नेपाली काँग्रेसका नेता एवं आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशका उम्मेदवार कृष्ण सिटौलाले कोशी प्रदेशमा उठिरहेको पहिचानको मुद्दा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
चुनाबी अभियानको क्रममा मतदातासँग भेट गर्दै भोजपुर आइपुगेका सिटौलाले बुधबार नेपालको लामो द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको स्मरण गर्दै कोशीमा उत्पन्न पहिचानको मुद्दा पनि सम्बोधन हुने प्रतिबद्धता जनाए ।
‘पहिचानको मुद्दामा समाधान खोज्न आपसी समझदारी र छलफल आवश्यक छ’, उनले भने, ‘माघ ११ गतेको निर्वाचनपछि पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ ।’ भोजपुरमा सत्ता गठबन्धनका नेता र जनप्रतिनिधिहरूबीच उनले पहिचानको मुद्दा चाँडै सम्बोधन हुने बताएका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिन आग्रह गर्दै सिटौलाले संविधानको रक्षा र जनताको अधिकार सुरक्षित गर्न निर्वाचन महत्वपूर्ण रहेको बताए । सिटौला गठबन्धनका अर्का उम्मेदवार माओवादी केन्द्रकी चम्पा कार्कीसहित भोजपुर आएका हुन् ।
गठबन्धनका कारण सुरक्षित भएपनि दुबै उम्मेदवार जिल्ला दौडाहामा छन् । बुधबारसम्म उनले ११ जिल्लाका मतदाता भेटिसकेका छन् । मोरङका जनप्रतिनिधिसँगको संवादसँगै उनले कोशीका सबै जिल्लाको दौडाहा थालेका थिए ।
बुधबारसम्म सिटौलाले मोरङ, झापा, सुनसरी, उदयपुर, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरका जनप्रतिनिधिलाई भेटेका सिटौला बुधबार नै भोजपुरबाट खोटाङ तरेका छन् । खोटाङबाट ओखलढुंगा र सोलुखुम्बु पुग्ने उनको योजना छ ।
कोशीमा सत्ता गठबन्धनको साथ पाएकाले सिटौला करिब सुरक्षित छन् । कोशीबाट राष्ट्रियसभाका लागि नेकपा एमालेका परशुराम अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेल उनीसँगको प्रतिस्पर्धामा छन् ।
प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद राष्ट्रियसभाका मतदाता हुन् । प्रतिसांसद ५३ मतभार तय भएकोले गठबन्धनको कुल मतभार २,४९१ छ । यस्तै स्थानीय तहमा कांग्रेसका ११५, माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जसपाका ४ जना मतदाता छन् ।
प्रदेश सभा र स्थानीय तह दुवैतर्फ गठबन्धनको कुल मतभार ५ हजार ४७४ छ । जुन नेकपा एमालेको भन्दा १२ सय बढि हो ।