विराटनगर । देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले पानी परीक्षण प्रयोगशाला स्थापना गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ एप्लाइड हेल्थ साइन्स अन्तर्गत पिउने पानी परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।

अमेरिकन प्रविधिमा आधारित उक्त प्रयोगशाला एक करोड लागतमा स्थापना गरिएको विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले बताए ।उपकुलपति पोखरेलकाअनुसार प्रयोगशालामा हेल्थ साइन्सतर्फ विभिन्न विद्यामा अध्यन गर्ने विद्यार्थीहरुले व्यवहारिक अनुसन्धान गर्नेछन् ।

यसैगरी उक्त प्रयोगशालालाई विश्वविद्यालयले कमाऊ र पढ अभियान अन्तर्गत व्यवसायिक रुपमा सशुल्क उपभोक्ताहरुले पानी परीक्षण गराउन सक्ने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ ।

मनमोहनले कमाउ र पढ (अर्न टु लर्न ) अभियान अन्तर्गत स्कुल अफ इन्जिनियरिङतर्फ स्थापना भएको प्रयोगशालामा निर्माण सामग्रीहरु सिमेन्ट, फलामे डन्डी आदि व्यवसायिक रुपमा परिक्षण गर्दै आएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यहाँ तीन वटा स्कुल रहेका छन् । हाल यो विश्वविद्यालयले स्नातकतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङ र फार्मेसी विषय पठनपाठन गराइरहेको छ ।

विश्वविद्यालयले यसै वर्षदेखि प्राकृतिक चिकित्सा विज्ञान र अस्पताल व्यवस्थापन र हस्पिटल आर्टिफिसियल टेक्नोलोजी विषयमा पनि पठनपाठन गराउने तयारी थालेको छ । मनमोहनले आप्mनै आंगिक क्याम्पस मनमोहन स्मृति पोलिटेक्निकतर्फ आइटी र इन्जिनियरिङ तर्फको तीन वर्षे डिप्लोमा कक्षाहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।