विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारका एक मन्त्रीले सेकुवा हाउसको उद्घाटन गरेको घटनाको आलोचना भएको भन्दै त्यसबाट आफू अचम्मित भएको बताएका छन् ।
झापामा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सेकुवा हाउस सञ्चालनले स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने तथा रोजगारी सृजनाका साथै आयआर्जनमा बृद्धि गर्ने भन्दै त्यसको प्रबद्र्धन गर्दा के अपराध भयो भन्ने प्रश्नसमेत गरे ।
यसअघि प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले विराटनगरमा एक होटल एवं सेकुवा कर्नरको उद्घाटन कार्यक्रममा सहभागी भएको भन्दै एकथरीले आलोचना गरेका थिए । मुख्यमन्त्री कार्कीले भने प्रदेश सरकारले साना लगानीका उद्योमको पनि प्रोत्साहन गर्ने नीति लिएको स्पष्ट पार्दै आलोचना अर्थहहिन भएको बताएका हुन् । ‘प्रदेश सरकारले उद्योम र पर्यटन प्रबद्र्धनको प्रोत्साहन गर्नु अपराध हो’ मुख्यमन्त्रीले प्रश्न गरे, ‘सरकारले प्रदेशवासीले गर्ने हरेक रोजगारी र आय आर्जन हुने कामको प्रोत्साहन गर्छ ।’
झापाको शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा शनिबार मुख्यमन्त्रीसँग योजना र विकाससम्वन्धी जनता संवाद कार्यक्रममा कार्कीले कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको दावी गरे । उनले कार्यक्रममा बालबालिकाको निःशुल्क उपचार गर्नु अपराध हो भन्ने प्रश्नसमेत विपक्षीलाई गरेका हुन् ।
लोककल्याणकारी प्रदेश निर्माणका लागि भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको भन्दै मुख्यमन्त्री कार्कीले हुनेखानेको पहुँचमा पुग्ने बजेट बालबालिकाको उपचारमा लगाएको दावी गरे । बालबालिकाको निःशुल्क उपचार, शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालन जस्ता काम गरेको भन्दै उनले आर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन, पशु र कृषि प्राविधिक अध्ययनका लागि प्रत्येक पालिकाका १–१ जनालाई छात्रवृतिको व्यवस्था गरेको बताए ।
आफ्ना बालबालिकालाई भोकै छाडेर समुदायभरिका छोराछोरीलाई खोप खुवाउनुका साथै स्वास्थ्य सेवा दिने महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान तथा प्रोत्साहन गरेको तथा ऋण लिएर जग्गा खरिद गर्ने सुकुम्वासीलाई ब्याज अनुदान दिएको मुख्यमन्त्री कार्कीले बताए । पाथिभारा, बराह क्षेत्र, हलेसीमा भाकल गरेर वृद्ध बुवाआमालाई भारतको विभिन्न धार्मिक स्थलको दर्शनका लागि लैजाने प्रबृत्ति रहेको भन्दै त्यसलाई रोक्न जुठेल्नामा मन्दिर बनाउने बजेट काटेर हलेसी, पाथिभरा र बराह क्षेत्रका लागि विनियोजन गरेको जिकिर गरे ।
कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी वडा ३ का वडा अध्यक्ष भास्कर न्यौपानेलगायतका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयवासीले प्रदेश सरकारले साना योजना कटौति गरेको भन्दै गुनासो पोखेका थिए । कार्यक्रममा स्थानीयवासीले आ–आफ्ना योजनाहरूसमेत मुख्यमन्त्री कार्कीलाई लिखित रूपमा बुझाएका थिए ।
कार्यक्रमको अवसरमा स्थानीय ६ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरणका साथै वडा कार्यालयले सञ्चालन गरेको सिलाई, कटाई तालिमको समेत मुख्यमन्त्री कार्कीले अबलोकन गरेका थिए ।