सिमेन्टको निर्यात बढ्यो : छ महिनामा १७६ करोडको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालबाट पौने २ अर्ब रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकरको निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७६ करोड ३३ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।

गत वर्ष ७७ करोड ९३ लाख रूपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएकोमा यो वर्ष ६ महिनामै १२६ प्रतिशतले निर्यात बढेको छ । ६ महिनाको अवधिमा नेपालबाट १६ लाख ७२ हजार ३६८ टन सिमेन्ट र क्लिकंर निर्यात भएको भन्सारको तथ्यांक छ ।

अहिले भारतीय बजारमा नेपालको ७ वटा ब्रान्डको सिमेन्ट बिक्री भइरहेको छ । अर्घाखाँची, पाल्पा, सिजी, बालाजी र सर्वोत्म सिमेन्टले भारतमा आफ्नो उत्पादन बिक्री गर्दै आएका छन् ।

गत आवको बजेटमार्फत तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले नगद अनुदान र विद्युत् महसुल छुटको व्यवस्था गरेपछि सिमेन्ट निर्यात सुरु भएको थियो । अहिलेसम्म २ अर्ब ५३ करोडको सिमेन्ट निर्यात भइसकेको छ ।

सबैभन्दा पहिले २४ असार २०७९ मा नेपाली सिमेन्ट भारतीय बजारमा पुगेको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल नेतृत्वको आरएमसी ग्रुपले पाल्पा सिमेन्ट उद्योगको उत्पादन ‘तानसेन सिमेन्ट’ पहिलोपटक निर्यात गरेको थियो ।

२०७९ असोज ३० बाट अर्घाखाँची सिमेन्ट निर्यात सुरु भयो भने २९ जेठ ०८० मा बालाजी, २०८० साउन १५ देखि सर्वोत्तम र २१ भदौदेखि सिजी सिमेन्ट उद्योगले निर्यात थालेका हुन् ।

भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस)बाट गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्ड इन्स्टिच्युट (आइएसआई) चिह्न प्राप्त गरेपछि सिमेन्ट निर्यात सुरु भएको हो । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिएको छ ।

सरकारले सहज रूपमा नगद अनुदान उपलब्ध गराउने र लजिस्टिकलगायतका समस्याहरू समाधान गरे आगामी दुई–तीन वर्षमै वार्षिक ५० अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात गर्न सकिने उद्योगीहरु बताउँछन् । नेपाल सिमेन्ट उत्पादक संघले पाँच वर्षमा सय अर्बको सिमेन्ट निर्यात गर्न सकिने सम्भावना औँल्याएको छ ।

नेपालमा वार्षिक २ करोड टन अर्थात् ४० करोड बोराभन्दा बढी सिमेन्ट उत्पादन क्षमताका उद्योग छन् । तर, धेरै उद्योगको क्षमता अनुसार उत्पादन भएको छैन ।

नेपालमा भूकम्पपछि सिमेन्ट उद्योगमा लगानी बढेको थियो । सरकारले आयातित सिमेन्टमा उच्च कर लगाउनुका साथै चुनढुंगा खानीसम्म पहुँचमार्ग, बिजुली र खानेपानीजस्ता पूर्वाधार निर्माण गरिदिने व्यवस्था गरेपछि लगानीकर्ता प्रोत्साहित बनेका हुन् ।

आइतबार, ०७ माघ, २०८०, दिउँसोको ०४:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर