सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशीमा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ ।
इको हिमाल नेपालकै पहलमा थुलुङमा उत्पादित कफी बेलायत र अष्ट्रेलिया लगायतको राष्ट्रमा नमुना परीक्षणको लागि पठाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताए ।
नमुना परीक्षणको क्रममा कफीको नतिजा उत्कृष्ट पाएपछि कृषकलाई थप हौसला बढेको छ । केही वर्षअघि बारीमा लगाइएको कफी मास्न थालेका कृषकले पुनः नयाँ विरुवा लगाउन थालेका छन् ।
गाउँपालिकाले बजारीकरणको जिम्मा लिएपछि उत्पादन सहज हुने र ढुक्कसँग खेती गर्ने वातावरण सृजना भएको स्थानीयले बताएका छन् । थुलुङ दुधकोशी गाउँपालिकाले पालिकामै कफी प्रशोधन गर्ने तयारी गरेको छ । कच्चा कफी निर्यातमा रोक लगाउने निर्णय गरेको पालिकाले त्यसको प्रशोधनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार अहिले कफी प्रशोधन गर्ने मेसिन खरिदलगायत अन्य संरचना निर्माणको काम अन्तिम चरणमा छ । करिब ७० लाखको लागतमा उक्त परियोजनाको कार्य भइरहेको उनले जानकारी दिए ।
उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्ट बेलायतको लगानी हुनेछ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भूमिका रहने छ । गाउँपालिकाले कफी प्रशोधन गरी विश्व बजारमा पुर्याउने नीति लिएर कफीको न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य समेतलाई आधार मानी ुएु ग्रेडको पार्चमेन्ट कफीको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६ सय रुपैयाँ निर्धारण गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भने सोही कफीको मूल्य प्रतिकेजी ५ सय रुपैयाँ निर्धारण गरेको छ ।
बोर्डको समर्थन मूल्यभन्दा प्रतिकेजी १ सय बढी निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष असीम राईले बताए । गाउँपालिकाले वास्तविक कृषकको उन्नतिका लागि काम गर्ने सरकार रहेको भन्दै अध्यक्ष राईले आर्थिक विकासका लागि महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
थुलुङ दुधकोशी गाउँपालिका ८ देउसामा रहेको देउसा कृषिवन स्रोतकेन्द्रले यसअघि कृषकको कफी प्रतिकेजी ५ सय रुपैयाँको दरले संकलन गर्दै आएको थियो । गाउँपालिकाले कृषि क्षेत्रको विकासको लागि उत्कृष्ट कफि उत्पादक कृषकलाई पुरस्कार दिने नीतिसमेत लिएको छ । त्यसको कार्यविधि निर्माण भइरहेको अध्यक्ष राईले बताए ।
जिल्लामा मात्रै नभई छिमेकी जिल्लामा समेत उत्पादन भएको कफीलाई थुलुङ दुधकोशी गाउँपालिकामा संकलन गरेर प्रशोधन गरी विश्व बजारमा पुर्याउने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।