी खुला भएपछि भने विधानको परिपालन र कार्यान्वयन सबैबाट अपेक्षित विषय थियो । त्यसलाई सुरुदेखि नै मिच्ने, किच्ने र थिच्ने काम गरियो ।
झापाको कलबलगुडीमा सम्पन्न महाधिवेशनमा निर्विरोध अध्यक्ष चुनिएका कृष्णप्रसाद भट्टराईले एक वर्षभन्दा बढी समयसम्म केन्द्रीय समितिलाई पूर्णता दिएनन् । त्यसपछि पार्टीको नेतृत्व सम्हालेका गिरिजाप्रसाद कोइराला पनि विधानअनुसार कहिल्यै चलेनन् । यहीपरम्परालाई अहिलेका सभापति शेरबहादुरले निरन्तरता दिएका हुन् । त्यसैले फागुनमा हुने भनिएको महासमितिको बैठक हुन्छ कि हुँदैन भन्ने कुरा आजका दिनसम्म पनि अन्योलमा छ ।

सर्वज्ञात छ, २०७८ मंसिरमा भएको पार्टीको १४ औँ महाधिवेशन नीतिको महाधिवेशन हुन सकेन । यसबारे सर्वत्र आलोचना भयो । यसपछि पार्टी सभापतिले नीतिको महाधिवेशन छुट्टै हुने जानकारी गराए । तर विधानमा यस्तो व्यवस्था छैन । त्यसैले नीतिनिर्माणका लागि महासमितिको बैठकको प्रपञ्च गरिएको हो ।

यसैबिच काङ्ग्रेस नेता शङ्कर भण्डारीका संयोजनमा नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानलाई कांग्रेसमा एजेन्डा बनाउने योजना सुरु गरिएको छ । अभियानमा पूर्व सभामुख दमननाथ ढुङ्गानासमेत जोडिएका छन् । तर के यो एउटा लोकतान्त्रिक समाजवादी दलका लागि सुहाउँदो एजेन्डा हो ? के बिपी कोइरालाले स्थापना गरेको र हुर्काएको दलको एजेन्डा यस्तै हुनुपर्ने हो ? के यस एजेन्डाले मुलुकमा शान्तिस्थापना गर्ला ? आदि विषयमा भने कसैले बहस चलाएका छैनन् ।

मूलतः लोकतान्त्रिक देश भनेको धार्मिक राज्य होइन र कहिल्यै हुनसक्तैन । लोकतान्त्रिक मुलुकमा सबै धर्मले समान अवसर र स्वतन्त्रता पाउँछन् । यो नै लोकतन्त्रको मर्म र मूल्य हो । हरेक नागरिकलाई आफ्नो इच्छाअनुसारको धर्म ग्रहण गर्ने वा नगर्ने स्वतन्त्रता लोकतान्त्रिक मुलुकले मात्र उपलब्ध गराउँछ । तर धार्मिक राज्यमा यो सुविधा छैन । त्यसैले नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त, विचार र आदर्शका प्रणेता बिपी कोइरालाले २००३ सालमै यस पार्टीको एक सिद्धान्तका रूपमा धार्मिक स्वतन्त्रतालाई प्रतिपादन गरेका थिए । त्यस वेला बिपीले स्थापना गरेको पार्टी नेपाली राष्ट्रिय काङ्ग्रेसका ४ तारामध्ये एकको अर्थ धार्मिक स्वतन्त्रता थियो । पछि २००६ साल चैतमा नेपाल प्रजातन्त्र काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेसको एकीकरण भएर नेपाली काङ्ग्रेस बन्यो । त्यसपछि पनि चार तारे झण्डा नै कायम राखियो र एक ताराको अर्थलाई साबिकबमोजिम नै कायम गरियो । नेपाली कांग्रेसको अर्को सिद्धान्त हो समाजवाद । समाजवादमा धर्मको कुनै स्थान छैन । खासमा समाजवादी राज्यले धर्मको कल्पना पनि गर्दैन । त्यसैले एक असल समाजवादी पनि सधैँ धर्मनिरपेक्षताका पक्षमा हुन्छ ।

‘बिपी कोइरालाको डायरी (२००८–२०१३)’ पढ्ने कांग्रेसजन कति छन् म भन्न सक्तिन । तर यस डायरीमा बिपी कोइरालाले आफूले तनहुँको भिमाद भन्ने ठाउँमा भाषण गरेको विवरण लेखेका छन् । त्यस भाषणमा उनले आफूलाई स्पष्टतः धर्मनिरपेक्षताका पक्षमा उभ्याएको बिपीले आफ्नै डायरीमा लेखेका छन् ।

कतिपय मुद्दामा भने बिपीले आफ्नो जीवनको उत्तरार्धमा केही परिमार्जन गरेको पाइन्छ । जस्तोकि, आर्थिक मुद्दा । बिपी आफू प्रधानमन्त्री भएका बेला उनी समाजवादको लक्ष्यका खातिर तीव्र औद्योगिक विकासका पक्षपाती देखिन्छन् तर जीवनको उत्तरार्धमा भने उनी गान्धीवादी शैलीको दिगो विकास र अर्थतन्त्रको पक्षमा पाइन्छन् । धर्मका मुद्दामा भने बिपी आजीवन विचलित भएनन् । यसको प्रमाण हो, बिपीले २०३६ साउन ४ गतेको विक्ली मिरर नामको साप्ताहिक पत्रिकालाई दिएको अन्तर्वार्ता । कांग्रेस नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिका सम्पादनमा प्रकाशित ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ नामको पुस्तकमा उक्त अन्तर्वार्ता सङ्गृहीत छ ।

त्यस अन्तर्वार्तामा बिपीले भनेका छन्– ‘नेपाल हिन्दु राज्य हुँदै होइन । कसैले हिन्दु राज्य भन्छ भने त्यो झेली मात्रै हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ ।’यी सबै कुरा बुझ्ने काङ्ग्रेसीले निश्चय पनि धार्मिक राज्यका पक्षमा आफ्नो अभिमत जाहेर गर्दैन । तर पार्टीका कतिपय नेतालाई भारतीय संस्थापन पक्षलाई प्रसन्न बनाउनु छ । यसका लागि नेपाली काङ्ग्रेसका केही नेताहरू आफ्नो पार्टीगत निष्ठा, आदर्श, विचार र धर्मबाट च्युत भइरहेका छन् । अहिलेको भारतीय संस्थापन पक्ष नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहन्छ । नरेन्द्र मोदी स्वयम् हिन्दु राष्ट्रियताका अभियन्ता हुन् । त्यसैले केही काङ्ग्रेस नेताहरू मोदीलाई खुशी बनाएर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न हिन्दुराज्यको मुद्दालाई बोकिरहेका छन् । तर के नेपाल हिन्दुराष्ट्र भएपछि चाहिँ विकासको मूल फुट्छ ? देशमा सुशासन कायम हुन्छ ? भ्रष्टाचार नियन्त्रण हुन्छ ? यस्ता प्रश्नको उत्तर कसले दिने ?

बुधबार, २४ माघ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर