विराटनगरमा हृदय रोग केन्द्रको उद्घाटन : तत्काल ओपीडी सेवा मात्र उपलब्ध

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले बजेटमा घोषणा गरेको शैलजा आचार्य हृदय रोग केन्द्रको सोमबार उद्घाटन भयो । आफ्नो नेतृत्वमा सरकार बनेको १ सयौं दिनमा तामझामका साथ गरिएको उद्घाटनमा मुख्यमन्त्री कार्कीले अस्पताल उद्घाटन हुनु ठूलो उपलब्धि भएको बताए ।

प्रदेश प्रमुख, संघीय सांसदहरु, प्रदेश सरकार सबै मन्त्री र मन्त्रालयका कर्मचारीहरु कार्यक्रममा थिए । मुख्यमन्त्री कार्कीले महत्वको साथ अगाडि सारेको अस्पताल उद्घाटनमा सिंगो प्रदेश सरकार कार्यक्रम स्थलमा उपस्थित थियो । अस्पतालको लागि ५ करोड ५० लाख बजेट बिनियोजन गरेको सरकारले उद्घाटन कार्यक्रमको लागि मात्र १० लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

विराटनगर १४ मा स्थापना गरिएको उपचार केन्द्र साविकको नेसनल ट्रेडिङको गोदामघर हो । कोभिड संक्रमण तीब्र रुपमा फैलिएपछि शेरधन राई नेतृत्वको तत्कालिन सरकारले २०७६ साल चैत ७ गते ५० शय्याको कोभिड १९ उपचार केन्द्र स्थापना गरि सञ्चालन गरेको थियो । संक्रमण फैलँदै जाँदा त्यसको क्षमता विस्तार गरेर २०० शय्यासम्मको बनाईको थियो ।

कोभिडको महामारी कम हुँदै गएपछि प्रदेश सरकारले पुनः त्यस केन्द्रलाई प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पताल बनाउने निर्णय गर्दै अध्ययन गरेको थियो । प्रसूति तथा स्त्री रोग अस्पताल बनाउन अध्ययनमा केहि रकम खर्चिएको सरकारले २०७९ साल भदौ ३१ गतेको निर्णयबाट संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाएको थियो । केन्द्र सञ्चालनमा रहेको बेला कार्की नेतृत्वको नाम फेरेर सरकारले हृदयरोग केन्द्र बनाएको हो ।

सरकारले हृदयरोग केन्द्र बनाएको भन्दै तामझामसहित उद्घाटन गरेपनि त्यसमा मुटुरोगको परीक्षण र उपचारको लागि कुनै नयाँ संरचना र उपकरण छैन । एक थान इसिजी र एक थान इको मेसिनबाहेक कुनै पूर्वाधार मुटुरोगको उपचारको लागि छैन । त्यो अस्पतालमा तत्काल मुटु रोगको ओपीडीबाहेक अन्य सेवा सञ्चालन नहुने चिकित्सकहरुले बताएका छन् ।

कोशी प्रदेशमा मुटु रोगीहरु २ लाखभन्दा धेरै रहेको बताइन्छ । उनीहरुको लागि सेवा विस्तार हुनु सुखद कुरा हो । तर, पटक–पटकका निर्णय फेरबदल र योजना फेरबदल भइरहँदा हृदयरोग उपचार केन्द्र बनेको अस्पतालको निरन्तरतामा पनि प्रश्न छ । आवश्यक जनशक्तिको अभाव, फितलो आर्थिक व्यवस्थापन र मेसिनहरुको व्यवस्थापन अस्पतालको लागि चुनौति रहेको वरिष्ठ मुटुरोग विषेशज्ञ प्रा.डा.भगवन कोइरालाले बताएका छन् ।

कोभिड उपचार केन्द्रमा १७५ जनाको दरबन्दी थियो । संक्रमक रोग उपचार केन्द्रमा ४२ जनाको कर्मचारीको दरबन्दी छ । त्यसमै एक जना मुटुरोग विषेशज्ञ राखेर अस्पतालको नाम परिवर्तन गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले विस्तारै अस्पतालको विकास गरिने बताएकी छन् ।

स्वास्थ्य मन्त्रालयले विर अस्पतालका मुटुरोग विषेशज्ञ डा.समिर पौडेल र डा.सर्वेश झाले विशेषज्ञ ओपिडी सेवा दिने जनाएको छ । तर, पौडेल भने अथितिको रुपमा मात्र आएका हुन् । कोशी अस्पतालमा विकास समितिमार्फत कार्यरत डा.झालाई प्रदेश सरकारले हृदयरोग केन्द्रमा लगेको छ ।

डा. झा प्रदेश मातहको अस्पतालमा गएपछि कोशी अस्पतालमा भने मुटुरोगको ओपीडी सेवा बन्द हुने देखिएको छ । यद्यपी कोशीमा बीपी प्रतिष्ठानका प्रशिक्षार्थी डाक्टरहरुले पनि सेवा दिने गरेका छन् ।

शैलजा आचार्य हृदयरोग केन्द्रमा ३ जना मेडिकल अफिसर, १ जना फिजिसियनको दरबन्दी रहेको मन्त्रालयले जनाएको छ । २ जना थप मुटुरोग विशेषज्ञ चाहिन्ने डा.झाले बताए । हाल ओपिडी र सामान्य परीक्षण मात्रै हुने भन्दै उनले मुटुको अपरेसनसम्मको सेवा संचालन गर्नका लागि भने करोडौं लगानी थप्नुपर्ने बताए ।
‘क्याथ ल्याबको लागि मात्र झण्डै १२ करोड रुपैयाँ चाहिन्छ,’ डाक्टर झाले भने, ‘प्रदेश सरकारले हालका लागि छुट्याएको ५ करोड ५० लाख बजेटले ओपिडी सेवा सञ्चालन हुन्छ, थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता सरकारले जनाएकोले अर्को आर्थिक वर्षदेखि सबै सेवा सञ्चालन हुनेछ ।’

मुख्यमन्त्री कार्कीले आफ्नो सरकारले सय दिन पुरा गरेको अवसरमा प्रदेशवासीलाई मुटु उपहार दिएको दावी कार्यक्रममा गरेका थिए । प्रदेशवासीको जीवन बचाउन यो काम गरेको उनको जिकिर थियो । तर, तत्काल भने कोशी अस्पतालको सेवा शैलजा आचार्य हृदय रोग उपचार केन्द्रमा सरेको बाहेक नयाँ उपचार सुविधा विरामीले पाउने देखिँदैन ।

मुख्यमन्त्री कार्कीले आगामी दिनमा किन मुटु रोगीहरू बढिरहेका छन् भनेर रिसर्च गर्ने बताउँदै मुटुरोग कारण पत्ता लगाएर अगाडि बढ्ने दावी गरेका छन् । अस्पतालको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि प्रदेश सरकारले छात्रवृत्ति दिएर भएपनि डाक्टर पढाउने उनको दावी छ ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति भुपेन्द्र बस्नेतले हृदय रोग उपचार केन्द्रलाई वीर अस्पतालबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्राविधिक जनशक्तिको लागि वीर अस्पतालबाट टे«निङ दिन तयाररहेको भन्दै उनले मुटु रोगको लागि नेपालमै जनशक्तिको अभाव रहेको भएको जनशक्ति पनि पलायनको समस्या रहेको बताए ।

मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले जनशक्तिको व्यवस्थापन गर्न धेरै चुनौति रहेको बताए । नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगहरुको कारणले हुने र त्यसमध्ये २० देखि २५ प्रतिशतको मृत्यु मुटु रोगको कारण हुने जानकारी दिँदै उनले विराटनगरमा हृदयरोग उपचार केन्द्र स्थापना हुनु खुसीको कुरा भएको बताए । तर, त्यसको व्यवस्थापनको लागि मनि, म्यान र मेसिनको चुनौति रहेको भन्दै उनले त्यसमध्ये पनि दक्ष मेनपावर चुनौतिको रुपमा आउने उल्लेख गरे ।

कोशी प्रदेशमा मुटु रोगीको चाप धेरै रहेको र रिक्स फ्याक्टर पनि यो क्षेत्रमा धेरै भएको डा. कोइरालाले बताएका छन् । ‘उपचार केन्द्रलाई व्यवस्थित रुपमा चलाउँदै, जनताको भावनालाई जित्दै अगाडि बढ्नका लागि प्रदेश सरकारको दह्रो साथ चाहिन्छ । जनशक्तिको स्थायी व्यवस्थापनको लागि ध्यान दिनुपर्छ,’ उनले भने, ‘अर्को च्यालेन्ज भनेको अरु प्रकृतिका विरामीहरुको पनि उपचार गराउन सँगसँगै लिएर जानु आवश्यक छ । मल्टिस्पेसियालिटी अस्पतालहरुसँगको सहकार्य पनि आवश्यक छ ।’

सोमबार, ०८ माघ, २०८०, साँझको ०७:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर