काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रियसभा सदस्य निर्वाचनको टिकट वितरण न्यायोचित बनाउन नसकेको दुखेसो पोखेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले चाहेर पनि टिकट वितरण न्यायोचित बनाउन नसकिएको भन्दै बिलौना गरेका हुन् ।
सीमित सिटका कारण सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव उनको भनाइ छ । उनले टिकट वितरणका क्रममा आफूबाट कुनै गल्ती भए स्वीकार्दै अघि बढ्ने पनि बताएका छन् ।
‘तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रकियालाई प्रभावित गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुने छ भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।
पार्टीबाट छानिएका दसैजना उमेदवारलाई जिताउन पनि उनको आग्रह छ । ‘न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निर्णयमा मैले गल्ती कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरूको सल्लाह र सुझावबाट भविष्यमा अगाडि बढ्ने प्रण गर्दछु,’ उनले भनेका छन् ।