उद्धव केसी
वर्ष २०८० माघ २१ गते तदनुसार फरबरी ४, सन् २०२४ गते संसारभरि क्यान्सर डे मनाइन्छ । क्यान्सरको श्रोत अनेक छन् । आयुर्वेदमा रोगको कारण २ वटा मानिन्छ । पहिलो निज जसमा आनुवंशिक रोगहरु पर्दछ ; जस्तै मधुमेह जसलाई सुगर वा डायबिटीज भनिन्छ र दोस्रो आगन्तुक जसमा सबैखाले सरुवा रोग र बिरामीको खानपिन तथा उसको दिनचर्याको परिणाम बिरामी हुन्छन् । क्यान्सर रोगको प्रमुख कारण खानपान र दिनचर्या नै मानिन्छ ।
खैनी–चुरोट, गुट्खा, सुर्ती वा अन्य यस्तै निकोटिनजन्य यस्ता पदार्थ मुखमा राख्ने, नसा लिने वा सेवन गरेर स्वास्थ्य जोखिममा पार्नेको संख्या दिनानुदिन बढिरहेको छ । बजारमा पाइने गुट्खा, खैनी, सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बन मोनोअक्साइड लगायत अनगिन्ती विषाक्त केमिकल पाइन्छन्, जो स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । यसको प्रयोगले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्यधिक रहन्छ । रक्तचाप बढ्ने र मुटुमा अन्य समस्या देखापर्ने हुन्छ ।
गुट्खा, खैनी वा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले आफ्नो स्वास्थ्यमा मात्र नभई आफू वरपरको वातावरण र परिवारलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी पु¥याइरहेका हुन्छन् । गुट्खा सेवन गर्नेले जथाभावी थुक्ने गर्छन्, जसले वरपर बस्ने व्यक्तिमासमेत नराम्रो प्रभाव पार्छ । सार्वजनिक स्थान, घर, कार्यालय वा अन्य स्थानमा गुट्खा चपाइरहने वा जथाभावी थुक्ने बानीले मानिसको व्यक्तित्वमा असर पर्दछ । यो मेरो व्यक्तिगत अनुभव हो । कारण मुख हरहमेशा दुर्गन्धित हुन्छ ।
सर्वप्रथम खैनी, चुरोट, गुटखा, जर्दा सुर्ती र चुनाबाला मिश्रित पान आदि केही नेपालमा उत्पादन हुँदैन । यो जहाँ उत्पादन भएपनि राष्ट्रलाई आर्थिक लाभ पनि छैन । उल्टो हरेक मानिस कुलतको शिकार बनेका छन् । यसको प्रमुख कारण सहजै उपलब्ध हुनु । आजभन्दा ३० वर्ष अगाडि विराटनगरको शहरमा बहुतै कम मानिसले कार र मोटरसाइकल चढ्दथे । कारण त्यतिबेला ती साधनहरु सहज उपलब्ध थिएनन् । अहिले सहज उपलब्ध भएकोले महानगर र राज्यलाई पार्किङ व्यवस्थापन गर्न धौ धौ परेको छ । ठीक त्यसैगरी सुर्तीजन्य पदार्थ सहज उपलब्धताको कारण सेवनपछि फ्याँकिएको प्लास्टिकले सडकको माथिल्लो भागदेखि जमिनको मुनि कैयौं फिटसम्मको माटोलाई विषाक्त बनाएको छ । पानीको श्रोत नहर, पोखरी, नदी आदिलाई दुषित बनाएको छ । एकदिन यसको दुष्परिणाम जीवजन्तु , बोटविरुवा र हामी मानव समुदायले नै भोग्नु पर्ने निश्चित छ । अतः यसको लागि स्वेदेशी उत्पादन वा आयातमा पूर्ण रोक लगाएर नागरिकको ज्यान बचाउनुपर्छ । म, घर बाहिर कतै खाजा चिया नखाने मानिस दुनियाँले थुकेको मुतेको दुषित ठाउँमा भण्डारण गरेर ढुसी परेको सुर्ती सेवन गर्नाले मुखमा क्यान्सर भयो ।
क्यान्सरको पीडा : सुर्तीजन्य पदार्थ सेवन गर्ने हरेकको मुख अत्यधिक गन्हाउँछ । चाहे उ जोकोही होस् । खैनी खानेको मुख गुहू भन्दा पनि अत्यधिक गन्हाउँछ । मतललब गुहू मुखमा नै जमाएको हुन्छ ।
विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ । करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्दछन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको पाइन्छ । सन् २००० मा नेपालमा जनसंख्याको ६४.५ प्रतिशत धूम्रपानकर्ताहरु रहेका थिए ।
विश्वमा झण्डै ८० प्रतिशत धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगकर्ता निम्न तथा मध्यम आयस्रोत भएको राष्ट्रका छन् । यसको खेती गर्न निकै मात्रामा रसायनिक मल तथा किटनाशक औषधिको प्रयोग हुने गर्दछ जसले गर्दा खेतको उत्पादनमा ह्रास आउँछ र खाद्य उत्पादनमा कमी हुन्छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले हरेक वर्ष करिब ८० करोड किलो चुरोटको ठुटो तथा अन्य हानिकारक पदार्थ निस्किने गर्दछ साथै हजारौं घातक रसायनहरु हावा, पानी तथा जमिनमा मिसिने गर्दछ । प्लाष्टिकबाट बनेका यी फिल्टरहरु माटोमा पतन हुन दशौं वर्ष लाग्दछ र ती सल्केका ठुटाहरुमा हुने हानिकारक रसायनहरुले माटोमा गाडिसकेपछि पनि भूमी र वातावरणमा नकारात्मक असर गर्दछ ।
सुर्तीजन्य पदार्थको प्रयोग धूम्रपान वा धूवाँरहित तरिकाले प्रयोग गरिन्छ । धूम्रपानमा करिब ७ हजार घातक रसायन तथा ७० भन्दा बढी क्यान्सरका कारक तत्वहरु पाइन्छ । सुर्तीजन्य पदार्थ तथा धूम्रपानले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ । धूम्रपान तथा सुर्तीजन्य पदार्थले मुखको वा फोक्सोको क्यान्सर मात्र नभई कम्तिमा पनि शरीरका अरु १२ अंगको क्यान्सर गराउँदछ । जस्तै खाना नली, कलेजो, पेट, आन्द्रा, पाठेघरको मुख, पिसाब थैली, मिर्गौला, रक्त क्यान्सर आदि । गर्भावस्थामा यसको प्रयोगले कम तौल भएको बच्चा जन्मनु तथा समय अगाडि बच्चा जन्मिने, गर्भ तुहिने, शिशुको राम्रो स्वास्थ्य विकास नहुन सक्छ ।
कसरी कम गरेर छाड्ने ?
गुट्खा र सुर्तीजन्य पदार्थको सेवन गर्ने मानिसमा यसको लत परिसकेको हुन्छ । धूम्रपानको लत परेको व्यक्तिले एक्कासि छाड्न पनि सकिरहेका हुँदैनन् । धूम्रपानको लत छुटाउन बजारमा विभिन्न किसिममा निकोटिक सप्लिमेन्ट पाइन्छ । चिकित्सक वा मनोचिकित्ससँग परामर्श लिएरसमेत धूम्रपानको लत छाड्न सकिन्छ ।यस्ता सुर्तीजन्य पदार्थको सेवन बिस्तारै कम गर्दै लानुपर्छ । त्यसपछि बिस्तारै स्वास्थ्यसम्बन्धी जटिलता पनि घट्दै जाने हुँदा स्वस्थ रहन सकिन्छ ।
मेरो अनुभव : आजभन्दा ४ वर्ष अगाडि विश्व नै लकडाउन भएको बेला थियो । कोही कसैसँग सम्पर्क गर्न चाहदैनथे । सवारी अनिश्चितकालसम्म बन्द थियो । जुन क्यान्सरभन्दा पीडादायी समय थियो हरेक बिरामीको लागि ठीक त्यहीबेला मलाई मुखमा क्यान्सर भएको घोषणा गरियो । बडो मुश्किलले भर्ना हुन पाइयो ४ महिना नाकको सहाराले खाना खाने र पानी पिउने काम गरें । मुख कुरुप र बाँङ्गो भयो । पाकेको केरा खान ग्रान्डर गर्नुपर्छ । पहिला जस्तो दाह्री पलाउँदैन । छुराले दार्ही काट्न मिल्दैन । मुखको र्याल ग्रन्थी काटेर हटाइएकोले मुखमा थुक बन्दैन । रेडिएशनको कारण घाँटीमा थाइराइड बढ्यो जसको लागि जीवनभर औषधि सेवन गर्नुपर्ने भयो । सबैभन्दा दुःखको कुरो आयु छोटीयो । दीर्घायुको बाटो रोकियो
खैनी सेवनको कारणले मेरो मुखमा क्यान्सर भएर बाँचे पनि निकै कष्टकर जीवन बिताइरहेको छु । सामाजिक सञ्जालमा मेरो अपरेसन गरेको दृश्य देखेर धेरैजनाले फोन गरेर आफूले पनि खैनी, गुट्खा र चुरोट सेवन गर्न छोडेको भन्नुहुन्छ । कोही त अतालिएर घरमा नै आउनुहुन्छ । वहाँहरुलाई मोरङ बुढीगाउँपालिकामा अवस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ्ग सेन्टरले छुट्टै क्यान्सर विभाग स्थापना गरेर उपचार गरिरहेकोले त्यहाँ पठाउने गरेको छु ।
राज्यले धूम्रपान तथा सुर्तीजन्य पदार्थमा रोक लगाउने वर्तमान कानुनमा संशोधन गरेर रोक लगाउनुपर्छ । अदालतको फैसला व्यापारी उद्योगपति र ज्यानमाराको पक्षमा गरिनु हुँदैन । धूम्रपान तथा सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री तथा वितरणमा नियन्त्रण गगर्नुपर्छ । धूम्रपान गर्ने क्षेत्र (स्मोकिङ जोन) बनाउने, जसले गर्दा धूम्रपान नगर्ने व्यक्ति यसबाट प्रभावित हुँदैन ।
राज्यले धूम्रपान तथा सुर्तीजन्य पदार्थविरुद्ध शैक्षिक सामग्रीमा लगानी गर्ने र हरेक स्कुलमा उत्प्रेरणा कक्षा (मोटिभेसन अभियान संचालन) नियमित संचालनका लागि महानगर स्वास्थ शाखामा मानिस नियुक्त गर्ने । धूम्रपान त्याग्न चाहनेलाई सो सम्बन्धी उपचार सहजीकरण गर्ने ।
नोट : सुर्ती र गुट्खा सेवन गर्नेको मुखमा मात्रै नभई पेट र आन्द्रामा पनि उत्तिकै असर पारिरहेको हुन्छ । पाचन प्रणालीमा समस्या देखिनाले खानानली, आन्द्रा र पेटमा घाउ, अल्सर र क्यान्सर हुने गर्छ ।