विराटनगर । प्रधानमन्त्रीले पहिचानको पक्षमा दिएको अभिव्यक्तिले जातीय द्वन्द्व बढाउने भन्दै आलोचना गर्दै आएका नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेस पहिचानको पक्षमा भएको दावी गरेका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी महासंघ सुन्दरहरैचाको पहिलो नगर अधिवेशनलाई आज सम्बोधन गर्दै डा.कोइरालाले पहिचानसहितको विकास र परिवर्तनलाई मात्र जनताले अपनत्व महसुस गर्ने बताए ।
यसअघि प्रधानमन्त्री प्रचण्डले पहिचानसहितको संघीयता चाहनेको दुईतिहाई जनमत आएको खण्डमा प्रदेशको नाम पहिचानको आधारमा राख्न सकिने बताएका थिए । त्यसविरुद्ध आक्रमक बनेका कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्तिले जातीय द्वन्द्व र हिंसा भड्काउन खोजेको आरोप लगाउँदै आएका थिए । देशका विभिन्न जिल्लामा पुगेर प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध बोल्दै आएका उनले काँग्रेसकै आदिवासी जनजातिको कार्यक्रममा भने काँग्रेस पहिचानकै पक्षमा भएको दावी गरेका हुन् ।
नेपाली काँग्रेसभित्र र बाहिर आदिवासी जनजातिहरूको प्रतिनिधित्व केही हदमा भइरहेपनि त्यो अपुग भएको भन्दै कोइरालाले सहअस्तित्वको लडाइमा साथ र सहयोग रहने बताए । कोशी प्रदेशमा पहिचानको लागि भइहरेको आन्दोलनलाई छलफलमा बसेर एउटा निष्कर्षमा पुग्न सकिने भन्दै उनले पहिचानको पक्षमा संवाद गर्न तयार रहेको बताए ।
‘पहिचानको लडाइ अहिले पनि चलिरहेको छ । त्यो पहिचानको लडाइँमा नेपाली काँग्रेस तपाईँहरूको पक्षमा छ भन्ने कुरा बुझ्नुपर्यो’ उनले भने ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं, ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ संघीयताको मोडल आवश्यक छ ।’
त्यसअघि नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले पहिचानको सवालमा काँग्रेसले निर्णय गरेर जानुपर्ने बताएका थिए । कोशी प्रदेशको नाम उल्लेख गर्न नसक्ने बताउँदै तामाङले आदिवासीको पहिचानलाई प्रतिनिधित्व हुने नाम राख्नुपर्ने माग गरे । काँग्रेसले आगामी महासमिति बैठकबाट पहिचान र प्रतिनिधित्वको विषयमा ठोस निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।

