सम्पादकीय
सरकारी स्वामित्वमा रहेको कोशी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा फेरि पनि लफडा सुरु भएको छ । विवाद, आन्दोलन, भ्रष्टाचार र अनियमितताले थिलथिलो बन्दै आएको प्रतिष्ठानको अक्षम नेतृत्वकै कारण यस्तो समस्या आइरहेको छ । प्रतिष्ठानका तत्कालिन उपकुलपति डा.ज्ञानेन्द्र गिरी भ्रष्टार मुद्दामा पदमुक्त भएपछि प्रल्हाद कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी सरकारले दिएको छ । तर, उनको अक्षमताको कारण प्रतिष्ठान फेरि पनि ठप्प बनेको छ । डाक्टर र कर्मचारीहरुको आन्दोलनका कारण प्रतिष्ठानको स्वास्थ्य र पठनपाठनसमेत ठप्प भएको छ । यो अवस्थामा समस्या समाधानको पहल गर्नुपर्ने जिम्मेवारीमा रहेका कामु उपकुलपति कार्की भने प्रतिष्ठानमा उपस्थित छैन । बरु उनले बाहिर नै बसेर आक्रोश र आन्दोलनको आगोमा घ्यु थप्ने काम गरिरहेका छन् ।
आइतबारदेखि सबै काम छाडेर डाक्टर र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्कन बाध्य छन् । अर्कोतिर विभिन्न तहमा अध्ययन गर्दै आएका विद्यार्थीले पनि पढ्न पाएका छैनन् । प्रतिष्ठानको व्यवस्थापन पक्षले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । आन्दोलनरत चिकित्सक र कर्मचारीलाई काममा फर्काउन प्रतिष्ठान व्यवस्थापन पक्षले पहल गर्नुपर्नेमा त्यसो भएको छ । कामु उपकुलपति डा. कार्कीको कारण प्रतिष्ठान ठप्प भएको छ । पछिल्लो समयमा प्रतिष्ठानका पदाधिकारीबीच नै आपसी समन्वय नहुँदा प्रतिष्ठानको अवस्था कमजोर बनेको छ । व्यवस्थापन पक्षले चिकित्सकहरुको नियमित बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठानको शिक्षक कल्याण समाजले बताउँदै आएको छ । तर, त्यसको सम्बोधन भएको छैन ।
अर्कोतिर अहिले कामु उपकुलपतिको जिम्मेवारी पाएका कार्की आफैं विवादमा तानिएका छन् ।
अवकास भइसकेका डा. कार्कीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले कामू उपकूलपतिको जिम्मेवारी दिएको भन्दै डाक्टर र तथा कर्मचारी असन्तुष्ट छन् । उनको जिम्मेवारी नै गैरकानुनी रहेकोले खारेज हुनुपर्ने माग पनि उठेको छ । यसबारेमा जवाफ दिने स्वास्थ्य मन्त्रालय पनि मौन बसेको छ । अर्थात मन्त्रालयले कार्कीलाई नै संरक्षण गरेको छ । जसले प्रतिष्ठानको समस्या समाधानको पहल गर्नुपर्नेमा अझै बढाइरहेका छन् । प्रतिष्ठानको उपचार तथा पठनपाठन पनि ठप्प भएको बेला कामु उपकुलपति कार्कीले समस्या समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका रजिष्ट्रार प्रा.डा. सूर्य संग्रौलाको सम्पूर्ण अधिकार खोसेका छन् । संग्रौलालाई प्रतिष्ठानको नाम मात्रको रजिष्ट्रार पदमा सीमित गरेका कार्कीले प्रतिष्ठानका ११ विभागीय प्रमुखहरुलाई समेत जिम्मेवारीबाट हटाएका छन् । जुन कार्यले उनले प्रतिष्ठानमा अराजकता फैलाउन खोजेको आरोप लागेको छ ।
वीपी प्रतिष्ठान ऐन २०४९ ले उपकुलपतिलाई अधिकारसम्पन्न र सर्वेसर्वा बनाएको छ । त्यसको सदुपयोग गर्नुपर्नेमा उपकुलपतिको जिम्मेवारी पाउने व्यक्तिले दुरुपयोग गर्दै प्रतिष्ठानलाई भ्रष्टाचारको अखडा र आसेपासेको भर्तिकेन्द्र बनाउँदै आएका छन् । जसले गर्दा प्रतिष्ठान संकटमा पर्दै आएका छ । प्रतिष्ठानमा करिव ७ वर्षदेखि चिकित्सक शिक्षकको र १५ वर्षदेखि कर्मचारीको रोकिएको पदोन्नति प्रक्रिया सुरु गर्नुपर्ने माग स्वभाविक छ । त्यसलाई सम्बन्धित निकायसँगको परामर्शमा अगाडि बढाउनुपर्छ । त्यो जिम्मेवारी पुरा गर्न नसक्नेले पदीय जिम्मेवारी छाड्नुपर्छ । सरकारले पनि ऐतिहासिक विरासत बोकेको संस्थाभित्रको यो बेथितिलाई रमिते भएर हेर्ने नभएर हस्तक्षेप गरेर समाधानको पहल लिनुपर्छ ।