विराटनगर ।विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सक बस्ने क्वाटर बिनाटेण्डर भत्काउँदा लाखौंको आम्दानी गुमेको छ ।प्रचलित कानुनको धज्जी उठाउँदै अस्पताल विकास समितिले चिकित्सक बस्ने क्वाटर भत्काउँदा अस्पतालको लाखौंको आम्दानी गुमेको हो ।
अस्पतालले बिनाटेण्डर ६ वटा भवन भत्काएको छ । प्रत्येक भवन २ तलाका थिए । अस्पतालका चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएको पुराना भवन गैरकानुनी रूपमा भत्काएर काठ, इँटा, रड, टिनालगायतका निर्माण सामग्री गायब पारिएको आरोप कर्मचारीले नै लगाउन थालेका छन् । अस्पताल विकास समित अध्यक्ष डा.फरवार्ड सिलवाल र मेसु डा. चन्द्रभाल झाको निर्देशनमा कानुनी प्रक्रिया पुरा नगरी भवन भत्काइएको हो ।
अस्पतालका पूर्वमेसु एवं वरिष्ठ सर्जन डा.रविनराज सिंह, सर्जन डा.रवि बस्ताकोटी, वरिष्ठ अर्थोपेडिक सर्जन डा.महेन्द्र महतो, अर्थोपिडक सर्जन डा.शम्भु साह, फिजिसियनहरु डा.सर्भेष झा, डा.उत्तर मैनाली, डा.डेनप्रसाद आचार्य, डा.अमरेन्द्र साह क्वाटरमा बस्दै आएका थिए । यस्तै, बालरोग विशेषज्ञहरु डा. प्रवीण झा, डा. सूर्यकान्त चौधरी, डा. नन्दकिशोर चौधरी, क्यान्सर रोग विशेषज्ञ डा. रगिन कठेत, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दीक्षा खनाललगायतले प्रयोग गर्ने क्वाटर अस्पतालले विनाटेण्डर भत्काएको हो ।
अस्पताल स्रोतका अनुसार नक्साको डिजाइन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा समेत भवन भत्काइने उल्लेख छैन । २ वटा भवनको आंशिक भाग भत्काइने र अरु नभत्काइने भनिएको थियो । भत्काउन नपर्ने भवनलाई पाइलिङ गरेर सुरक्षितसाथ राख्न ६ करोड बजेट नै बिनियोजन गरिएको थियो । निर्माणस्थल छेउकै मेडिकल वार्ड, आईसीयूसमेत रहेको भवनलाई भने पाइलिङ गरेर सुरक्षित बनाइएको छ । यसअघि मन्त्रालयको स्वीकृतिमा टेण्डर आह्वान गर्दै विभिन्न भवनहरु भत्काइएको थियो ।
अहिले भने नयाँ मेडिकल भवन निर्माणको लागि क्वाटरले अवरोध गरेको भन्दै चिकित्सक क्वार्टरलगायतका पुराना भवन भत्काइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को उल्लंघन गर्दै भवन भत्काइएको हो । नियमावलीको नियम १०६ मा त्यस्तो भवन भत्काउँदा सम्बन्धित कार्यालय प्रमुखले केन्द्रीय निकायको स्वीकृतिमा मात्र भवन भत्काउन पाउने व्यवस्था छ ।
अस्पतालले स्वास्थ्य मन्त्रालयको अनुमतिमा भण्डार शाखा प्रमुख, लेखा शाखा प्रमुख र कार्यालयमा उपलब्ध भएसम्म सम्बन्धित जानकारी राख्ने कर्मचारीसमेतको राय लिएर लिलामीको प्रक्रियाबाट भवन भत्काउनुपर्ने व्यवस्था छ । तर, ती कुनैपनि प्रक्रिया पुरा नगरी अध्यक्ष सिलवाल र मेसु झाको निर्देशनमा भवन भत्काइएको हो । त्यसको लागि स्वास्थ्य मन्त्रालयको मौखिक स्वीकृति रहेको अस्पतालले दावी गरेको छ ।अस्पताल परिसरको अत्याधुनिक भवन निर्माणमा अवरोध हुने भएपछि स्वास्थ्य मन्त्रालयसँगको सल्लाहमा भवन भत्काएको मेसु झाले बताए । काम नरोकियोस् भनेर साइट क्लिएर गराएको भन्दै उनले भवन भत्काउँदा निस्किएको सबै सामग्री एकठाउँमा जम्मा पारेर राखेकोले काम सकिएपछि लिलामी गर्ने बताए ।
संरचना त्यत्तिकै भत्काइएपछि अस्पताललाई ठूलो नोक्सानी भएको कर्मचारी बताउँछन् । ‘टेण्डर आह्वान गरेर प्रक्रियागत हिसाबले भत्काएको भए ती सामग्री बिक्रिबाट अस्पताललाई लाखौं आम्दानी हुन्थ्यो’ एक कर्मचारीले भने, ‘तर, जथाभावी डोजर चलाउँदै सबै सामग्री छरपष्ट पारिएको र कतिपय सामाग्री गायब पारिएको छ ।’
स्वार्थ समूहले सरकारी सम्पत्ति स्वाहा बनाउन गरिरहेको चलखेल रोकेर त्यसमा संलग्नलाई कारबाही हुनुपर्ने माग अस्पतालका कर्मचारीले गरेका छन् । भवन भत्काउने प्रयोजनका लागि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अध्यक्षतामा गत कात्तिक २३ गते संघीय आयोजना कार्यान्वयन इकाई मोरङमा बैठक राखिएको थियो । बैठकबाट ‘साइड क्लियरेन्स’का लागि आवश्यकता बमोजिम काम गर्ने निर्णय भएको भएपनि स्वास्थ्य मन्त्रालयको स्वीकृति लिने र टेण्डर गर्ने विषय उल्लेख छैन ।
अस्पतालको भवन निर्माणको काम गरिरहेको संघीय आयोजना कार्यान्वयन इकाई मोरङका प्रमुख सुरेन्द्रकुमार साहले निर्माणको काम छिटो अगाडि बढाउनुपर्ने भएकाले सर्वपक्षीय निर्णयका आधारमा भवनहरु भत्काइएको बताए । टेण्डर प्रक्रियामा लामो समय लाग्ने भएकोले तत्काल भत्काउने निर्णय भएको उनको दावी छ । निर्माणाधीन भवनको जग नै डाक्टर क्वार्टरमा परेकाले त्यहाँ रहेका पुराना संरचना हटाउनु परेको उनको दावी छ । टेण्डरको विषय अस्पतालसँग सम्बन्धित हुने उनको भनाइ छ ।
अस्पताल विकास समिति अध्यक्ष डा. सिलवालले मन्त्रालयसँग सहमति लिएर भवन भत्काइएको बताएका छन् । मन्त्रालयसँग सहमति लिएरै काम भएको र कुनै अनियमितता नभएको उनको भनाइ छ ।अस्पताललाई ५ सय शय्या बनाउनज नयाँ भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाईमार्फत केसी कन्सट्रक्सनले गरिरहेको छ । मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको भवन २०७९ पुस १३ गतेदेखि निर्माण सुरु भएको थियो । भवन २०८२ पुस १२ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता छ ।निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर सुशीलकुमार झाले निर्माण सामग्री राख्ने ठाउँको अभाव रहेकोमा त्यसको व्यवस्था गरिदिन आग्रह गर्दा भवनहरु भत्काउन अस्पतालले भनेपछि भत्काएको बताए । भवन भत्काउने कानुनी प्रक्रियाबारे अस्पतालले जवाफ दिने उनको भनाइ छ ।