प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन् ।

बुधबार बिहान बालुवाटारमा गृहमन्त्री तथा प्रहरी प्रमुखसहितलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए । बैठकमा प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका थिए ।

संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन नसकेको भन्दै प्रधानमन्त्रीले यसैलाई बहाना बनाएर संघीयता विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको बताएका थिए । ‘त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंग्याउनूस्,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै उनको सचिवालयले भन्यो ।

प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएको सचिवालयले बताएको छ।

बुधबार, ०३ माघ, २०८०, बिहानको १०:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर