शेखरको फेरिएको बोली: पहिचानकै पक्षमा रहने प्रतिबद्धता

विराटनगर । पहिचनाको विरुद्ध अभिव्यक्ति दिँदै आएका नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको बोली पछिल्लो समयमा फेरिएको छ । यसअघि पहिचानको आन्दोलनबारे अनुदार अभिव्यक्ति दिँदै कोइरालाले आइतबार पहिचानवादीलाई भेट गरि ‘म तपाईहरुकै पक्षमा छु’ भनेका छन् ।

गत माघ २ गते पनि मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले आफू पहिचानको पक्षमा भएको अभिव्यक्ति दिएका । ‘पहिचानको लडाइ अहिले पनि चलिरहेको छ । त्यो पहिचानको लडाइँमा नेपाली काँग्रेस तपाईँहरूको पक्षमा छ भन्ने कुरा बुझ्नुप¥यो’ उनले त्यसबेला भनेका थिए, ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं । द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने संघीयताको मोडल आवश्यक छ ।’

त्यसअघि भने कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै पहिचानको विषय सरकार प्रमुखबाटै उठाएर जातीय द्वन्द्व निम्त्याउन खोजिएको आरोप लगाउने गरेका थिए । ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ’ गत भदौ ९ गते आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘प्रधानमन्त्रीकै कारण परिस्थिति लड्खडाएको छ ।’

कोइरालाको यो अभिव्यक्ति आदिवासी जनजाति दिवसमा प्रचण्डले दिएको अभिव्यक्तिप्रति लक्षित थियो । प्रचण्डले कोशीमा मतदान गरेर माओवादीले गल्ती गरेको महशुस भएको भन्दै चुनाबमा दुईतिहाई मत प्राप्त भए पहिचानसहित प्रदेशको नामकरण हुने बताएका थिए । त्यसपछि निरन्तर प्रधानमन्त्रीमाथि खनिँदै आएका कोइराला पछिल्ला दिनमा आफू र काँग्रेस पहिचानकै पक्षमा रहेको बताउन थालेका छन् ।

आइतबार पहिचानवादीलाई विराटनगरस्थित निवासमै बोलाएर उनले आफू पहिचानको पक्षमा भएको सन्देश दिए । ‘म तपाइहरुले उठाएको माग र मुद्दामा सहमत छु । म पनि पहिचानको पक्षमा छु’ उनले भने, ‘आदिवासी, जनजातिहरुको भाषा, संस्कार, संस्कृति संरक्षणको आन्दोलन पनि सँगसँगै उठाउन अनुरोध गर्दछु ।’ प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमका अनुसार कोइरालाले ‘त्यसमा मेरो पूर्ण सहमति हुनेछ’ भनेका छन् ।

कोइरालाले आफूहरुलाई बोलाएपछि भेट्दा पुग्दा आन्दोलनबारे चासो राखेको थेगिमले बताए । कोइरालाले ‘पहिचानको आन्दोलन जायज छ, नामकरणको साथै आफ्नो हक अधिकारको कुराहरु पनि सँगसँगै लानुपर्छ । म तपाईहरुको पक्षमा अगाडि देखि नै छु ।’ भनेका हुन् । कोइरालाले आफू अहिले पनि पहिचनको पक्षमा रहेको भन्दै भविष्यमा पनि साथैमा रहने प्रतिबद्धता जनाएको भेटमा सहभागी पहिचानवादी नेता नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।

‘तपाइँहरुको माग एकदमै जायज छ, संसारका धेरै संघीयतामा पहिचानका आधारमा नामकरणहरु भएका छन्’, कोइरालालाई उधृत गर्दै नेता थेगिमले भने, ‘मैले त बरु पहिचानका आधारमा नाम हुन्न भने प्रदेश १ नै रहिरहोस् भनेको थिएँ मैले त। तर यहाँ जबरजस्ती नामकरण गरियो र प्रदेशमा तनाव उत्पन्न भयो। पुनः नामकरणको तपाइँहरुको मागप्रति म सकारात्मक छु। आफ्नो ठाउँबाट म सहयोग गर्नेछु।’ छलफलका क्रममा कोइरालाले भारतीय संघीयताको उदाहरण दिँदै त्यहाँका प्रदेशहरु पनि पहिचानकै आधारमा नामकरण भएको स्मरण गरेको आन्दोलनकारी नेताहरुले बताएका छन् ।

भेटमा कोइरालाले कोशी नाम सच्याउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको पहिचानवादी नेताहरुले बताएका छन् । ‘उहाँले मेरो तर्फबाट नाम सच्याउने विषयमा पहल गर्छु । शीर्ष नेतासँग पनि कुरा गर्छु । मेरो पूर्ण समर्थन रहनेछ भन्नुभएको छ,’ थेगिमले भने ।

डाक्टर कोइरालासँगको भेटमा थेगिमसँगै, संघीय लोकतान्त्रिक राष्ट्रि मञ्चका अध्यक्ष कुमार लिङ्देन, अरू पहिचानवादी नेताहरु अर्जुन जम्नेली राई, रामभक्त कुरुङवाङ, जनमुक्ति पार्टीका नेता, किरात राई यायोख्खाका प्रतिनिधिहरु गरी ६ जना सहभागी थिए ।

आइतबार, ०७ माघ, २०८०, साँझको ०५:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर