विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट कोशी प्रदेशसभाको सभामुख निर्विरोध हुने भएका छन् ।
सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार हुन लागेका विष्टलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गरेपछि निर्बिरोध हुने भएका हुन् ।
मंगलबार बिहान बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘गठबन्धन बाहिरको उम्मेदवार भएकोले विष्टलाई समर्थन गर्ने निर्णय गर्यौं,’ उनले भने, ‘एमालेले सभामुखमा उम्मेदवारी दिँदैन ।’
सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जसपाले ययसअघि नै विष्टलाई समर्थन गर्ने सहमति गरेका थिए । सत्तारुढ गठबन्धनका ४७ र राप्रपाको ६ सांसदको समर्थन पाएका विष्टलाई एमालेको समर्थन नपाए पनि सभामुखमा निर्वाचित हुने निश्चित थियो । एमालेले पनि उनलाई नै समर्थन गर्ने निर्णय गरेपछि सभामुखमा मतदान नभई उनी निर्वाचित हुने देखिएको हो ।
मंगलबार बिहान बसेको कार्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसअनुसार प्रदेशसभा सचिबालयले निर्वाचत कार्यक्रम सार्वजनिक गरेको छ । कार्यसुची अनुसार ११ः३० देखि १ः०० बजेसम्म सभामुखको उम्मेदवार मनोनयनको तालिका रहेको छ । १ः०० बजेदेखि १ः३० बजेसम्म दावीविरोध, १ः३० देखि २ः०० बजेसम्म त्यसमाथि छानविन, २ः०० बजेदेखि २ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । २ः३० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने ३ः०० बजे निर्वाचन हुने तालिका रहेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
आजै अपरान्ह ४ बजे सभामुखको सपथ ग्रहण हुने तय भएको छ ।