विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन करिब ८०० मतभार धेरै हुँदा पनि महिला कोटामा नेकपा एमालेकी रुक्मिणी कोइरालाले सप्राइज जित निकालेकी छन् । सत्ता गठबन्धनबाट अन्य कोटामा उम्मेदवार भएका काँग्रेसका कृष्णप्रसाद सिटौला विजयी बन्दा महिला कोटामा उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी चम्पा कार्की पराजित भएकी हुन् ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धन चुनाबी मैदानमा थिए । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने चुनाबमै ठूलो संख्यामा फ्लोर क्रस भएको देखिएको छ । गठबन्धनको मतभार दायाँबायाँ नहुँदा ५ हजार ३९८ हुन्थ्यो । त्यसमा सिटौलाले १०६ मत कम पाए भने कार्कीले ४०५ मत कम प्राप्त गरिन् ।
बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई ७३० मतान्तरले पराजित गरे । सिटौलाले कूल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै उम्मेदवार निस्कृय बनाएको एमालेका पर्शुराम अधिकारीले १२९ मतभार प्राप्त गरे । स्थानीय तहका ५ जना प्रतिनिधिको ९५ मत बदर भयो ।
सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धव पौडेलले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले १ सांसदको मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाउँदा पौडेलले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुरामले ४ जनाको मत पाए भने ५ मत बदर भयो ।
राष्ट्रियसभामा प्रदेशसभामा ९३ र स्थानीय तहका २७४ जना मतदाता थिए । जसमध्ये सत्ता गठबन्धनका प्रदेशसभा सदस्य ४७ र एमाले गठबन्धनका ४६ थिए भने स्थानीय तहतर्फ सत्ता गठबन्धनका १५५ र एमाले गठबन्धनका ११६ मतदाता थिए । स्थानीय तहका ३ स्वतन्त्र मतदाता थिए । निर्वाचनमा धरानका मेयर हर्क साम्पाङले निर्वाचन बहिष्कार गरे भने मोरङको ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदार विरामी भएकोले मतदानमा उपस्थित हुन सकेनन् ।
झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भ्रष्टाचार मुद्दाको कारण मत दिन पाएनन् । स्वतन्त्रबाट निर्वाचित ओखलढुङ्गाको मानेभञ्ज्याङ नगरपालिका प्रमुख ज्ञानेन्द्र रुम्दाली र भोजपुर साल्पा सिलिछो गाउँपालिकाका दौलत राईले मतदान गरे ।रुम्दाली काँग्रेस र राई एमालेबाट विद्रोह गरेर चुनाब जितेका थिए ।
महिलातर्फको निर्वाचनमा भने सत्ता गठबन्धनकी उम्मेद्वार माओवादीकी चम्पा कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले सप्राइज जित निकालिन् । कोइरालाले ५०८६ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादीकी कार्कीले ४९९२ मत मात्र पाइन् । उनले कोइरालाले ४९ सांसदको मत पाउँदा कार्कीले ४४ जनाको मात्रै पाइन् । यस्तै स्थानीय तहबाट कोइरालाले १३१ जनाको २ हजार ४८९ मत पाउँदा कार्कीले भने १४० जनाको २ हजार ६५० मत पाइन् ।
सत्ता गठबन्धनका दुई उम्मेद्वार सिटौलालाई गठबन्धनका २ सांसदले मत दिएनन् । गठबन्धनका ४७ सांसद भएपनि उनले ४५ मत मात्र प्राप्त गरे । उनलाई स्थानीय तहका भने गठबन्धनका सबैले मत दिएको देखिएको छ । स्थानीय तहमा गठबन्धनको १५५ मतदाता रहेकोमा २ अनुपस्थित रहँदा उनले १५३ मत पाए ।
कार्कीलाई भने ठूलो संख्यामा अन्तरघात भएको देखिएको छ । उनले प्रदेशसभाका ३ र स्थानीय तहका १३ मतदाताले मत दिएनन् । गठबन्धनका ४७ प्रदेशसभा सदस्यमध्ये उनले ४४ जनाको र १५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये १४० जनाको मात्र मत प्राप्त गरिन् ।
प्रदेशसभामा एमाले–राप्रपा गठबन्धनको ४६ सांसद रहेकोमा एमाले उम्मेदवार कोइरालाले ३ मत थप गर्दै ४९ मत पाइन् भने स्थानीय तहमा ११६ मत रहेकोमा १५ मत थप गर्दै १३१ मत पाइन् । उता अन्य कोटातर्फ भने एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका पौडेलले आफ्नो गठबन्धनमा भएको भन्दा १ मत बढि प्राप्त गरे भने स्थानीय तहतर्फ ७ मत पाएनन् । उम्मेदवारी निस्कृय पारेका एमालेका पर्शुराम अधिकारीले प्रदेश सांसद १ जना र स्थानीय तहका ४ जनाको मत प्राप्त गरे ।
कोशीको ९३ जना प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद राष्ट्रियसभाको मतदाता थिए । यस्तै स्थानीय तहतर्फ २७४ मतदातामध्ये काँग्रेसका ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत समाजवादीका ७, राप्रपाका ४, जसपाका ४ र स्वतन्त्र ३ मतदाता थिए ।
सत्ता गठबन्धनको पर्याप्त मत हुँदाहुँदै आफ्ना उम्मेद्वार पराजित बनेपछि माओवादी केन्द्र काँग्रेससँग असन्तुष्ट बनेको छ । माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले यसअघि गठबन्धनले गरेको निर्णय विपरीत मुख्यमन्त्री बनाउन हिंडेको शक्तिको चलखेलले नै आफ्नो उम्मेद्वारले पराजित हुनु परेको प्रतिक्रिया दिए । ‘यो निर्वाचनमा राजनीतिक योजनाका साथ गठबन्धनको उम्मेद्वार हराइएको हो,’ उनले भने, ‘यसअघि गठबन्धनले गरेको निर्णयअनुसार मुख्यमन्त्री नबनाउन चलखेल गर्ने शक्तिहरुले नै अहिले पनि गठबन्धनका उम्मेद्वार पराजित गर्न योजनाबद्ध ढंगले लागेको देखियो ।’
एमाले–राप्रपा गठबन्धनमा पनि धोकाधडी भएको भन्दै राप्रपा असन्तुष्ट बनेको छ । एमालेकी उम्मेद्वार कोइरालाले जित निकाल्दा राप्रपाका उम्मेद्वार उद्धब पौडेलले भने सबै मत पाउन नसकेको राप्रपाले धोका भएको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कोशी प्रदेशमा एमालेबाट आफूहरुले धोका पाएको प्रतिक्रिया दिएका छन् ।

