विराटनगर । राजनीतिले गाँजेका कारण ऐतिहासिक महत्वको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासायी बन्दै गएको छ । सरकारले लिएका कतिपय नीतिगत व्यवस्थाले करोडौं ऋणमा रहेको प्रतिष्ठान, भ्रष्टाचार र पटक–पटकको आन्दोलनले झनै थिलोथिलो बनेको छ ।
प्रतिष्ठानमा वर्षमा दर्जन हाराहारी आन्दोलन भएका रेकर्ड छन् । अहिले पनि प्रतिष्ठानमा अध्ययनरत कर्मचारी तथा शिक्षक डाक्टरहरु आन्दोलनमा छन् । विगत ७ वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक र कर्मचारीले उपचार र पठनपाठन पनि ठप्प बनाएका छन् ।
गत आइतबारदेखि बिपी प्रतिष्ठानको ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरी उनीहरु आन्दोलनमा छन् । प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै नगर प्रमुख हर्कराज राईले कायममुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् ।
असोजमा आन्दोलन गरेका शिक्षक, चिकित्सकहरुसँग गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ बढुवा प्रक्रिया सुरु गरी १५ गतेसम्ममा माग पुरा गराउने सहमति भएको थियो । तर, सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलन थालेका हुन् ।
प्रतिष्ठानमा प्रतिस्पर्धात्मक हिसावले भिसी नियुक्त नभएकै कारण समस्या भएको स्थानीय नागरिक अगुवाको बुझाइ छ । ‘दललाई सहयोग गरेका र करोडौं रुपैयाँ बुझाएको आधारमा भिसी नियुक्ति गरिन्छ’ नागरिक अगुवा प्रा.डा. टंक न्यौपाने भन्छन्, ‘दलहरुले प्रतिष्ठानलाई दुहुनो गाई बनाएका छन् । त्यसमा मेडिकल व्यवसायी, एम्बुलेन्स व्यवसायी, सामान्य चिकित्सकदेखि पदाधिकारी, राजनीतिक पार्टीका नेता पनि छन् ।’ राम्रा चिकित्सकले छोडेर जाने र राम्रा उपकरणहरु किनेर ल्याए पनि कर्मचारीले बिगार्ने गरेको उनको भनाइ छ ।
प्रतिष्ठानको उपकुलपति बनाएर डा.शेखर कोइरालालाई नियुक्ति गरेपछि प्रतिष्ठानमा राजनीतिकरण बढेको न्यौपानेको दाबी छ । ‘डा.मदन उपाध्याय भएको बेला राम्रोसँग चलेको प्रतिष्ठान डा.शेखर कोइराला उपकुलपति भएर आएपछि सुरु भएको राजनीतिकरणले धरासायी भयो’ उनको दावी छ, ‘त्यहि बेलादेखि पार्टीका कार्यकर्ता भर्ती गर्ने र पैसाको खेलोफड्को गर्ने काम सुरु भयो ।’ त्योबेलादेखि प्रतिष्ठान मेडिकल कलेजभन्दा पनि राजनीतिक संस्थाजस्तो भएको उनको भनाइ छ ।
मेयरले गएर उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्ने परिस्थिति हुनु ठूलो अराजकता भएको न्यौपानको बुझाइ छ । जानकारहरुका अनुसार प्रतिष्ठानमा काँग्रेसी कर्मचारीहरुको बर्चश्व छ । प्रतिष्ठान उपकुलपति र रजिष्टारले भन्दा कर्मचारीले चलाउँछन् । राजनीतिक संगठनमा लागेका कर्मचारीको पुनःमूल्यांकन गरेर प्रतिस्पर्धाको आधारमा भिसी र रजिष्टार नियुक्त नगरेसम्म प्रतिष्ठानको अवस्था नसुध्रने न्यौपानेको दावी छ ।
धरान नगरपालिकाका पूर्वप्रमुख किशोर राई पनि अति राजनीतिकरणको कारण प्रतिष्ठान धरासायी बनेको स्वीकार गर्छन् । ‘सबैतिरबाट प्रतिष्ठानको दोहन पनि गर्ने र राजनीति गर्ने अखडा मात्रै बनाउने काम भइरहेको छ’ उनी भन्छन्, ‘नेपाल सरकारबाट राजनीतिक नियुक्ति गर्ने, संचालन गर्ने विधि नै अहिलेको परिवेशमा ठिक छैन ।’ भिसी र रजिष्टारहरु अक्षम भएकै कारण प्रतिष्ठान संकटमा परेको उनको भनाइ छ ।
आन्दोलनरत शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले अत्याधिक राजनीतिकरणकै कारण प्रतिष्ठान धरासायी भएको बताउँछन् । ‘हामीलाई आन्दोलन गर्ने कुनै रहर होइन’ उनले भने, ‘पदाधिकारीले गरेको सहमति कार्यान्वयन नभएको कारण हामीले आन्दोलन गरेका हौं ।’ सहमति गरेर पनि कार्यान्वयन नगर्ने पदाधिकारी अक्षम रहेकोले कि पद छाड्नुपर्ने उनले बताए । ७ वर्षदेखि शिक्षकहरुको र १५ वर्षदेखि कर्मचारीको बढुवा नभएकोले आन्दोलन बाध्यता भएको उनको भनाइ छ ।
अहिलेका कामु उपकुलपतिको नियुक्त नै गैरकानूनी रहेको डा.खानको भनाइ छ । ‘आफैं गैरकानूनी तरिकाले नियुक्ति लिएर आएका व्यक्तिले कानुन अनुसार बढुवा माग्दा कानूनविपरीत भनेर रोक्नु नाजायज हो’ उनले भने । प्रतिष्ठानमा अध्यापन गराएको २१ वर्षमा विपीमा देखेको समस्या नै अत्याधिक राजनीतिकरण भएको उनको निष्कर्ष छ ।
‘भिसी र रजिष्टार नियुक्ति नै राजनीति भयो । नियुक्ति हुँदा योग्यता चाहिएन’ उनले भने, ‘नियुक्त हुनेहरु पैसा बुझाएर आउने हुँदा निजी स्वार्थ लिएर आउँछन् र कमाएर जान्छन् ।’ प्रतिस्पर्धाबाट आउनुपर्नेमा राजनीतिक भागबण्डामा हुने नियुक्ति नै समस्याको रुपमा रहेको उनको बुझाइ छ ।
प्रतिष्ठानका पूर्वविद्यार्थी डा. मुकेशकुमार साह पनि राजनीतिक नियुक्तिकै कारण अहिलेको परिस्थिति सिर्जना भएको धारणा राख्छन् । नेतृत्व गर्नेहरुले जिम्मेवारी लिनुपर्ने भन्दै उनले प्रगति भए ख्याति पाइन्छ भने अवगति भए बदनामी बोक्नुपर्ने बताए ।
प्रतिष्ठानकै पूर्वकर्मचारी उमेश थापा भने बन्द हड्तालले समस्याको समाधान नदिने बताउँछन् । उनको २१ वर्ष काम गरेको अनुभवमा पनि २०६२÷०६३ साल पछि युनियनहरुले वैधता पाएर आन्दोलनका आन्दोलन हुँदा समस्या भएको हो ।
‘प्रतिष्ठानमा चाहिनेभन्दा बढी राजनीति पनि देखिएको छ’ उनले भने, ‘सरकारले पनि यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ अहिले पियनदेखि प्रोफेसरसम्मले राजनीति गर्ने र स्थानीय सरकार प्रमुखले नै तालाबन्दी गरेको अवस्था रहेको उनले बताए ।
प्रतिष्ठानमा हाल उपकुलपतिको रुपमा प्रा.डा. प्रल्हाद कार्की, रेक्टर डा.सञ्जिवकुमार शर्मा र रजिष्टार प्रा.डा.सूर्यप्रसाद संग्रौला रहेका छन् । रजिष्टार संग्रौलाले एक वर्ष अगाडि श्वेतपत्र जारी गर्दै अहिलेकै अवस्थामा प्रतिष्ठान चल्न नसक्ने बताएका थिए ।
‘प्रतिष्ठान यथास्थितिमा रहेमा यसको संचालन असम्भव रहेको छ,’ संग्रौलाले भनेका छन् । श्वेतपत्रमा उनले सरकारको नीतिका कारण प्रतिष्ठानको आम्दानी पनि घटिरहेको र सरकारको सहयोग पनि पर्याप्त हुन नसकेको कारण ऋणमा डुबेको विवरण समेत सार्वजनिक गरेका थिए ।