विराटनगर । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार देशका सातै प्रदेशमा मनोनयन दर्ता गरीएको छ ।
आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभाका सदस्यको पदावधि सकिदै छ । कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, एकीकृत समाजवादीबाट २, जना र जनता समाजवादीबाट १ जनापाउने गरीयस अघिनै सत्ता गठबन्धनले भागवण्डा गरेका थिए ।
एमालेले १९ जना नै उम्मेदवार तय गरेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा छ। यदि गठबन्धनमा तलमाथि नभए सबै १९ सिटमै सत्तारुढ दलका उम्मेदवारहरू विजयी हुने निश्चित छ।
कांग्रेस
कांग्रेसले कोशी प्रदेशको अन्यबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र मधेसको अन्य कोटाबाट आनन्द प्रसाद ढुंगानालाई उठाएको छ।
यता बागमतीबाट महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यतर्फ जीतजंग बस्नेतलाई उठाएको छ पुडासैनीले नेता प्रकाशमान सिंहकोतर्फबाट टिकट पाएकी छन्।
कर्णालीको अन्य कोटामा कृष्ण रोकाया, सुदूपश्चिमको अपाङ्गतातर्फ नारायण दत्त भटट र अन्यमा बलदेव बोहराले टिकट पाएका छन्। उनीहरू सबै संस्थापनका हुन्।
उता गण्डकीको अपाङ्गतातर्फ पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठले टिकट पाएका छन्। उनीहरू दुवै शेखर कोइराला समूहका हुन्। अर्कातिर लुम्बिनीमा विष्णुदेवी सापकोटा महिलातर्फबाट उठ्दैछिन्। उनी पनि शेखर समूहकी हुन्।
एमाले
सत्ता गठबन्धनसँग मिलेर जाने प्रयास भए पनि सफल हुन नसकेपछि एमाले एक्लै मैदानमा छ। एमालेको आइतबार बसेको सचिवालय बैठकले १९ जना उम्मेदवारको नाम तय गरेको थियो।
एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) लाई उठाएको छ। एमालेले मधेश प्रदेशमा राष्ट्रियसभाको एक उम्मेदवार परिवर्तन गरेको छ ।उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको छ । झा जनकपुरधामकी हुन् ।यस्तै महिलाबाट उषादेवी थरुनी (पर्सा),ले मनोनयन दर्ता गराएकी छिन । बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता(अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उठ्दैछन्।
गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता(अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार भएका छन्।
लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ।
कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन्।
सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता(अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइएको छ।
माओवादी केन्द्र
माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि जनयुद्धमा योगदान दिएका र तिनका परिवारका सदस्यलाई रोजेको छ। माओवादीले सत्ता गठबन्धनबाट भागबन्डामा ६ सिट पाएको हो।
माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई उठाएको छ।
राप्रपा
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा ९ उम्मेदवार उठाएको छ।
राप्रपाबाट कोशी प्रदेशमा उद्धव पौडेल तथा बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारीलाई उम्मेदवार भएका छन्।
राप्रपाले लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ।
नेकपा एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि दुईजना उम्मेदवार उठाएको छ ।
समाजवादीले बागमती प्रदेशका दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ।
जसपा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ।