एमालेको चातुर्यता कि काँग्रेसको षड्यन्त्र ?

 गोकुल पराजुली

राष्ट्रिय सभा निर्वाचन भर्खरै सम्पन्न भयो । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले छ वटा प्रदेशबाट अपेक्षित नतिजा हासिल गर्यो तर कोशी प्रदेशमा भने गठबन्धन सफल भएन । राष्ट्रिय सभा निर्वाचनमा यस गठबन्धनले कोशी प्रदेशमा दोश्रो पटक हार व्यहोरेको हो । दुई वर्षअघि भएको निर्वाचनमा पनि गठबन्धनसँग जितका लागि आवश्यक मत थियो तर गठबन्धन दलहरु आफ्नो पक्षमा परिणाम निकाल्न असफल भएका थिए । गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवारले चुनाव हारे । त्यतिबेला विपक्षी दल नेकपा एमालेका उम्मेदवारले जित निकाले । यसपटक पनि त्यो इतिहास कोशी प्रदेशमा दोहोरिएको छ । समय र परिवेश फरक थियो तर गठबन्धनको कोणबाट हेर्दा अघिल्लो पटककै नियति यस पटक पनि दोहोरियो । अघिल्लो निर्वाचनको बेलामा भन्दा यस पटक गठबन्धनसँग बढी मत थियो । विपक्षी गठबन्धनलाई पहिलेजस्तो चुनाव जित्न सहज थिएन तर जित्यो । त्यसमा विपक्षीको चातुर्यताले काम गर्यो होला तर त्यो भन्दा बढी गठबन्धनभित्रको धोखाघडीले नै मुख्य भूमिका गरेको कुरा घाम जतिकै छर्लङ्ग छ ।

राजनीतिमा साम, दाम, दण्ड, भेदको विधि प्रयोग गर्ने प्रचलन छ । याज्ञवल्क्य ऋषिले लेखेको ग्रन्थ ‘याज्ञवल्क्य स्मृति’मा यसलाई राजनीतिमा अवलम्बन गरिने उपायहरुको रुपमा ब्याख्या गरिएको छ । अर्कोअर्थमा यसलाई चातुर्यता पनि भन्न सकिन्छ । शत्रु वा प्रतिस्पर्धीलाई वशीकरणमा पार्न यी उपायहरुको प्रयोग गर्ने गरिन्छ र यो कामको नेतृत्व विपक्षीले स्वभाविकरुपमा गर्न सक्छ । भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा विपक्षीले आफ्नो हैशियत अनुसार यज्ञवल्क्य स्मृतिलाई आधार बनायो होला तर परिणाम उल्ट्याउन भने गठबन्धनभित्रै बुनिएको षड्यन्त्रको तानाबानाले बढी सहयोग गरेको स्पष्ट छ ।

षड्यन्त्रमा छ यन्त्रहरु समावेश हुन्छन् । मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेश र उच्चाटनको प्रयोगद्वारा विपक्षीलाई वशमा राख्ने प्रयत्न नै षड्यन्त्र हो । यो आफू वा आफ्नो समूहभित्रै बढि प्रयोग गरिन्छ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दोश्रोपटक यस्तो षड्यन्त्रको उपयोग गरियो । त्यसमा विशेष गरेर नेपाली काँग्रेसभित्रको एउटा समूह बढी सक्रिय बन्यो । अनेकौं तानाबाना बुनेर आन्तरिक षड्यन्त्रलाई सफल बनाउँदा विपक्षीको चातुर्यतालाई प्रमाणित गर्ने अवसर पनि प्रदान ग¥यो ।

षड्यन्त्र के हो भने गठबन्धन जिताउन नेपाली काँग्रेसका डा. शेखर कोइराला इमान्दार भएर प्रस्तुत भएझैं देखिए । केही दिनअघिसम्म गठबन्धनप्रति तीब्र असन्तुष्टि जनाउँदै आएका नेता कोइराला यस अवधिमा मौन बसे । त्यतिमात्र होइन उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा कोइराला निवासमा भव्य भेला डाकेर चियापान गराए । गठबन्धनका उम्मेदवारहरुलाई दायाँबायाँ राखेर आफ्नो तर्फबाट पूरापूर सहयोग रहेको सन्देश प्रवाह गरे । सँगसँगै उनले आफ्नो अत्यन्त विश्वास पात्र संघीय सांसद डा. सुनिल शर्मालाई जिल्ला दौडाहमा खटाए । राष्ट्रिय सभा निर्वाचनमा मतदाता नरहेका उनीतर्फ कसैको नजर परेन । त्यो दौडाहाबाट १९ जना आफ्ना गुटका जनप्रतिनिधिहरुको मत विपक्षी तर्फ बटार्न उनी सफल भए । प्रारम्भिक सूचनाअनुसार गठबन्धनतर्फका पाँच जना प्रदेश सभा सदस्यहरु त्यसमा सहभागी भए । नतिजा अनुसार महिला उम्मेदवारलाई तीन र अन्य तर्फका उम्मेदवारलाई दुई जनाले अन्तरघात गरेको देखिए पनि यथार्थमा पाँच जना त्यसमा सरिक भएको तथ्य बाहिरिएको छ । किनभने गठबन्धनका महिला उम्मेदवारलाई मतदान गर्ने बाचा गरेका राप्रपाका दुई सांसदले मतदान गरिसकेपछि टेलिफोन गरेरै भोट दिएको जानकारी दिएर बधाईसमेत दिएका थिए । नेकपा एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेवतिरमण भण्डारीले पनि राप्रपाबाट दुई मत सत्ता गठबन्धनमा गएको स्वीकार गरेका छन् । अन्य तर्फका उम्मेदवार जो गठबन्धनबाट बिजयी बने उनले पनि विपक्षीको सहयोगमा आफूले चिुनाव जितेको र आफ्नै दलको एउटा समूहबाट घेराबन्दीमा परेको प्रतिक्रिया चुनाव जितेलगतै दिए । लामो राजनीतिक अनुभव र कयौं निर्वाचन सामना गरेका नेताहरुबाट आएका यी प्रतिक्रियाहरुले पनि नेपाली काँग्रेसका पाँच जना सांसदहरु त्यस षड्यन्त्रमा सहभागी भएको पुष्टि हुन्छ ।

अरु पनि सिर्जना गरिएका केही संयोगहरु छन् । जब षड्यन्त्रका उल्लेखित फर्मूला लागू गरिन्छ त्यस्ता अनेकौं संयोगहरुको सिर्जना पनि गरिन्छ । राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन प्रदेश राजधानीमा करिब करिब पत्रकारहरुको उपस्थिति शून्य बनाउने प्रपञ्च गरिएको थियो । विराटनगरमा क्रियाशील बहुसंख्यक पत्रकारहरुलाई त्यस दिन बिहानैदेखि सुनसरीको शान्ति वनतिर इन्गेज गराउने प्रयत्न प्रदेश सरकारकै तर्फबाट भएको थियो । त्यसमा मुख्यमन्त्री केदार कार्कीले माइक्रोम्यानेजमेन्टको भूमिका सम्हालेको देखियो । बिहानैबाट पत्रकारहरुलाई भोजभत्तेरमा लठ्ठ बनाएर सूचना संकलनबाट विमुख बनाउन सक्दा अर्कोतर्फ जारी षड्यन्त्रलाई सफलतामा पु¥याउन सकिने हिसाब किताबले त्यो खर्च गरिएको अनुमान गर्न गाह्रो छैन ।

भन्नेले त गठबन्धनमा मुख्यमन्त्री कार्की स्वयंले मतदान नगरेको भनिरहेका छन् तर उनले मतदान गरेको ब्यालेट पेपरको फोटो नै खिचेर राखेको जिकिर गरिरहेका कारण त्यो आरोप लगाउन मिलेन । तर त्यसो गर्नुपर्ने बाध्यता किन आइपर्यो यो सोचनीय छ । अहिले प्रश्न उठाउनेलाई फोटो देखाएर पन्छिरहेका मुख्यमन्त्रीको त्यो कार्य निर्वाचन कानुन विपरीत पनि हो । किनभने मतदान केन्द्रमा प्रवेश गर्दा मोवाइल लैजान निषेध गरिएको थियो भने मतअंकित गरेको तस्बिर खिच्नु निर्वाचन कानुनको उल्लंघन हो । त्यस्तो बाध्यता किन आइप¥र्यो ? किनभने मुख्यमन्त्रीलाई परिणामबारे पूर्व जानकारी थियो र भोलि उठ्ने प्रश्नको सामना गर्न फोटो खिच्नुपर्ने बाध्यता थियो ।

हुन त विधि, विधान र राजनीतिक प्रक्रियाभन्दा बाहिरबाट शक्तिमा उदय भएकाहरु यज्ञवल्क्य नीति र षड्यन्त्रको नीतिमा बढि विश्वास गर्छन् । तर, सधैँभरि यीनै विधिको प्रयोग गरेर राजनीति सर्वोत्कृष्ट नीति बन्न सक्दैन । तत्कालीन र अल्पकालका लागि यस्ता विधिहरुले सफलताको सिंढी चढाए पनि दीर्घकाल दुःखद् र पीडादायी बन्न सक्छ । खुमबहादुर खड्कादेखि बिजय गच्छदारहरु यसप्रकारको खेलका माहिर खेलाडीहरु थिए जसको राजनीतिक अवसान सुखद् बनेको हामी पाउँदैनौं ।

सोमबार, १५ माघ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर