विराटनगर । कोशी प्रदेश सरकार गठन भएको एक वर्षको अवधि त्यतिकै खेर गएको भन्दै राजनीतिक दलका नेताहरुले अब मिलेर अघि बढ्ने बताएका छन् ।
प्रदेशसभाको चौथो अधिवेशन अन्त्य हुनुअगाडि बसेको प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै नेताहरुले एक वर्षमा भएका नकारात्मक गतिविधिले दिएको खराब सन्देशलाई बिर्सनेगरी बाँकी अवधिमा काम गर्नुपर्नेमा जोड दिए ।
पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साढे ५ महिनापछि प्रदेशसभाले सभामुख प्राप्त गरेको बताउँदै यसले सहमतिको सन्देश दिएको बताए । ‘हामीले आम सहमतिको रुपमा सभामुख पाएका हौं । यसबीचमा मूल रुपमा गठबन्धन चुकेको हो’ उनले भने, ‘अब नयाँ सभामुखलाई संविधान र कानून अनुसार बाँकी ४ वर्षको समयावधिलाई सभा सञ्चालनको वातावरण बनाउन आवश्यक छ ।’
कार्कीले ५ पटक मुख्यमन्त्री परिवर्तनको अभ्यास भए पनि विधि र प्रक्रियामा सहभागी भइरहेको जिकिर गर्दै एक वर्षको कार्यकाल सफल भएको दाबी गरे । ‘आम रुपमा एक वर्षमा प्रदेशसभा सफल छ । प्रदेशसभाले संघीय संसद भन्दा बढी काम गरेको छ’ उनले भने, ‘यो अवधिमा ५ वटा कानून बनाउनु सफलता हो ।’
पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले भने विगत एक वर्षको अनुभूति सुखद नभएको भन्दै आगामी दिनमा सरकारले तीब्रताका साथ काम गर्नुपर्नेमा जोड दिए । ‘यो भन्दा अगाडिको समय सुखद र सम्झनलायक भएन’ उनले भने, ‘दुनियाले हाम्रो संसदीय अभ्यासलाई खराब उदाहरण दिइरहेकोले अब विगतका त्यस्ता खराब कामहरु नदोहोर्याउने संकल्प गर्नुपर्छ ।’ यो कार्यकालको १ वर्ष खेर गएको भन्दै उनले अब ४ वर्ष राम्रो काम गरेर यसलाई बिर्साइदिनुपर्नेमा जोड दिए ।
सरकार गठन भएको सय दिन पुग्न लागेको भन्दै फुलफेजमा अगाडि बढ्न पनि उनले आग्रह गरे । ‘सरकारले बुझ्नु पर्यो ६ महिना समय वितिसक्यो’ उनले भने, ‘पहिलाको भन्दा सरकारले अब गति दिनु आवश्यक छ ।’
पूर्वमुख्यमन्त्री उद्धब थापाले सभामुख चयन गर्दा दलहरु एकताबद्ध भएको बताउँदै अब कोशी प्रदेश सरकारलाई अगाडि बढ्न सहज भएको उल्लेख गरे । ‘केही समय अगाडि कहिले अदालतबाट सरकार विघटन हुने, कहिले बहुमत नपुगेर विघटन हुने अवस्था थियो’ उनले भने, ‘अब ती सबै अन्त्य भएको छ । कोशी प्रदेशलाई अब सहज तरिकाले अगाडि बढाउने जिम्मेवारी मुख्यमन्त्री र मन्त्रीहरूको काँधमा छ ।’
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एक वर्ष उत्साहजनक नरहेको भन्दै आगामी दिनमा सरकारले राम्रो काम गरेर देखाउनुपर्नेमा जोड दिए । ‘यो एक वर्ष उत्साहजनक रहेन । राजनीतिक अस्थिरताको प्रभाव कोशी प्रदेशमा धेरै पर्यो’ उनले भने, ‘यो विषयलाई बिर्सेर बाँकी ४ वर्षलाई राजनीतिक स्थिरतासँगै राम्रो काम गरेर विगतको सिमा कमजोरीलाई बिर्सने वतावरण सिर्जना हुने विश्वास दिलाउन चाहन्छु ।’ अब सरकारले लय समातेर मूल रुपमा कोशी प्रदेशबासी जनतालाई दिने सेवा प्रवाह र विकास, समृद्धिको कुरामा सरकारले आफूलाई खरो उतार्नुपर्नेमा उनले जोड दिए ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेशको गठनमा देखिएको अंक गणितको कारण एक वर्ष केही गर्न नसकेको बताए । ‘कतिपय ठाउँमा हामी सत्ता केन्द्रीत पनि भयौं’ उनले भने, ‘अब प्रदेशलाई स्थिरतातिर लैजाने गरी जानुपर्छ । प्रदेशको विकास गर्नुपर्छ ।’
मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा राप्रपालाई सभामुख पद दिनु राजनीतिक जित भएको बताए । ‘यो संसदले राजनीतिक जित हासिल गरेको छ । गणतन्त्र मान्दैनौं, संविधानलाई मान्दैनौं राजतन्त्र थप्छौं । प्रदेश मान्दैनौं भन्ने पार्टीलाई यो संसदको रक्षा कवचको रुपमा संविधानको पालना गर्ने र गराउने ठाउँमा पाएका छौं’ उनले भने, ‘यो राजनीतिक जित हो ।’
सभामुख निर्वाचनले कोशी प्रदेशको समृद्धिमा एक छौं भन्ने सन्देश दिएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशसभाले जति संघीय संसदले काम नगरेको जिकिर गरे । आफ्नो सरकार बनेको सय दिनभित्रैमा बालबच्चाको निःशुल्क उपचार गर्नेगरी अस्पतालसँग सम्झौता गर्ने तथा शैलजा आचार्य हृदय रोग उपचार केन्द्र उद्घाटन गर्ने उनले बताए ।
जसपाकी नेता निर्मला लिम्बूले विषयत समितिको सभापति समानुपातिक महिलालाई नदिने खेल भएको भन्दै आपत्ती जनाइन् । ‘७ वटा समिति बन्दा पनि समानुपातिकबाट आएका महिलालाई सभापति दिनुहुँदैन भन्ने कुरा भइरहेको सुनेका छौं’ उनले भनिन्, ‘यदि व्यवहारमा यही गर्ने हो भने समानुपातिकलाई मान्दैनौं भनेर निर्णय गरौं ।’

