विराटनगर । कोशी प्रदेशबाट माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।
नेकपा माओवादी केन्द्रका आज बसेको पदाधिकारी बैठकले कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ओखलढुंगा घर भएकी कार्की जनयुद्धको समयदेखि नै माओवादी आन्दोलनमा सहभागी भएकी नेतृ हुन् ।
यसअघि सत्तारुढ दलहरुबीचको भागठबन्डामा कोशीको महिला कोटा माओवादीले लिने सहमति भएको छ । कोशीको अन्य कोटा भने काँग्रेसले पाएको छ । सो कोटामा संभवत कृष्णप्रसाद सिटौला उम्मेदवार हुनेछ ।
फागुन २१ गते कार्यकाल सकिन लागेका नेपाली काँग्रेसका रमेशजंग रायमाझी र माओवादीका विना पोखरेलको स्थानमा चुनाब हुन लागेका हो । कोशीका २ सहित १९ स्थानको लागि राष्ट्रियसभाको चुनाब हुँदैछ । जसमा माओवादीले ६ जना उम्मेदवार उठाउनेछ ।
माओवादीको पदाधिकारी बैठकले कोशीबाट कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनीहरुले सोमबार मनोनयपत्र दर्ता गर्नेछन् ।